३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेपाली सेनालाई सहयोग गर्नेमा अमेरिका अगाडि

जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेनालाई ‘मेलिटरी टु मेलिटरी’ सहयोगअन्तर्गत सबैभन्दा बढी अमेरिकी सेनाले ५ करोड ३६ लाख ६४ हजार बराबरको सघाएको छ ।

नेपाली सेनालाई सहयोग गर्नेमा अमेरिका अगाडि

सेनालाई अमेरिका, चीन र म्यानमारबाट सहयोग प्राप्त भएको थियो । सेनाले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सामग्रीहरू पीपीई (व्यक्तिगत सुरक्षा सामग्री), एन–९५ मास्क, परीक्षण किट्सलगायत अन्य स्वास्थ्य सामग्रीहरू सहयोग प्राप्त गरेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।

उनका अनुसार नेपालले सहयोगबाट प्राप्त गरेका सामग्रीहरूलाई नगद अनुमानित रूपमा हिसाब निकालेको बताए । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले असार १० मा सैनिक मुख्यालय जंगी अड्डामा पुगेर प्रधानसेनापति पूर्णचन्द्र थापालाई उक्त सहयोग हस्तान्तरण गरेका थिए । ‘सुरुवातमा कार्यक्रममा उक्त सामग्री सहयोग दिएको घोषणा भयो । त्यहीअनुसार चरणबद्ध रूपमा सामग्रीहरू आइरहेका छन्,’ प्रवक्ता पौडेलले भने ।

अमेरिकापछि चिनियाँ जनमुक्ति सेना (पीएलए) ले करिब १ करोड ७८ लाख ८८ हजारको स्वास्थ्य सामग्री सहयोग गरेको छ । पीएलएका दुई विमानले सहयोग सामग्री त्रिभुवन विमानस्थलमा ल्याइदिएका थिए । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त सामग्री प्रधानसेनापति थापालाई वैशाख ३१ मा हस्तान्तरण गरेकी थिइन् ।

यस्तै, म्यानमारको सेनाले पनि करिब ११ लाख ९२ हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । सैनिक मुख्यालयका अनुसार म्यानमारको सहयोग जेठ २० मा हस्तान्तरण गरेको हो ।

छाउनीस्थित सेन्टर मेडिकल डिपोमा राखेको सहयोग सामग्रीहरू सेनाले ७७ जिल्लामा आवश्यक स्थानमा प्रयोगका लागि पठाइएको जनाएको छ ।

प्रकाशित : श्रावण ७, २०७७ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?