‘सुकुम्बासी हटाउन निकुञ्जकै निर्देशनमा आगजनी’
चितवन — चितवन निकुञ्जले सुकुम्बासीलाई हटाउन सेना र कर्मचारी परिचालन गरेको स्वीकार गरेको छ । पीडितले घर जलाउनेमाथि कारबाही हुनुपर्ने माग राखिरहेका बेला निकुञ्जले आगो भने आफूहरूले नलगाएको दाबी गरेको छ । तर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घटना भएकै साँझ निकुञ्जले आफूलाई दुई छाप्रो जलाउने काम भएको जानकारी गराएको खुलासा गरेका छन् । ‘पहिरो व्यवस्थापनमा व्यस्त भएँ, अरू कुरा बुझ्न पाएको छैन,’ भट्टराईले भने, ‘बस्ती हटाउनेबारे सरसल्लाह पनि भएको थिएन ।’
नेपाल चेपाङ संघले माडी नगरपालिका–९, कुसुमखोलामा भूमिहीनका घर जलाउने, भत्काउने र खेतमा लगाएको मकै बाली नष्ट गर्नेलाई कारबाही माग गर्दै ज्ञापनपत्र बुझाउने क्रममा बिहीबार प्रजिअ भट्टराईले निकुञ्जबाट आगजनी भएको खबर आफूले त्यसै दिन पाएको बताए । कसैले गलत काम गर्न लागेको भए निकुञ्ज जोगाउनु सबैको दायित्व हुने तर त्यहाँ बस्दै आएकालाई अप्ठ्यारो पार्ने गरेर काम भए त्यो निकुञ्जले बुद्धि नपुर्याई हतारमा गरेको काम हुने उनले बताए । ‘उनीहरूले टहरा केही गरेकै छैन, धनमाल क्षति भएकै छैन भनेका छन्,’ उनले भने, ‘यो विषयमा के भएको हो, म थप अध्ययन गर्छु । के गर्नुपर्ने हो, कारबाही हुन्छ ।’
लकडाउनमा हुने घटनाक्रम अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोगले गठन गरेको जिल्लास्तरीय अनुगमन समितिका संयोजक कमल पाठकले बस्तीमा हात्ती लगाउनु र आगो लगाउनु मानवअधिकारविरोधी काम भएको बताए । अधिवक्तासमेत रहेका उनले भने, ‘हात्ती लगाएको, आगो लगाएको पक्का हो । यस्तो गर्नु हुँदैन ।’
निमेक–मजदुरी गरी कमाएर ल्याएको पैसासमेत जलेर नष्ट हुने गरी घरमा आगजनी हुनु निकृष्ट र अमानवीय काम भएको पाठकले बताए । ‘वन ऐन वा निकुञ्ज ऐन मिचेर त्यहाँ मान्छे बसेका भए उनीहरूलाई हटाउने प्रक्रिया छन्,’ उनले, ‘सरोकारवाला निकायसँग समन्वय नगरी यो काम भएको रहेछ ।’
चितवन राष्ट्रिय निकुञ्जको टोलीले शनिबार कुसुमखोला बस्तीमा घरटहरा भत्काउने र आगो लगाउने काम गरेको थियो । चेपाङ संघको टोलीले बुधबार कुसुमखोला पुगेर घटनाको अध्ययन गरेको थियो । ‘चेपाङ समुदायको घर आगजनी गर्ने, भत्काउने, अन्नबाली नष्ट गर्ने, गराउन निर्देशन दिने कर्मचारीमाथि छानबिन गरी बर्खास्तसहित कडा कारबाही होस्,’ संघले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा छ । माग पूरा नभए आन्दोलन गर्ने संघले चेतावनी दिएको छ ।
माडी नगरपालिका–९ मा पर्ने कुसुमखोलामा २०५३ सालपछि चितवनको पहाडी क्षेत्र, मकवानपुर र तनहुँका भूमिहीन गएर बस्न थालेका हुन् । कुसुमखोलाको बस्तीलाई चितवन निकुञ्जले अतिक्रमित क्षेत्र मान्दै आएको छ । त्यहाँका बासिन्दा बिस्तारै तल्लो क्षेत्रमा आएर बसे पनि १० घर चेपाङ कुसुमखोलामै थिए । निकुञ्जले ठाउँ छाडेर गएकाहरू फेरि फर्केका कारण हटाउनुपरेको बताएको छ । निकुञ्जले घरमा आगलागी भएको भनेर काल्पनिक फोटो प्रसारण भएको आरोप लगाएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायणप्रसाद रूपाखेतीले भने, ‘मलाई सेक्टरले लिखित रिपोर्ट गरेको छ । जसमा मकै कुर्न राखिएका पाँचवटा मचान र अन्य ६ वटा स–साना छाप्रा भत्काएको भन्ने छ ।’
निकुञ्जले बुधबार साँझ विज्ञप्ति निकालेर कुसुमखोला नछाडेका १० घर परिवारभन्दा बाहिरका व्यक्तिले लकडाउनको मौका छोपेर टहरा बनाई मकै लगाएको जनाएको छ । ‘दोहोरो अतिक्रमण गरी वन क्षेत्रमा लगाएको करिब आठ कट्ठाको मकै र मकै कुर्न बनाएका ११ वटा फुसका छाप्रा हटाउनुबाहेक कुनै पनि किसिमको घर र भौतिक सम्पत्तिमा आगजनी भएको छैन,’ निकुञ्जले भनेको छ । निकुञ्जका अधिकारीहरूले आफूसँग पनि यही कुरा गरेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने ।
सम्बन्धित समाचार
जो सपनामा पनि घर जलाइएकै देख्छन्
कुसुम खोलावासीलाई सधैं कष्ट
कुसुमखोलाका सुकुम्बासीमाथि जब निकुञ्ज आइलाग्यो