जो सपनामा पनि घर जलाइएकै देख्छन् 

रमेशकुमार पौडेल

कुसुमखोला, चितवन — अविरल वर्षा र बाढीपहिरोले चारैतिर वितण्डा मच्चाइरहेका बेला निकुञ्जले घरमा आगो लगाइदिएपछि माडी, कुसुमखोलाका चेपाङ समुदायको बिचल्ली भएको छ । घर छाडेर कहीँ निस्कन नसकिने मौसममा घरै खरानी भएपछिको आपत्ले उनीहरूको सातो लिएको छ । पूरै समुदाय तनावमा छन् । आगलागीबाट बिचल्लीमा पर्नेमध्येका एक हुन्– ५१ वर्षीय काजीमान चेपाङ ।

जो सपनामा पनि घर जलाइएकै देख्छन् 

चितवनको पहाडी गाउँ लोथर नेत्राङमा ०४८ सालमा पहिरोले पाखोबारी लगेपछि जहान परिवार पाल्न भौंतारिने क्रममा उनी कुसुमखोला आइपुगेका हुन् । कहिले यहाँ आइपुगें भन्ने उनलाई याद छैन । ‘०५३/५४ सालमा आएँ हुँला,’ उनले आफू तराई झरेको समय अनुमान लगाए । आएकै बेला एउटा छाप्रो हाले, जुन उनको मूल घर थियो । काजीमानका सात जनाको परिवारलाई लामो समय घाम, पानी र शीतबाट जोगाएको त्यो मूलघर अहिले खरानी भएको छ । गत शनिबार मध्याह्न हात्ती चढेर आएका चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सेनाले उनको घरमा आगो झोसिदिएका थिए ।

निकुञ्जले कुसुमखोला बस्तीलाई अतिक्रमित क्षेत्र मान्दै आएको छ । बस्ती उठाउने चर्चा पहिल्यैदेखि चलेको हो । दुई–चार वर्षयता गाउँले आफैं धमाधम बस्ती छाड्दै जान थालेका पनि थिए । त्यहाँबाट गएकालाई माडी नगरपालिकाले घर बनाएर राख्ने भन्ने काजीमानले नसुनेका हैनन् । आफ्ना साथी, छिमेकीहरू गएर बसेको नयाँ बस्ती हेर्न उनी पनि गएका थिए । झर्ने मन बनाएका थिए तर बर्खा लागिहाल्यो । छरेको मकै स्याहार्ने र हिउँदमा झर्ने योजना बनाउँदै थिए । १६० घरपरिवार तल झरेर भरतपुर–माडी–ठोरी हुलाकी सडकको आडका गाउँ–टोलमा बस्न थालेका थिए । उनीसहित १० जनाको परिवार (घर) झर्न बाँकी थियो । ‘लौ तल नसर्नेहरूलाई हात्ती नै ल्याएर लखेट्छ रे’ भन्ने गाइँगुइँ नचलेको हैन तर आइहाल्ला भन्ने उनलाई लागेको थिएन । शनिबार गाउँलेले छरेको मकै नोक्सान गर्दै हात्ती आयो । हात्तीको लस्कर उनको घर सामुन्ने आइपुग्यो ।

हात्तीमाथि बसेकाहरूले लाइटरबाट आगो सल्काए । ‘हेर्नुस्, सुरुमा एउटा हात्ती आयो अनि धकेल्न थाल्यो । त्यसले मानेन । फेरि अर्को हात्ती पनि आयो । दुईवटा हात्ती आएर आगो लगायो,’ काजीमानले भने ।

उनका छोरा दानबहादुरले कमाएर ल्याएको १० हजार रुपैयाँ त्यही घरमा राखेको थियो । आगो झोसिएपछि उनलाई त्यसको ख्याल आयो । ‘हात्ती आएको छ, हात्तीमाथि नयाँ–नौला मान्छेहरू छन्’ भन्दै गाउँका केटाकेटी मात्रै हैन अरू पनि डराए, चिच्याए । ‘एक जना सरलाई भनें पनि,’ उनले सुनाए, ‘तर आगोको लप्का बढिसकेको थियो । केही गर्न सकिएन ।’

दिउँसो तल झरेका छोरा दानबहादुर साँझ घर आए । उनले पैसासँगै नागरिकता पनि भएको सुनाए । छोराको कमाइ र नागरिक पहिचानपत्र दुवै आगोले खाएपछि काजीमानलाई ठूलो चोट लागेको छ ।

उनले मूल घर मानिआएको छाप्रो अगाडि अर्को सानो छाप्रो पनि बनाएका थिए । ‘त्यहाँ मकै छ, खान राखेको थोरै–धेरै अन्न छ, हाम्रो नागरिकता पनि छ, मलाई कतै त्यो पनि जलाउने हुन् कि भन्ने लाग्यो,’ उनी भन्छन्, ‘एउटा सरले त लाइटर मागेर त्यहाँ पनि झोस्नै थालेका थिए । अर्को सरले हेरेर मकै रहेछ भनेपछि आगो लगाएनन् ।

माडीबाट कुसुमखोला जाँदा काजीमानभन्दा पहिला दीपबहादुर चेपाङको घर आउँछ । दीपबहादुरको घरमा पनि निकुञ्जको टोलीले आगो लगाएको थियो । बुधबार दीपबहादुर दम्पती गाउँमा थिएनन् । उनीहरूका १७ वर्षका छोरा विश्राम चेपाङ जलेको आफ्नो घरभन्दा केही पर काजीमानकै घरको आडमा भेटिए । घर जल्दाको दिन उनी कुसुमखोलामा थिएनन् । घर भत्केपछि बा, आमा र आफू गाउँमै अरूको घरमा रात कटाउने गरेको उनले बताए । उनी खुलेर कुरा गर्न सक्ने अवस्थामा छैनन् ।

काजीमानले बताएअनुसार निकुञ्जको टोली गाउँ आएर फर्केपछि धेरैको सातो गएको छ । ‘मेरा छोराछोरीहरू लौ बा कालो आयो, डर लाग्यो भन्छन्, सपना राम्रो देखिएन भन्छन्,’ काजीमानले भने ।

उनको घरभन्दा केही पर छ– कविता चेपाङको घर । कविताले पनि अहिले सपनामा हात्ती आएको, घर–बारी भत्काएको देख्न थालेकी छन् । ‘तल किन नगएको हो, घरमा आगो लगाइदिम् भने, नलगाउनु भनें,’ कविताले सुनाइन् ।

टोलीले चाँडोभन्दा चाँडो जानु भनेको उनले बताइन् । नगए कडा कारबाही हुन्छ भनेका छन् । ‘त्यो बोली सुनेपछि त म आत्तिएकी छु । सपनामा पनि हात्ती देख्छु । विपनामा देखियो, सपनामा पनि त्यही हात्तीको डर आउँछ,’ उनले भनिन् । सोही ठाउँका अर्जुन चेपाङका अनुसार अर्को शनिबार आउँदा बस्ती खाली हुनुपर्छ भन्ने चेतावनी दिएर टोली फर्केको छ । तर गाउँलेहरू जाने कहाँ, ठेगान छैन । ‘तल गएर पनि हाम्रो व्यवस्था नहुने देखियो, नगरपालिकाले घर बनाइदिन्छु भने पनि बनेका छैनन् । खोलाको किनारमा बाढी लाग्ने, केही खेतीपाती नहुने ठाउँमा त्यसै गएर किन आपत्मा पर्ने भनेर यहीं बस्यौं । अहिले यस्तो चाल भयो,’ काजीमानले भने । दुई दिन वर्षा रोकिएसँगै माडीमा उर्लेका खहरे खोलाहरू शान्त भएका छन् । आउजाउ गर्न सकिने भएको छ ।

माडी बगईबाट दक्षिण कुनातर्फ दुई घण्टा हिँडेपछि कुसुमखोला पुग्न खहरे खोलाहरू ठाउँ–ठाउँमा तर्नुपर्छ । बुधबार माडी नगरपालिकाको प्रतिनिधित्व गर्दै माडी–९ की वडा सदस्य पूर्णिमाया चेपाङ कुसुमखोला पुगेर त्यहाँ भएको घटनाक्रमको विवरण लिइन् ।

दसमध्ये दुई घर जल्यो । अरूमा हात्तीले धक्का दिएर गयो । बारीको मकै धेरै नै नोक्सान भएको छ । घर जलेका, भत्केकाहरू मिलेर सुत्ने र पकाएर खाने गरेका छन् । माडी नगरपालिकाका मेयर ठाकुर ढकालले उनीहरूलाई केही दिनभित्रै सुरक्षित रूपमा कुसुमखोला बाहिर बसोबास गराउने योजनामा आफू रहेको बताए ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण ८, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?