कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेकपा विवाद : ओली र दाहालले निकास दिन किन सकेनन् ?

बबिता शर्मा

काठमाडौँ — झन्डै एक महिना अगाडि सुरु भएको स्थायी कमिटी बैठक लगातार स्थगित गरेर त्यसबीचमा दर्जन बढी आपसी संवाद गरेका नेकपाका दुई अध्यक्षबीच अझै सहमति भएको छैन् । तर पनि शक्ति संघर्ष र वर्चश्वको लडाइँमा एकले अर्कामाथि दबाब बनाउन सम्पूर्ण शक्ति लगाएका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालमाथि नेकपाका सबै नेता–कार्यकर्ताको चासो र विश्वास छ ।

नेकपा विवाद : ओली र दाहालले निकास दिन किन सकेनन् ?

त्यसैले सचिवालयदेखि स्थायी कमिटीसम्मका सदस्यले विवाद समाधानका लागि दुई अध्यक्षले थप संवाद गर्नुपर्ने निष्कर्ष निकालिरहेका हुन्छन् । सम्पूर्ण अधिकार आफ्नो हातमा रहे पनि ओली र दाहाल नेकपाभित्रको बबन्डर शान्त पार्न किन असफल ?

नेकपाभित्र र राजनीतिक मामलाका जानकारहरु यसमा मन्थन गर्न थालेका छन् । ओली र दाहालको नेतृत्व क्षमताबारे कतिपयले प्रश्न उठाउन थालेका छन् । तर, उनीहरुको एकै खालको मत भने छैन् । नेकपामा वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने स्थायी कमिटी सदस्य बेदुराम भुसाल दुई अध्यक्षको नेतृत्व क्षमताको अभाव देखिएको बताउँछन् ।

‘बैठक बोलाएर टुंगाउन नसक्ने जुन स्थिति देखियो, यो दुई अध्यक्षको क्षमताको अभाव हो । दुई अध्यक्ष बस्ने सल्लाह गर्ने र बैठक स्थगित गर्दै आउनु भएको छ । यसको मतलब बैठकमा आफ्ना कुरा राखेर, कन्भिन्स गरेर नेतृत्व गर्ने क्षमता दुई अध्यक्ष कमजोर देखियो,’ भुसालले भने ।

दाहाल निकट मानिने स्थायी कमिटी सदस्य हरिबोल गजुरेल नयाँ पार्टीलाई पुरानै तरिकाले सञ्‍चालन गर्दा समस्या पैदा भएको बताउँछन् । उनी अझै नेतृत्वको क्षमतामाथि प्रश्न उठाउने बेला नआएको बताउँछन् ।

दुई पटक संविधान सभाको चुनाव गराएर संविधान जारी गर्नुभयो। क्षमता नभएको कसरी भन्नु ?’ गजुरेलले भने, ‘पाँच वर्षका लागि सरकार बन्यो । उहाँहरुले नै पार्टी एकता गर्नुभयो । नयाँ संविधान बन्यो, नयाँ सरकार बन्यो, नयाँ पार्टी बन्यो तर पुरानै तरिकाले चलिराखेको छ । यसले समस्या पैदा गर्‍यो । त्यसकारण गाँठो परेको छ ।’

ओली निकट मानिने नेकपा केन्द्रीय सदस्य कर्ण थापा भने नेतृत्वलाई काम गर्न नदिएर समस्या पैदा भएको बताउँछन् । गुटबन्दी गरेर नेतृत्वलाई कमजोर बनाउने कोसिस गर्नेहरु नै यसका लागि जिम्मेवार रहेको थापाको भनाइ छ ।

‘कुनै सकारात्मक विषयबस्तुलाई अगाडि बढ्न दिँदैनन् । पूर्व एमालेभित्रकै ठूलाले नै यस्तो स्थिति बनाएका हुन्,’ थापाले भने, ‘चार पाँच जना मिलेर बाधा सिर्जना गर्नेबाट नै नेतृत्वको क्षमतालाई कमजोर देखाउने काम भएको छ ।’ उनका अनुसार नेतृत्व भनेको अहिले सचिवालयका नौ जना हुन् । उनी भन्छन्, ‘त्यसपछि स्थायी कमिटी सदस्य हुन् । त्यसमा पनि माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायतका लागेका छन् । दुई अध्यक्षलाई मिल्न नदिएर त्यसमा भाँजो हाल्नेहरु नै पार्टीको कुनै पनि गतिविधि अगाडि बढाउन नदिनका निम्ति जिम्मेवार छन् ।’

अचानक ‘अर्ली महाधिवेशन’को चर्चालाई लिएर ओली र दाहालबीच भएको छलफलमा पनि भुसालको प्रश्न छ । स्थायी कमिटी सदस्य भुसाल भन्छन्, ‘केन्द्रीय तहको समेत टुंगिएको छैन, स्थानीय तहको कुरै नगरौं । पार्टी सदस्यता नवीकरण भएकै छैन । पार्टी सदस्य कति हुन् भन्ने थाहा छैन । यस्तोमा दुई अध्यक्ष बसेर लौ ‘अर्ली महाधिवेशन’ भनेर हुन्छ ? यो त सरासर कमजोर क्षमताको उदाहरण हो ।’ बैठक अवरुद्ध गरेर अगाडि बढ्न नदिने काम भएको उनको भनाइ छ ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने नेकपामा विश्वासको संकट देखिएको बताउँछन् । यही कारण विवाद समाधान हुन नसके उनको बुझाइ छ ।‘दुई अध्यक्षले आफ्नै केन्द्रीय कमिटीलाई विश्वास गर्दैनन् । यो भन्दा ठूलो विडम्बना के हुन्छ ? दुई अध्यक्षको नियतमा प्रश्न उठ्न थाल्यो । दाहालको नियतमा माधव नेपालले प्रश्न उठाउन थाले । अयोग्य भएका त हैनन्, तर प्रणाली मिचेपछि अयोग्यता हुन्छ । योग्य मान्छे पनि अयोग्य हुन्छ । दुई जनाको मात्रै पार्टी त हैन नि नेकपा,’ श्रेष्ठले भने ।

उनको बुझाइमा वान अन वान वार्ताले समस्या समाधान हुँदैन । यदि समाधान भइहल्यो भने पनि बाँकीले असन्तुष्टि जनाउने श्रेष्ठको भनाइ छ । विश्लेषक श्रेष्ठले सामूहिक निर्णय लिनुको साटो ओली र दाहालले कमिटीलाई चुनौती दिइरहेका छन् ।

‘ओली र प्रचण्ड दुवैले विधिलाई चुनौती दिइरहेका छन् । विधानअनुसार केन्द्रीय कमिटी अधिकार सम्पन्न हो । केन्द्रीय कमिटी बाहेक संसदीय दल छ । धेरैको बुद्धिबाट समाधान खोज्ने हो । अहिले दुई जनाको मात्रै बुद्धि छ, जसले कुनै समाधान निस्केको छैन ।’ उनले भने,’ धेरै मान्छेको बुद्धिमा विश्वास नगरेर ओली र दाहालले आफ्नो बुद्धिमा मात्रै अहंकार गरिरहेको छन । त्यसकारण उनीहरुमाथि प्रश्न उठेको हो ।’

के-के विषय टुंगाउन सकेनन् ?

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक अझै अनिश्चित छ । बैठक बस्नै कठिन बसे टुंगाउनै कठिन नेकपा देखिएको छ । पार्टी एकता घोषणा गरेको दुई वर्ष बढी भइसक्दा पनि अझै केन्द्रीय संरचनाका एकीकरण काम बाँकी नै छन् । नेकपाको केन्द्रीय कमिटी बैठकले चैतभित्रमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म पार्टी सदस्यता नवीकरण भएकै छैन । नेकपाका पार्टी सदस्य कति हुन् भनेर यकिन छैन । केन्द्रदेखि स्थानीय तहसम्मका नेता कार्यकर्ताबीच भावनात्मक एकता कायम गर्न नेकपा नेतृत्वले सकेको छैन ।

प्रकाशित : श्रावण ७, २०७७ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?