लकडाउन खुले पनि सीसीएमसीको काम निरन्तर
काठमाडौँ — सरकारले केही प्रतिबन्धलाई कायम राख्दै चैत ११ देखि लगाएको लकडाउन झन्डै चार महिनापछि मंगलबारबाट हटाए पनि कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खडा गरिएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई भने निरन्तरता दिने जनाएको छ ।
मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार कोरोना भाइरसविरुद्ध प्रतिकार्यका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । त्यही समितिअन्तर्गत रही कोरोनाविरूद्ध प्रतिकार्यलाई प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रूपमा सम्पादन गर्न सीसीएमसी सचिवालय छाउनीस्थित नेपाली सेनाको रेन्जर गणको हातामा स्थापना गरिएको थियो ।
सरकारले जेठ २८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उच्चस्तरीय समितिलाई निष्क्रिय पार्दै त्यसको भूमिका पनि उपप्रधान तथा रक्षामन्त्री पोखरेलकै नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिलाई दिएको छ । सीसीएमसी सचिवालयले समितिको निर्देशनअनुसार काम गर्छ ।
सीसीएमसी सचिवालयका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले मन्त्रिपरिषद्बाट अर्को निर्णय नभएसम्म वा कोरोना भाइरस संक्रमण रहेसम्म कोरोना भाइरस रोकथाम र नियन्त्रणमा सचिवालयले काम गरिरहने बताए । उनले आवश्यक नीतिगत कुराहरु सीसीएमसीको निर्देशक समिति र आवश्यक परे मन्त्रिपरिषद्ले पनि गर्ने उल्लेख गर्दै ती निर्देशनहरुलाई सचिवालयले कार्यान्वयन गर्ने जानकारी दिए ।
सीसीएमसी सचिवालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव संयोजक छन् । उक्त सचिवालयमा सेनाका उपरथी, स्वास्थ्य मन्त्रालयका ११ वा १२ औं तहका प्रतिनिधि, अर्थ मन्त्रालयका सहसचिव र परराष्ट्र मन्त्रालयका सहसचिव छन् ।
सीसीएमसी सचिवालयले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि व्यक्तिहरुका ट्र्याकिङ, ट्रेसिङ र टेस्टिङ गर्ने क्वारेन्टाइन, आइसोलेसन र ट्रिटमेन्ट गर्ने तथा आवश्यकताअनुसार मृतकहरुको शव व्यवस्थापन गर्न जिम्मेवारी दिइएको छ । ‘केन्द्रदेखि जिल्लासम्म भाइरस संक्रमणलाई रोक्न आवश्यक काम गरिहरने छौं,’ सचिव गुरागाईले भने ।
कोरोना भाइरस रोकथाम सीसीएमसीले मुख्य गरी चार शाखाबाट काम सम्पादन गर्दै आइरहेको छ । स्वास्थ्य सेवा तथा उपचार समूह, औषधि उपकरण तथा स्वास्थ्य सामग्री आपूर्ति सेवा, शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रण कार्यशाखा र सूचना तथा प्रविधि कार्य हुन् । सीसीएमसी निर्देशक समितिले गरेको निर्णय र नीतिहरुलाई कार्यान्वयनका लागि मुख्य सचिव लोकदर्शन रेग्मीको नेतृत्वमा एक्सन कमिटी अर्थात् कार्यान्वयन समिति छ । उक्त समितिमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुखहरु छन् ।
कोरोना भाइरस संक्रमण बढ्दै गए सम्बन्धित जिल्लामा त्यस क्षेत्रमा जिल्ला–सीसीएमसीले केन्द्रसँग समन्वय गरेर काम गर्नसक्ने सचिव गुरागाईंले बताए । ‘अन्य बेलामा भने सीसीएमसीले गर्दै आइरहेको कामलाई नेपाल सरकारको अर्को आदेश नभएसम्म निरन्तर जारी राख्नेछ । कोरोना भाइरस संक्रमण नसकिएसम्म हामी काम गरिनै रहने छौं,’ उनले भने ।
प्रकाशित : श्रावण ७, २०७७ २२:०७