२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

‘चिच्याएकाले बाँचें’

प्रतीक्षा काफ्ले

स्याङ्जा — पहिराले घर छियाछिया भएर छानामात्रै देखिन्छ । भित्रका सामानको अत्तोपत्तो छैन । बुधबार बिहान साढे ३ बजे आएको पहिरोले गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीया माया सारुको घर पुरियो । घरसँगै पुरिए सारु र उनकी २३ वर्षीया छोरी नारायणी पनि । सारुलाई स्थानीयले जीवितै निकाल्न सकेनन् । छोरीलाई भने घाइते अवस्थामा झिकियो । उनको पोखरामा उपचार भइरहेको छ ।

‘चिच्याएकाले बाँचें’

पहिरोले नारायणीलाई पुरिसकेको थियो । चिच्याउन भ्याउँदा ज्यान जोगिएको छ । ‘बेहोस भएकी थिएँ, आफूलाई बाँच्न लेखेको भएर चिच्याउन सकेकी रैछु,’ उनले भनिन्, ‘बिहानतिर ढुंगामाटोसहित घरको दलिन र भाटा पनि मैमाथि परे ।’ मंगलबार राति सुत्ने बेला पानी परिरहे पनि पहिरो नै आउँछ भन्ने नलागेको उनले बताइन् ।

आमाको मृत्युको खबर भने उनलाई सुनाएको छैन । आमालाई सामान्य चोट लागेकाले पोखरा ल्याउनुपर्दैन भनेर ढाँटेको नारायणीका ठूलोबुवा श्रीबहादुरले बताए । ‘छोरी चिच्याएर बोलाएपछि के भयो भनेर हेर्न आयौं । लहरै तीन घर थिए, पहिरोले बीचकै घर पुरेछ । घर भत्किँदा धूवाँ आइरहेको थियो । छोरीको आवाजबाट नै उनलाई पुरेको ठाउँ पत्ता लगायौं र उद्धार गर्न सफल भयौं,’ उनले भने । नारायणी कान्छी छोरी हुन् । उनका दुई

दिदी बिहे भएर बुटवल बस्छन् । बुवा अर्कै बिहे गरेर भारतमा बस्छन् । घरमा आमाछोरी ज्याला, मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए । श्रीमान् अहिले भारतबाट फर्कंदै गरेको श्रीबहादुरले बताए ।

भिरालो जमिन २० मिटरमाथिबाट पहिरो खसेको हो । जोखिममा परेका अरू ३ परिवारलाई अन्यत्रै स्थानान्तरण गरिएको गल्याङ नगरप्रमुख भूपराज अधिकारीले बताए । लगातारको वर्षात्का कारण गल्याङका विभिन्न भागका दर्जन स्थानमा पहिरो गएको छ ।

बेपत्ता नभेटिएपछि काजकिरिया

पहिरोमा बेपत्ता कालीगण्डकी गाउँपालिका–४ खहरका ६० वर्षीय प्रेमचन्द्र पाण्डे नभेटिएपछि घरपरिवारले काजकिरिया थालेका छन् । सोमबार कुशको शव बनाएर अन्त्येष्टि गरी किरिया थालिएको गाउँपालिकाका अध्यक्ष खिम थापाले बताए ।

खानेपानीको पाइप बनाउन गएका बेला असार ३० मा पहिरोमा परी पाण्डे बेपत्ता भएका थिए । उक्त पहिरोमा तीन जनाको मृत्यु भएको थियो । सुरक्षाकर्मी, स्थानीयलगायतले पहिरो पन्छाएर खोजी गरे पनि उनी फेला परेनन् । ‘दुई/तीन दिनसम्म माटो पन्छाएर खोजी गरेका थियौं,’ अध्यक्ष थापाले भने ।

प्रकाशित : श्रावण ८, २०७७ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?