मनसुनका ४० दिन : बढे पहिरो र बाढीजन्य घटना- समाचार - कान्तिपुर समाचार

मनसुनका ४० दिन : बढे पहिरो र बाढीजन्य घटना

–जलवायुजन्य क्षतिले बर्सेनि २८ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी
–१० वर्षमा मनसुनबीच १९ वटा हिमपहिरो
–२०६८ देखि २०७७ सम्म सबै खाले विपद्का २२,०९९ घटना, १३,२८३ को मृत्यु
–२०६८ देखि २०७७ सम्म पहिरो, बाढी, भारी वर्षा, अचानक बाढी र हिमपहिरोका ४,५०० घटना, १,९५२ को मृत्यु
–बाढी, पहिरो र पानीजन्य विपद्का करिब ३० लाख घटना हुने आकलन
अब्दुल्लाह मियाँ

काठमाडौँ — गत वर्ष मनसुन सुरु भएको ४० दिनमा ४८ जनाको ज्यान लिएको पहिरोले यो वर्ष त्यति नै दिनमा १ सय २४ जनाको मृत्यु भएको छ । मनसुन सुरु भएयता यो वर्ष पहिरो, भारी वर्षा, बाढी र अचानक बाढी (फ्ल्यास फ्लड) का ४ सय ४५ वटा घटना भए । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनपछिको विपद्मा परेर बिहीबारसम्म १ सय ३२ जनाको ज्यान गएको छ । ५३ बेपत्ता, १ सय २८ घाइते र ९ सय ९८ परिवार प्रभावित भएका छन् ।

यो वर्ष जेठ ३० मा मनसुन सुरु भएको हो । अझै करिब ६० दिन मनसुन बाँकी भएकाले पहिरो र बाढीजन्य विपद्का घटनाको अन्त्य भइसकेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन अवधिमा १ सय दिन वर्षा हुन्छ । विशेषज्ञहरुले यसपटकको मनसुनमा करिब साढे २ लाख वटा पहिरोका घटना हुन सक्ने अनुमान गरेका छन् । ४० दिनमा पहिरो, भारी वर्षा, बाढी र अचानक बाढीका ४ सय ४५ वटा घटना भएका छन् । अहिलेसम्म ७० वटा जिल्लामा यस्ता घटना भइसकेको देखिन्छ ।

बढ्दै क्षति

सरकारको तथ्यांकअनुसार २०६८ देखि २०७७ सम्म १० वर्षभित्र पहिरो, बाढी, भारी वर्षा, हिमपहिरो र अचानक बाढीका ४ हजार ५ सय वटा घटना भएका छन्, त्यसमा परेर १ हजार ९ सय ५२ जनाको ज्यान गएको छ । त्यसबाट १८ अर्ब ७२ करोड ९६ लाख ५६ हजार ९ सय ८५ रुपैयाँ बराबरको क्षति भएको छ । १० वर्षमा १९ वटा हिमपहिरो गएको छ, त्यसमा ४० जनाले ज्यान गुमाएका छन् । यो वर्ष साउनको दोस्रो र तेस्रो साता बाढीपहिरोलगायत पानीजन्य अन्य विपद् खप्टिने सम्भावना छ । जानकारहरुले ३० लाख वटा प्रकोपका घटनाको आकलन गरेका छन् । प्रदेश २ र ५ मा बाढीजन्य जोखिम बढी हुने सम्भावना छ । बाढी, पहिरो तथा भूकम्पजस्ता प्राकृतिक प्रकोपमा नेपाल उच्च जोखिममा छ । भूकम्प तथा मिश्रित विपत्तिको जोखिमका हिसाबले नेपाल क्रमशः ११औं र १६औं स्थानमा छ । जलवायुजन्य जोखिमका हिसाबले चौथो स्थानमा छ ।

सन् २०३० सम्म जलवायु परिवर्तन र विपद्का कारण हासिल गरिसकिएका विकासलाई पुनः पहिलेकै स्थितिमा पुर्‍याउने र १ करोड ८० लाखभन्दा बढी जनसंख्यालाई गरिबीतर्फ धकेल्ने सम्भावना रहेको जानकार बताउँछन् । पुल्चोक इन्जिनियरिङ कलेजका उपप्राध्यापक तथा भूगर्भविद् वसन्तराज अधिकारीका अनुसार नेपालमा बाढीबारे अध्ययन भए पनि पहिरोबारे खासै अध्ययन भएको छैन । विज्ञहरुले २०७२ सालको भूकम्पपछि बल्ल पहिरोबारे चासो दिन थालेका हुन् । ‘पहिरोको बारेमा नेसनल डाटाबेस नै छैन,’ अधिकारीले भने, ‘त्यही भएर पहिरोको बारेमा धेरै वर्षअघिको अवस्था विश्लेषण गर्न सकिने अवस्था छैन ।’ मनसुनको अवधिमा पहिरोका घटना बढ्नुमा स्थानीय तहमार्फत निर्माण हुने सडकको समेत दोष रहेको उनले बताए । ‘जथाभावी खनिएका सडकले वर्षाको पानीको प्राकृतिक बाटो नै क्षतविक्षत गरिदिएको छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा पानी जमेर बगेपछि भेल पहिरोको रूप लिएको देखिन्छ ।’

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार यो वर्ष प्रि–मनसुनकै बेला भएको वर्षाले जमिन धेरै गलाएको र मनसुनसमेत बेलैमा सक्रिय भएकाले पहिरोजन्य विपद्का घटनामा बढोत्तरी देखिएको हो ।

जोखिम अझै

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी सञ्जाल (आईपीसीसी) का अनुसार जलवायु परिवर्तनका कारण बाढीपहिरो, चरम मौसम (एक्स्ट्रिम वेदर), खाद्य संकट, डढेलो, आँधीबेहरी, हिमपहिरो, हिमताल विस्फोट, तातो वायुजस्ता घटनामा बढोत्तरी भएको छ । राष्ट्रिय योजना आयोगको अध्ययन प्रतिवेदनअनुसार दुई वर्षअघि तराई क्षेत्रमा मनसुन अवधिमा आएको बाढीले करिब ६२ अर्ब रुपैयाँ बराबरको क्षति गर्‍यो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को ‘गभर्नेन्स अफ क्लाइमेट चेन्ज फाइनाइन्स प्रोग्राम’ को अध्ययनले पनि बर्सेनि जलवायुजन्य क्षतिले २८ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी हुने गरेको देखाएको छ । गृह मन्त्रालयका अनुसार मनसुनबाहेकका सिजनमा निम्तिने प्रकोपले हुने क्षति आकलन गरिएकै छैन ।

जलवायु परिवर्तनबाट भएका आर्थिक प्रभाव मूल्यांकन गरिएको एक अर्को अध्ययनले कृषि, जलविद्युत् र जल उत्पन्न प्रकोप क्षेत्रमा वार्षिक कुल गार्हस्थ्य उत्पादनको १.५ देखि २ प्रतिशतसम्म असर पुगेको देखाएको छ । जानकारहरू भन्छन्, ‘सन् २०५० देखि जलवायु परिवर्तनले गर्दा हुने प्रतिकूल अवस्थाले कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशतका दरले नोक्सान हुने देखिन्छ ।’ आईपीसीसीले तयार पारेको उक्त प्रतिवेदनअनुसार पृथ्वीको तापक्रमलाई १.५ डिग्रीभन्दा बढी बढ्न नदिन विभिन्न प्रजातिलाई व्यापक रूपमा विनाश हुनबाट जोगाउन तथा सुक्खा र बाढीको समस्या रोक्न जरुरी छ ।

जलवायुजन्य जोखिम न्यूनीकरण र नोक्सानीलाई सम्बोधन गर्न आवश्यक आर्थिक लगानी जुटाउनेबारे गत वर्ष मंसिरमा स्पेनको म्याड्रिडमा भएको कोप २५ (जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि–यूएनएफसीसीसी) का पक्ष मुलुकको सम्मेलन) मा पनि दबाब दिइएको थियो । उक्त विषयमा यूएनएफसीसीसीका १९७ वटा पक्ष मुलुकको बैठकले सहमति जुटाउन भने सकेको थिएन । जलवायुजन्य जोखिम झेलिरहेका अतिकम विकसित र टापु देशले हानि–नोक्सानीका क्षेत्रमा लगानी गर्न अलग्गै संयन्त्र बनाउन र त्यसमा वित्तको सुनिश्चितता गर्नसमेत दबाब दिएका थिए । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले अहिलेकै हिसाबले कार्बन उत्सर्जन भइरहने हो भने सन् २१०० सम्ममा विश्वको तापक्रम ४.२ देखि ६.५ डिग्रीसम्म पुग्ने चेतावनी गत महिना दिएको छ । त्यसको बढी असर हाम्रा सुन्दर हिमाल, जनजीवन र अर्थतन्त्रमा पर्नेछ । पृथ्वीको औसत तापक्रम १.५ डिग्री सेल्सियस मात्र बढे पनि यो शताब्दीको अन्त्यमा हिमालबाट एक तिहाइ हिउँ पग्लने अनुमानसहितको प्रतिवेदन दिइसकेको छ ।

यसरी आउँछ मनसुन

जेठको अन्तिम साता नेपालको दक्षिण पूर्वी भागबाट मनसुनी हावा नेपाल प्रवेश गर्छ । त्यसअघि बंगालको खाडीबाट उठ्ने हावा र हुरीसहितको बादलले त्यहाँबाट पूर्वोत्तर दिशामा रहेका आसाम, बंगलादेश छिचोल्दै पश्चिम बंगाल र बिहारमा भारी वर्षा गराउँछ । वैशाख–जेठको चर्को घामले तातिएर वर्षाको आशामा बसेका मानिस, वनस्पति र जीवजन्तुलाई मनसुनी वर्षाले राहत त दिलाउँछ तर, त्यही मनसुनी वर्षाले निम्त्याउने क्षति बढ्दो छ ।

भूगर्भविद्का अनुसार कमलो भू–बनोट र उच्च भिरालोपनले गर्दा पहाडी भूभाग आफैंमा अस्थिर प्रकृतिको छ । हिमालयको दक्षिणी भाग यसको जगदेखि सतहसम्म नै अस्थिर र परिवर्तनशील रहेकोले संवेदनशील मानिन्छ । लामो खडेरी र उच्च तापक्रम कायम भइरहेकै अवस्थामा अकस्मात् मुसलधारे वर्षा हुने हुँदा भू–स्खलन र गल्छी कटान भई हिउँदमा कमिला हिँड्ने खोलनाला र खहरेमा बाढीले उग्र रूप लिने गरेको छ ।

जलवायु परिवर्तनजन्य जोखिमलाई नियालिरहेका ङमिन्द्र दाहालका अनुसार साँघुरा पुल, पुलेसा र गल्छी थुनिएर त्यहाँ जम्मा हुने पानीले बन्ने तलाउ अकस्मात् विस्फोट भएर तलतिरको बस्तीमा विनाशकारी बाढीको प्रकोप आउने गरेको छ । ‘तराईमा बाढीको समस्या ल्याउने अधिकांश खोला चुरे पर्वतबाट उत्पत्ति भएका हुन्,’ दाहालले भने, ‘उच्च भिरालोपन भएको चुरे पर्वतबाट खहरेको रूपमा सुरु हुने यस्ता खोलाले ठूलो मात्रामा गेग्रान र माटो ओसार्छन् ।’ नेपालमा असारदेखि असोजसम्म एक सय दिन मनसुनी वर्षा हुन्छ । वर्षभरि पर्ने वर्षाको ८० प्रतिशत यही अवधिमा हुन्छ ।

प्रकाशित : श्रावण ८, २०७७ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्

६ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

सुवास विडारी

मकवानपुर — ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने कैलाश गाउँपालिकाका १६ वर्षीय किशोरलाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँपालिकाका १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

ती किशोरले ६ वर्षीया बालिकालाई मकैबारीमा लगेर साउन ४ गते बलात्कार गरेको भन्‍ने उजुरीको आरोपमा पक्राउ गरिएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

प्रहरी नायब उपरीक्षक रानाका अनुसार बालिका बिरामी परेपछि घटना बाहिरिएको थियो । उजुरी पर्ने बित्तिकै ती किशोरलाई प्रहरी चौकी भार्ताबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

प्रकाशित : श्रावण ८, २०७७ २०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×