कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गीत मन नपरेपछि धम्की

काठमाडौँ — गायिका सोफिया थापाले ‘नो व्रत प्लिज’ बोलको गीत आइतबार बिहान हाइलाइट्स नेपाल नामक म्युजिक कम्पनीको युट्युबमार्फत सार्वजनिक गरिन् । त्यही साँझ उनलाई अपरिचित नम्बरहरूबाट धम्कीपूर्ण फोन आउन थाल्यो । सोमबार त विश्व हिन्दु महासंघको भ्रातृ संगठन विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले विज्ञप्ति नै निकालेर मंगलबारसम्म गीत हटाउन चेतावनी दियो ।

गीत मन नपरेपछि धम्की

फेसबुकमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा समितिले सनातन हिन्दु धर्म संस्कृति, संस्कार, परम्पराविपरीतको गीत भन्दै हटाउन र बन्द गर्न भनेको छ । संगठनले गीत नहटाए विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने जनाएको छ । विज्ञप्तिसहितको उक्त पोस्टमा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयसँग जोडिएका भनिएका पर्शुराम काफ्लेले कमेन्ट लेखेका छन्, ‘यसलाई भाटे कारबाही गर्नुपर्छ ।’

युट्युबमा मंगलबार साँझसम्म २९ हजार पटक यो गीत हेरिसकिएको छ । युट्युबको कमेन्ट खण्डमा आएका झन्डै ५ सय कमेन्टमध्ये धेरैजसोमा गाली गरिएको छ । धार्मिक अगुवाका रूपमा देखिएकाहरूले यस गीतले हिन्दु धर्ममाथि प्रहार गरेकाले बन्द गर्नुपर्ने आवाज सामाजिक सञ्जालमार्फत उठाइरहेका छन् ।

लगातार धम्कीपूर्ण फोन आइरहेको र फेसबुक म्यासेजमा पनि गीत हटाउनुपर्ने भन्दै धम्की दिइएको थापाले कान्तिपुरलाई बताइन् । उनका अनुसार धम्की दिनेहरूमध्ये धेरैजसोले गीतमा उल्लिखित ‘नो व्रत प्लिज’ शब्दावलीले तीजको मर्ममाथि प्रहार गरेको र धर्म भाँड्न खोजेको आक्षेप लगाएका छन् । ‘तर यो धर्ममाथि प्रहार गर्ने योजना होइन । यो त धर्मका नाममा हुने विभेद सच्याउनुपर्छ भनेर गरिएको आह्वान मात्रै हो । तर यही गीतका शब्द देखाउँदै साइबर बुलिङ र अनेकन ह्यारेसमेन्ट भइरहेका छन्,’ थापाले भनिन् । लेखिका आन्बिका गिरीले गीतमाथि आएका अनेकन कमेन्टको सारांश खिचेर ट्वीट गरेकी छन्, ‘यो गीतमा आएका कमेन्ट हेर्नुस् त, संस्कृतिको हवला दिएर, दिदीबहिनीको हवला दिएर फोहोरी गाली, ज्यान मार्ने धम्की दिने संस्कारी पुरुषहरू ! हैट !’

थापालाई मंगलबार बिहान पनि फोन गरेर एक जनाले गीतमा ‘नो व्रत’ किन राखियो भनेर प्रश्न गरे । ती फोनकर्ताले मनलाग्दी गर्न नपाइने र यस्तो कामले धर्ममाथि आघात हुने उल्लेख गर्दै मुद्दा लगाउने चेतावनी दिए । ‘कतिले त गीतको शब्द नहटाए घर नै घेर्ने बताएका छन् भने कतिले जे पनि हुन सक्ने धम्की पनि दिएका छन्,’ थापाले भनिन् । गीत सार्वजनिक गर्ने हाइलाइट्स नेपालमा पनि हिन्दु धर्म सम्बद्ध विभिन्न संस्थाका मान्छे बताउनेहरूले फोन गरेर गीत हटाउन धम्कीपूर्ण दबाब दिइरहेका छन् ।

हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले पनि गायिका थापालाई म्यासेन्जरमार्फत यो गीत बन्द नगर्ने हो भने नेपालको धर्मसम्बन्धी कसुरअन्तर्गत पर्ने सन्देश पठाए । उनले यसभन्दा अगाडि दुई वटा यस्तै गीतको केस भएको र ज्योति मगरलगायतले तीजका विषयमा अन्यथा शब्द प्रयोग गरेकाले उजुरी परेको बताउँदै फेरि पनि त्यस्तो काम नगर्न भन्दै सन्देशमा लेखेका छन्, ‘बेकारमा झन्झटमा नपरेको नै जाती हैन र ।’ कान्तिपुरसँगको कुराकानीमा रामकृष्णले तीजको मौलिकता भनेको नै व्रत भएको तर गीतमा ‘व्रत नबसौं’ भन्ने कुरा धेरैपटक दोहोर्‍याइएकाले आफूहरूले यो गीतको शब्द हटाउनुपर्ने माग राखेको बताए । उनले हाइलाइट्स नेपालमा पनि फोन गरेर गीत हटाउन भनेको सुनाए । ‘संस्कृतिमाथि धावा बोल्ने अधिकार कसैलाई छैन,’ उनले भने, ‘मनलाग्दी तरिकाले भिडियो बनाउने काम त गर्नु भएन नि ! अहिले त हामी सम्झाउने चरणमा मात्रै छौं ।’

उनले आफ्नो समूहले यसअघि पनि हिन्दु धर्ममाथि अनादार गर्ने गीतविरुद्ध सञ्चार मन्त्रालयमा उजुरी गरेको र एउटा फिल्मको नाम नै फेर्न बाध्य पारेको बताए । उनले भने, ‘व्रत नै नबस भनेर गीत गाउनु त हद भयो नि !’ विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले उक्त गीतले व्यक्तिको आस्थामाथि चोट पुर्‍याएकाले आफूहरूले गीत बन्द गर्नुपर्ने माग राखेर विज्ञप्ति निकालेको बताए । उनले यसअघि दुर्गेश थापाको ‘चिसो बियर’ बोलको गीत पनि बन्द गर्नुपर्ने माग राखेको सुनाउँदै भने, ‘व्रत नबस भनेर भन्ने अधिकार कसैलाई छैन ।’

मन नपराउने तप्काले गीत नै बन्द गर्न भन्दै गीतकार वा गायकलाई अनेकन माध्यमबाट धम्की र दबाब दिइएको यो पहिलो घटना भने होइन । डेढ वर्षअघि पशुपति शर्माले ‘लुट्न सके लुट’ बोलको गीत सार्वजनिक गरेलगत्तै सरकारसम्बद्ध दलनिकट भ्रातृ संगठनहरूबाट अनकेन दबाब र धम्कीको तारो बनेका थिए । पशुपतिको गीतमा राजनीति जोडिएको थियो भने सोफियाको गीतमा धर्म । लेखक तथा अधिकारकर्मी अर्चना थापाले भने विवादमा तान्न खोजिएको गीतमा नयाँ युवाको विचार व्यक्त गरिएको उल्लेख गर्दै कुनै धर्म/संस्कृतिमाथि चोट नपुर्‍याइएको बताइन् । ‘तीजमा रातै लगाउनुपर्छ, व्रतै बस्नुपर्छ, पतिको खुट्टा पखालेर पानी खानैपर्छ भन्ने पुरातन मान्यताभन्दा फरक छ तर मेरा लागि यो नयाँ होइन,’ उनले भनिन्, ‘म व्रत पनि बस्दिनँ, पतिको खुट्टाको पानी पनि खान्नँ । हामीजस्ता महिलाले प्रत्येक वर्ष गरिरहेको कुरा नै गीतमा राखिएको छ ।’ उनको बुझाइमा अहिले चलिरहेको नक्कली राष्ट्रवादको हावाले गायिका माथि आक्रमण भएको हो । उनले प्रतिगामी सोचको लहर समाजमा चलेको र त्यसैको एउटा स्वरूप यो गीतमा पनि प्रकट भएको बताइन् । उनले भनिन्, ‘सरकारी मोटरसाइकलमा सवार महिलाको ढाडको फोटो, रामको जन्म अहिले निर्माण भइरहेको राष्ट्रवादको अतिवादी भाष्यको परिणाम हो । पछिल्लो एक महिनाका घटना हेर्नुस्, मोहना अन्सारी, सरिता गिरी, दीपाश्री निरौलाले बोल्नु हुँदैन जस्तो भयो । यो सबै लहर हो । प्रतिगामी सोच हो । त्यसैले यस गीतलाई एउटा केसका रूपमा मात्र हेर्नु हुन्न ।’

हाइलाइट्स नेपालका प्रबन्ध निर्देशक जनक तामाङ मंगलबार मात्रै बिहानदेखि ३० भन्दा बढी व्यक्तिले फोन गरेर गीत हटाउन दबाब दिएको बताए । उनले उक्त गीत आफूहरूले उत्पादन नगरेको तर प्लेटफर्म मात्रै उपलब्ध गराए पनि निरन्तरको धम्कीले डराउनुपरेको बताए । सोफियाको गीतमा धार्मिक संघसंस्थाको प्रतिनिधि बताउनेबाट दबाबपूर्ण टिप्पणी र धम्की आइरहँदा विभिन्न समयमा गीत/संगीतकै कारण यस्तै दबाब झेलेकाहरू भने खुलेर बोल्न हिचकिचाइरहेका छन् । लोकगायक पशुपति शर्माले भने सोफियाको गीतमा प्रयुक्त शब्दप्रति असन्तुष्टि जनाए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष शर्माले भने, ‘विशुद्ध लोकगीत रहेनछ । त्यसैले हामी बोल्नु आवश्यक पनि छैन तर धर्मसँग जोडिएर काम गर्दा सबै सचेत हुनुपर्छ ।’ शर्माले व्रत बस्दै नबसौं भन्नुभन्दा नसक्दा व्रत नबस्दा हुन्छ भन्ने आशयको सन्देश दिएको भए राम्रो हुने बताए । ‘किन तीज मान्ने भन्नेतिर लाग्यौं भने हामी बिग्रन्छौं । पहिले तीजको मूल्य मान्यता बुझ्नुपर्छ । हामीलाई हिन्दु धर्मलाई केही भन्यो भने पीर लाग्छ नि,’ उनले भने ।

शर्मा तिनै लोक गायक हुन्, जोसँग गीत/संगीतकै कारण बारम्बार अनेकन धम्की र दबाब सामना गरेको विगत छ । ६ वर्ष अगाडि उनले गाएको ‘केको बाहुन, केको कामी, केको जनजाति’ गीतको दलित तथा जनजाति अधिकारकर्मीले विरोध गरेका थिए । उनी युट्युबबाट गीत हटाउन बाध्य भए । डेढ वर्ष अगाडि उनले गाएको ‘लुट्न सके लुट कान्छा’ सत्तासीन दल नेकपाका कार्यकर्ताको निसानामा परेको थियो । त्यतिबेला नेकपाको भ्रातृ संगठन युवा संघले विज्ञप्ति निकालेरै शर्मालाई बहिष्कार गर्न आह्वान गरेको थियो । दबाब/धम्की झेल्न नसकेपछि त्यो गीत पनि उनले दुई दिनमै युट्युबबाट हटाए । त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधनका क्रममा भनेका थिए, ‘लुटेर खा भाइ लुटेर खा भन्ने गीत बनाएछन्, जनताले मन पराएनन् ।’

गायिका तथा नेकपाका तर्फबाट राष्ट्रिय सभाकी सदस्य कोमल वलीले ‘नो व्रत प्लिज’ लाई तीज गीतकै रूपमा व्याख्या गर्न नमिल्ने बताउँछिन् । उनका अनुसार तीजको गीतमा तीन पक्षको तालमेल मिल्नुपर्छ । पहिलो, सामाजिक बनावट र परिवेश, दिदीबहिनीको कथा, पतिपत्नीको माया, माइतीसँगको सम्बन्ध, जीवनसाथीको परिकल्पना आदि समेटिएका शब्दहरू । दोस्रो, लोकलय र तीज गीतको छनक आउने संगीत हुनुपर्छ । तेस्रो, रंगीविरंगी साडी र अन्य परम्परागत वेशभूषा । ‘तर, सोफियाजीको गीतमा यी तीनै पक्ष छैन । तीज शब्द राख्दैमा त्यो तीज गीत हुँदैन,’ उनले भनिन्, ‘यो कुनै पनि बेला गाउन मिल्ने गीत हो ।’

वलीले आफू व्रत नबस्न मिल्ने तर अरूलाई व्रत नबस भन्न नमिल्ने बताइन् । ‘अरूको आस्थामाथि आँच पुर्‍याउनु हुँदैन । कतिले धार्मिक हिसाबले मात्र बस्नु हुन्छ, आस्थाका कारण व्रत बसकेकाले जीवनमा फाइदा पुगेको हुन सक्छ । कतिले शारीरिक फाइदाका रूपमा लिनु हुन्छ,’ उनले भनिन्, ‘म आस्था र शारीरिक फाइदाका लागि व्रत बस्छु ।’ केही वर्षअघि वलीको ‘पोइल जान पाम’ बोलको गीत पनि विवादित बनेको थियो । उनले तीज गीतका नाममा छाडापन र विकृति भित्र्याएको आरोप खेपेकी थिइन् । ‘मौलिक शब्द स्थान विशेषले पनि परिभाषित गर्छन्, हाम्रोतिर (दाङ) आफ्नो मन परेको केटा छानेर बिहे गर्नेलाई पोइल जाने भन्छन् । शब्दकोश हेरेर, कुरा नबुझेर केही ठाउँमा मेरो विरोध भएको थियो,’ वलीले भनिन्, ‘तर मैले सुझबुझका साथ गाएकी थिएँ । शब्द, संगीत र वेशभूषा पनि तीजकै थियो । महादेव, महिला अधिकारसँग सम्बन्धित थियो । मैले म पोइल जान पाऊँ भनेको थिएँ, अरूलाई पोइल पठाइदिऔं भनेको थिइनँ ।’ उनले सोफिया र आफ्नो गीत तुलना गर्न नमिल्ने बताइन् । ‘उहाँ (सोफिया) लाई चित्त दुख्ला, उहाँको गीतसँग मेरो कुनै विमति छैन । तर उहाँको गीत तीजको भावसँग मेल खाँदैन,’ वलीले भनिन् । सोफियाले मंगलबार नै बुटवलस्थित इलाका प्रहरी कार्यालयमा आफूलाई धम्कीपूर्ण फोन र साइबर बुलिङ भएको भन्दै निवेदन दर्ता गराएकी छन् । उनले भनिन्, ‘घरमै हूल बाँधेर आउने र जे पनि गर्न सक्नेसम्मको धम्की आएपछि यसबारे प्रहरीलाई जानकारी गराएको हुँ ।’

नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसपी नविन्द अर्यालले सामाजिक सञ्जाल वा भर्चुअल दुनियाँमार्फत आफ्नो असहमति वा विरोधलाई अश्लील वा घृणाजन्य रूपमा व्यक्त गर्ने प्रवृत्ति पछिल्ला दिनमा बढ्दै गएको बताए । उनले सोफियाको गीतबारेको प्रसंग धेरै थाहा नभएको उल्लेख गर्दै भने, ‘सामाजिक सञ्जालमार्फत घृणा फैलाउने, धम्की वा दबाब दिने वा चरित्र हत्या गर्नेहरूको निगरानी प्रहरीले गरिराखेको हुन्छ । यस्तो काम गर्नेमाथि कारबाही पनि भइरहेको छ ।’

प्रकाशित : श्रावण ७, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?