१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

भारतीय सडकले बस्ती डुब्यो

कपिलवस्तु, बाँके — बाँकेको सीमावर्ती बासिन्दाका पीडा अनेक छन् । नेपाल–भारत सीमा छुट्याउने नरैनापुरस्थित पिलर हिलोमा डुबेको छ । यहाँका बासिन्दाको आँगन नै दशगजा हो । तीन दिनसम्मको अविरल वर्षाले नरैनापुर गाउँपालिका–१ को बनिया टोल हिलाम्य छ । ‘पानी निकास हुने ठाउँ छैन,’ स्थानीय ७५ वर्षीय गवाँफर खानले भने, ‘भारतले सडक बनायो, पानी बस्तीमै जम्छ ।’ उनको पुस्तैनी सीमामै बित्यो ।

भारतीय सडकले बस्ती डुब्यो

भारतले सडक निर्माण गर्नुअघि वर्षात्को पानी बगेर उता जान्थ्यो । अहिले सडकले छेकेको छ । दशगजाबाट एक सय मिटर पर भारतले बाँधजस्तै सडक निर्माण गरेको छ । त्यसले नरैनापुर–१ का बनिया र महातनिया गाउँ चुर्लुम्म बनेका हुन् ।

महातनिया गाउँका अब्दुल हक वर्षभरि ज्यान सुरक्षित कसरी राख्ने भन्ने चिन्तामा हुन्छन् । पक्की घर भएकाले छतमाथि बसेर सुरक्षित महसुस गर्छन् । कच्ची घर हुने भित्रै ओत लाग्छन् । नरैनापुर–४ स्थित घोरदौरिया गाउँ दशगजामा छ । यो गाउँ पूरै डुबानमा पर्छ ।

नरैनापुर–६ मा पर्ने सोनवर्षा गाउँ पनि बाढीको उच्च जोखिममा छ । ०७२/०७३ को बाढीले यहाँका झन्डै तीन सय घर डुबानमा परेका थिए । ‘राप्तीकै छेउमा भारतले सडक बनाएको छ,’ राप्तीको छेउमा घर भएका जागिर हुसैनले पाँच वर्षअघिको बाढी सम्झँदै भने, ‘पानी निकास नहुँदा तीन दिनसम्म डुबानमा परियो ।’ भारतले सडक नबनाउँदा सीमावर्ती क्षेत्र खासै जोखिममा हुँदैन थियो । जब पारिपट्टि (भारत) अग्लो सडक बन्यो, त्यसपछि राप्ती नदी र विभिन्न नाला हुँदै आएको पानी फर्किएर नरैनापुरका सीमावर्ती गाउँमा छिर्न थालेको छ ।

बाँकेको दक्षिणी भागमा पर्ने नरैनापुरको सुइया, बगौडा, बनिया, महातरिया, घरर्धौरियालगायत गाउँ दशगजामा पर्छन् । पानी भारततर्फ निकास हुने हो भने आधाजसो सीमावर्ती बस्ती बाढीदेखि जोगाउन सकिने नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम न्यूनीकरणको तयारी गरिरहेको दाबी गरेको छ । सीमावर्ती क्षेत्रमा बाढी आए तुरुन्तै व्यवस्थापन गर्न चुनौती रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘रेस्क्यु गर्नुबाहेक अरू कुनै विकल्प छैन,’ उनले भने । सीमास्थित भारतीय बजहा बाँधले पानीको निकास थुनेपछि कपिलवस्तुमा तीन सय हेक्टरभन्दा बढी खेत डुबेको छ । ५० हेक्टरभन्दा बढी खेतमा रोपाइँ नै हुन सकेन ।

त्यस्तै, यशोधरा गाउँपालिका–१, रजवापुर, यशोधरा–६, पुन्नीहवा र पकडी गाउँको धान खेत डुबेका छन् । सीमाबाट ३ देखि ५ किलोमिटर उत्तरसम्मका खेत पानीमा डुबेपछि धान पहेंलिएको छ । भारतको सिद्धार्थनगर जिल्लास्थित चिल्हिया थानाअन्तर्गत बजहामा बाँध बनाइएको छ । बाँधका ढोका नखोलिँदा पानीले नेपालतिर डुबान गर्छ ।

प्रकाशित : श्रावण ९, २०७७ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?