प्रदेश २ का आठै जिल्ला डुबान

प्रदेश ब्युरो

जनकपुर — वर्षाको उपयुक्त निकास र नदी–खोलामा तटबन्ध व्यवस्थित नहुँदा प्रदेश २ का आठवटै जिल्ला बाढीको पानीले जलाम्य भएका छन् । बाढीले बगाउँदा सर्लाही र महोत्तरीमा दुई जना बेपत्ता छन् । प्रहरीले चार जनाको सकुशल उद्धार गरेको छ । बाढीले प्रदेशमा २ सय १९ घर र ८ सय ४५ जना विस्थापित भएका छन् ।

प्रदेश २ का आठै जिल्ला डुबान

प्रदेश २ प्रहरी कार्यालयका अनुसार महोत्तरीको रातु खोलाले बगाउँदा ४० वर्षीय वीरेन्द्र कापर र रौतहटको चाँदी खोलामा बगेर ५० वर्षीय सुकमानी थिङ बेपत्ता भएका हुन् । खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले बताए ।

प्रहरीका अनुसार प्रदेश २ का विभिन्न जिल्लामा ३८ वटा घरमा बाढीले क्षति पुर्‍याएको छ । सिरहामा बलान नदीले सखुवा–४ र लहान–२३ का बस्ती र खेतीयोग्य जग्गा कटान गर्न थालेको छ । कटान क्षेत्रमा मंगलबार प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल र आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले निरीक्षण गरे । कटान रोक्न तारजालीको तत्काल बन्दोबस्त मिलाउन मन्त्रीहरूले निर्देशन दिएका छन् ।

सप्तकोसी नदीमा मंगलबार दिनभर पानीको बहावमा उतारचढाव भइरह्यो । मंगलबार बिहान ८ बजे खतराको सतह पार गर्दै कोसी ब्यारेजमा ३ लाख ४२ हजार ९ सय ७० क्युसेक पानी प्रतिसेकेन्ड मापन गरिएको थियो । सो समयमा ४७ वटा ढोका खोलिएको थियो । एक घण्टापछि भने बहाव घटेको थियो । दिउँसो २ बजे ३ लाख ५ हजार क्युसेक प्रतिसेकेन्डमा पानीको बहाव झरेको थियो । सप्तरीका एसपी कृष्ण प्रसार्इंका अनुसार अत्यधिक बहाव भए पनि पश्चिमी तटबन्ध सुरक्षित छ ।

यस्तै, वीरगन्जका अधिकांश भूभाग मंगलबार अपराह्नसम्म जलमग्न बने । अविरल वर्षाले महानगरको मुख्य व्यापारिक क्षेत्र आदर्शनगरसहित रानीघाट, श्रीपुर, रामगढवा, लक्ष्मनवा, छपकैया, मुर्ली, जेलरोड, गोश्वारा रोडलगायतका क्षेत्र डुबानमा परेका छन् । नगर क्षेत्रमा ३ देखि ५ फिटसम्म पानी जमेको छ । ‘बजार क्षेत्रको ढल निकासको आउटलेट सिर्सिया नदीमा बनाइएको छ,’ महानगर सरसफाइ शाखाका सफरुद्दिन मियाँले भने, ‘सिर्सिया नदीमै अहिले पानीको बहाव उच्च छ, त्यही भएर बजारको पानी तान्न सकेको छैन ।’ सातवटा क्षेत्रको नालाको ब्लकेज खोलिएको उनले जनाए ।

बिनायोजना बढ्दो आवास निर्माणले महानगरपालिका वर्षात्मा डुबानमा पर्ने गरेको छ । पर्साको सिंघाई, ओरिया, भोडाहा, तिलावे खोलामा आएको बाढीले अधिकांश क्षेत्र डुबानमा छन् । भोडाहा खोलामा आएको बाढीले लालपर्सा, चोर्नीलगायतका क्षेत्र डुबानमा परेका छन् । सर्लाही सदरमुकाम मलंगवासहित आधा दर्जन बस्ती प्रभावित छन् । कतिपय स्थानीय तहले सडक बनाए पनि पानी निकासको व्यवस्थापनमा चुक्दा पूर्वपश्चिम राजमार्गका केही बस्ती पनि डुबानमा परेका छन् । पानीको निकास नहुँदा सदरमुकाम मलंगवा, गोडैता, हरिवन, लालबन्दी, कविलासी नगरपालिकाको बस्ती डुबेका हुन् । विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जनधनको क्षति भने नभएको बताए । धनकौल गाउँपालिका–३, ढापटोलका स्थानीय भने त्रासमा छन् । वाग्मती किनारको यो बस्तीछेउमै एकादशी खोला र मनुष्मारा खोला छन् ।

दुवै खोला सतहभन्दा निकै माथि आएका छन् । बाढीको पानी गाउँ पस्न थालेपछि स्थानीय बासिन्दा वाग्मतीको तटबन्धमा टहरा निर्माणमा जुटेका छन् । बाढीका बेला तटबन्ध नै उनीहरूका लागि सहारा बन्ने गरेको छ ।

प्रकाशित : श्रावण ७, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?