कुसुम खोलावासीलाई सधैं कष्ट- समाचार - कान्तिपुर समाचार

कुसुम खोलावासीलाई सधैं कष्ट

‘निकुञ्जले जहाँ गए पनि नछाड्ने भयो । पुरानो ठाउँ पनि आफ्नै हो भन्छ । नयाँ ठाउँ पनि उसकै हुँदो रहेछ । जहाँ पनि उसैको ठाउँ, हामी कहाँ जाने ?’
रमेशकुमार पौडेल

चितवन — मकवानपुर शिलिङ्गेकी शिवमाया चेपाङले ०५९ मा रसुवाका फुर्बोसिंघे तामाङ (सुरज) सँग प्रेम विवाह गरिन् । बिहेपछि उनीहरू रसुवा गएनन् । शिलिङ्गेमा सधैं पहिरोको त्रास थियो । बासको खोजी गर्दै उनीहरू ०६४ मा माडी नगरपालिका–९ कुसुम खोला पुगे ।

चितवनको माडी नगरपालिका–९ स्थित कुसुम खोला बस्ती । फाइल तस्बिर

कुसुम खोलामा २०५३ पछि नै सुकुम्बासीहरू गएर बस्न थालेका थिए । शिवमाया दम्पतीले पनि अरुले जस्तै खोलाको आडमा छाप्रो बनाए । तर वर्षात्मा बाढीको डर त हिउँदमा जंगली हात्तीले उधुम मच्याउँथ्यो । जंगली हात्तीले उनीहरुको घर १०/१२ पटकसम्म भत्कायो । अनेक ठाउँ निवेदन दिँदा राहत कतैबाट पाएनन् । सुबिस्ता होला भनेर ०७५ फागुनमा उनीहरू माडीकै शिवद्वारमा आएर बसे । नयाँ ठाउँमा बस्न आए पनि सुविधा भएन । यो बर्खामा शिवमायाले जीवनसाथी नै गुमाउनुपर्‍यो ।

कुसुम खोलाको स्थानीय विद्यालयमा शिवमाया सहयोगीको काम गर्दिन् । सुरजले ज्यालामजदुरी गर्थे । बाढी, जंगली जनावरको त्रास र निकुञ्जको सधैंको चेतावनी सहनुभन्दा उनीहरू बस्ती छाडेर हिँडे । माडीकै शिवद्वारमा आएर बस्ने उनको परिवार मात्रै थिएन । कुसुम खोलाका १८ घरपरिवार शिवद्वार सरेका थिए । घर बनाउने काम गर्ने सुरज शिवद्वार गएर पनि खाली बसेनन् । कामकै सिलसिलामा असार २५ मा माडीकै हरिनगर गएका सुरज फर्केनन् । भोलिपल्ट शिवमायाले उनी खोलामा बगेको खबर पाइन् । असार २७ को बिहान रिउ र बाँदरमुढेको दोभानमा सुरजको शव भेटियो । २७ गते नै सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल दुःखमा परेका मतदाता भेट्न भन्दै शिवमायाको छाप्रोमा समेत पुगे । दाहालले सरकारले सहयोग गर्ने आश्वासन दिएको शिवमायाले भुलेकी छैनन् । ‘म त पागल जस्तै भएकी थिएँ । उहाँले सहयोग हुन्छ भन्नुभएको त सुनेकी हुँ । अहिलेसम्म कतैबाट केही जुटेको छैन,’ उनले भनिन् । त्यतिबेला जंगली हात्तीले घर भत्काउँदा निवेदन लिँदै ठाउँ–ठाउँ गए पनि सहयोग नपाएको उनले बिर्सेकी छैनन् ।

उनलाई अहिले पनि त्यस्तै पो हुने हो कि भन्ने शंका छ । ४४ वर्षीया शिवमायाको साथमा अब एक्ली छोरी र दुःख मात्रै छ । ‘बस्ने उस्तै छाप्रोमा हो । कुसुम खोलामा पनि बाढीको दुःख थियो । यहाँ पनि आडैको टुनामुना खोला बढेर घरछेउ नै आउँछ,’ उनले भनिन् । कुसुम खोलामा जस्तो खेती लगाउने ठाउँ शिवद्वारमा छैन । ‘अहिले बस्ने ठाउँ त छ, तर बाढीबाट सुरक्षित भने छैन । खेती लगाउने ठाउँ कतै छैन । गुजाराका लागि कष्ट झन् थपियो,’ उनले भनिन् ।

माडी परुई खोला आडमा घर भएका ३५ वर्षीय कमल चेपाङ सोमबार रातभर निदाउन सकेनन् । खोला बढेर घरसम्मै आउने डरले उनले नसुतेरै रात कटाए । धादिङ स्यादुलमा जन्मेका कमल सुरक्षित बास खोज्दै माडी झरेका हुन् तर उनको बासस्थान खोजी अझै टुंगिएको छैन । स्यादुलको बुमराङमा उनको घर थियो । पहिरोले घर खेत बगाएपछि उनी ०६१ मा कुसुम खोला आए । यहाँ पनि बाढी र जनावरको दुःख हटेन । कुसुम खोलामा ०६८ मा र ०७४ मा ठूलो बाढी आयो । त्यसपछि यो ठाउँ बस्न उपयुक्त छैन भन्दै जनप्रतिनिधिले भनेको कमल सम्झिन्छन् । निकुञ्ज प्रशासनले अतिक्रमित बस्ती भनेर उठाउने चर्चा बेला–बेला नसुनेका पनि हैनन् ।

सुरक्षितसाथ बस्ने आशा बोकेर कमलसहित ५५ घरले दुई वर्षअघि कुसुम खोला छाडेर टुनामुना खोलाको आडमा घर बनाए । तर बाढीको त्रासले त्यहाँबाट उनीहरू परुई खोला किनारमा आएर बसेका हुन् । बाढीको डर भए पनि बलियो तटबन्ध लगाउने र जस्ताको छानो भएको घर बनाइदिने नगरपालिकाको आश्वासनपछि उनीहरू खुसी थिए । तर परुई खोलामा नमुना बस्ती बनाउन थालिएपछि स्थानीयले विरोध गरे । ‘घर बनाउन पोल गाडेका मात्रै थियौं, मन नपराएकाहरूले आएर भत्काइदिए,’ कमलले भने, ‘विभिन्न चरण छलफल गरेर सहमति भएको छ । घर बन्छ भन्ने आशा जीवितै छ, हेर्दै जाउँ ।’

कुसुम खोलामा १ सय ६० घर थिए । अनेक खाले समस्या व्यहोर्नु परेपछि उनीहरू कुसुम खोला छाडेर माडीकै तीन/चार ठाउँमा छरिएर बस्न थालेका हुन् । यहाँ ०५३ पछि चितवनको पहाडी क्षेत्र, धादिङ र मकवानपुरका बाढीपहिरोपीडित, भूमिहीन सकुम्बासी गएर बस्न थालेका हुन् । त्यस क्षेत्रलाई निकुञ्जले अतिक्रमित क्षेत्र मान्ने गरेको छ । अतिक्रमणको आरोपबाट मुक्त हुने र जंगली जनावर तथा बाढीको त्रासबाट बच्न उनीहरू गाउँ छाडेर हिँडेका थिए ।

नगरपालिकाको योजनाअनुसार उनीहरूका लागि सुरक्षित घर बनाउन माडी बगई नजिकको राईडाँडामा काम सुरु भएको थियो । नमुना बस्ती नै बनाउने भन्दै घरहरू बन्दै थिए । विद्युत् सेवा विस्तार पनि हुँदै थियो । ‘तर निकुञ्जकै क्षेत्रमा वन फाँडेर बस्ती बसाल्न पाइँदैन भन्ने निकुञ्जको आदेशले अहिले काम रोकिएको छ,’ स्थानीय सीताराम चेपाङले भने ।

राइडाँडामा रूख फाँडेर घर बनाएको भन्ने बेनामी उजुरी परेपछि छानबिन प्रक्रिया सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले रूख काटिए नकाटिएको बारे बुझ्न छानबिन टोली बनाएको जानकारी दिए । ‘यो निकुञ्जले जहाँ गए पनि नछाड्ने भयो । पुरानो ठाउँ पनि आफ्नै हो भन्छ, नयाँ ठाउँ पनि उसैको हुँदोरहेछ । जहाँ पनि उसैको ठाउँ, हामी कहाँ जाने ?,’ सीतारामले प्रश्न गरे ।

कुसुम खोलाकी पूर्णिमाया चेपाङ माडी नगरपालिका–९ की निर्वाचित वडासदस्य हुन् । उनका अनुसार कुसुम खोलामा दुःख अनेक थिए । ‘निकुञ्ज पर्छ भनेर कुटो, कोदालोले खनेर बाटोसमेत बनाउन पाइएन । खोलैखोला तरेर जानुपर्ने भएकाले बर्खामा आपत् हुन्छ । सुत्केरी हुन लागेका महिला, बिरामीहरू बर्खामा छटपटिएर गाउँमै बस्नुपर्ने बाध्यता थियो,’ उनले स्मरण गरिन् । दुःख, त्रास भए पनि कोदो, मकै, तोरी फल्ने पाखोबारीले केही राहत दिएको थियो । राम्रो र सुरक्षित बासको आसले उनीहरू खेतीको मोहमा भुलेनन् । ‘तर न नयाँ घरमा बस्न पाइयो, न पुरानो थलोमा छिर्न,’ उनले भनिन् ।

खेतीको आशाले कुसुम खोलामै फर्किएका १० परिवारलाई धपाउन शनिबार निकुञ्जको टोली हात्ती लिएर गयो । दुई घर जलायो, अरू घर भत्कायो । मकैबाली पनि नोक्सान गर्‍यो । यो घटना सार्वजनिक भएपछि सबैको ध्यान कुसुम खोलाले तानेको छ । ०५८ मा संकटकाल लागेका बेलामा पनि कुसुम खोलाका सबै घर हात्ती लगाएर भत्काइदिने र आगो लगाइदिने गरिएको थियो । चार महिना जति खोला किनारमा छाप्रो बनाएर बसेका उनीहरू फेरि पुरानै ठाउँमा फर्केका थिए । स्थानीय तहमा जनप्रतिनिधि आएपछि नमुना बस्ती बनाएर राख्ने भनिए पनि कुसुम खोलावासीलाई कष्टले अझै छाडेको छैन ।

प्रकाशित : श्रावण ७, २०७७ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्

चाँडै उठ्नाले परिवारै बचे

सम्झना रसाइली

तनहुँ — बन्दीपुरको नहालाकी मन्जु अधिकारी सोमबार साँझको घरायसी काममै व्यस्त थिइन् । नाहाला टोलका अध्यक्षलगायत घरमा आए । वर्षाका कारण घर जोखिममा रहेकाले उनलाई सपरिवार सुरक्षित ठाउँमा सर्न आग्रह गरे । बेलुकीको खाना खाएर १४ र ८ वर्षका छोरालाई लिएर मञ्जु देवर अर्जुनको घरमा बस्न गइन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा गएको पहिरोका कारण क्षति पुगेका घर तस्बिर : सम्झना रसाइली/कान्तिपुर

भोलिपल्ट बिहान बाहिर निस्कँदा आफ्नो घर तल सरेको भेटिन् । देवरको घर पनि भासिन लागेको महसुस भयो । हतार हतार छोरा र देवरका परिवारलाई उठाइन् । सबै जना निस्किएलगत्तै अर्जुनको घर पनि भासियो ।

‘चाँडै उठ्नाले परिवारकै ज्यान बच्यो । अलिकति ढिला भएको भए के–के हुन्थ्यो–हुन्थ्यो,’ उनले भनिन् । अर्जुन, उनकी श्रीमती र ७ वर्षको छोरा थिए । घर पहिरोले लग्छ भन्ने कुनै शंकै थिएन । ‘देवरको घर सुरक्षित हुन्छ कि भनेर बस्न आएका थियौं । यही घर पनि जमिन भासिएर लग्यो,’ उनले भनिन् ।

भूकम्पले भत्काएको घर देवरले पोहोरमात्रै नयाँ बनाएका थिए । वडाध्यक्ष भानुभक्त पोखरेलका अनुसार भूकम्पले पहिलै जमिन चर्किएको थियो । वर्षामा मूल पलाउँदा पहिरोको जोखिम बढेको हो । बन्दीपुर–१ नाहालामा पहिरोले ५ घर पूर्ण क्षति, ३ घर बगाएको र १५ घर जोखिममा रहेको उनले बताए । तनहुँका एसपी अरुण पौडेलका अनुसार राजमार्ग क्षेत्रमा मात्रै करिब २५ घर पहिरोले भत्काएको छ ।

प्रकाशित : श्रावण ७, २०७७ ०६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×