कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बाढी पहिरोले दर्जन सडक अवरुद्ध

मध्यपहाडी, कालीगण्डकी करिडोर मा कैयौं ठाउँमा पहिरो । विद्युत्को हाइटेन्सन टावर ढल्यो, केही पुल बगे ।
प्रदेश ब्युरो

पोखरा — बाढीपहिरोले गण्डकी प्रदेशका मुख्य राजमार्गसहित ग्रामीण सडकहरूमा आवागमन अवरुद्ध भएका छन् । सोमबार र मंगलबार पृथ्वी राजमार्ग, मध्यपहाडी, कालीगण्डकी करिडोर, सालझन्डी–ढोरपाटनलगायत सडकका ठाउँठाउँमा पहिरो खसेका छन् ।

बाढी पहिरोले दर्जन सडक अवरुद्ध

अत्यावश्यक काममा हिँडेका सर्वसाधारण अलपत्र परेका छन् । पृथ्वी राजमार्गको तनहुँ खण्डका दर्जन स्थानमा पहिरो गएको छ । गुणादी, नाहालाको पहिरो हटाएर मंगलबार एकतर्फी सडक सुचारु गरिए पनि विमलनगर, याम्पा, आँबुखैरेनीको मार्कीचोक, ऐना पहराको पहिरो हटाउने क्रम जारी छ । बन्दीपुर–१ नाहालामा सडक भासिएपछि डाइभर्सन गरी आवागमन एकतर्फी खुलाइएको छ । पहिरोले सडकको १० मिटर भाग भत्किएको छ ।

पहिरोले बेनी–जोमसोम–कोरला सडकको बेनी–लेते ४४ किलोमिटर खण्ड क्षतविक्षत बनाएको छ । ४ पुल क्षतिग्रस्त भएका छन् । अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रुप्से छहराको फेदीमा निर्माणाधीन पुलमा क्षति पुगेको छ । मुस्ताङको तल्लो घाँसामा निर्माणाधीन पुल र माथिल्लो घाँसा छेउको कैकु खोला माथिको पुल बाढीले बगाएको छ ।

कालीगण्डकीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण–६ रातोपानीमा २० मिटर, वडा–२ को भुरुङ तातोपानी बजार संरक्षण गर्ने तटबन्धसहित ५० मिटर सडक र वडा ३ दानामा झोलुंगे पुलसहित १५ मिटर सडक बगाएको छ । रुप्से झरनाको बाढीले निर्माणाधीन पुल, डोजर, बस, होटल र ३० मिटरभन्दा बढी सडक पनि बगाएको छ । ‘गलेश्वर–लेते खण्डमा मात्र २ दर्जनभन्दा बढी ठाउँमा सडक भत्केको छ,’ कालीगण्डकी करिडोर योजना प्रमुख अशोक तिवारीले भने ।

दानामा निर्माणाधीन कालीगण्डकी प्रसारण करिडोरको सबस्टेसनमा जोड्न ल्याएको मिस्त्री खोला जलविद्युत्को एउटा हाइटेन्सन टावर बाढीले ढालेको छ । कटानले अरू तीनवटा टावर ढल्ने अवस्थामा छन् । अन्नपूर्ण–६ धिरच्याङमा निर्माणाधीन घार खोला जलविद्युत्को क्रसर प्लान्ट बाढीले बगाएको आयोजनाले जनाएको छ । म्याग्दी सदरमुकाम बेनीबजार संरक्षण गर्न लगाइएको तटबन्धलाई कालीगण्डकीको बाढीले भत्काउन सुरु गरेको छ ।

बागलुङमा पहिरोले सडक अवरुद्ध हुँदा मंगलबार सदरमुकामदेखि ग्रामीण बस्तीमा जाने गाडी चलेनन् । बोक्से खाल्डोमा खसेको पहिरोले तीन घर पुरेको छ । मध्यपहाडीको बिहुँ खण्डमा बिजुलीको पोल ढालेको छ । ‘जुनसुकै बेला पहिरो खसेर बस्ती पुरिने र बग्ने खतरा छ,’ काठे खोला गाउँपालिका–५ का वडाध्यक्ष शिवप्रसाद कँडेलले भने । गलकोट र बडिगाड खण्डमा पनि पहिरो खसिरहेका छन् ।

कालीगण्डकी करिडोरको अधिकांश खण्डमा पहिरैपहिरो छन् । गोरखा–आँबुखैरेनी खण्डका ठाउँ ठाउँमा पहिरो खसेको छ । गोरखा प्रवेशद्वारको अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको छ । एघारकिलोमा सडक ३ मिटर भासिएको गोरखा नगरपालिका–११ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा मात्रै दर्जन ठाउँमा पहिरो खसेका छन् ।

कुश्मा नगरपालिका–१ पाङको सहस्रधारा नजिकै खसेको ट्रकभन्दा ठूलो ढुंगाले दुई लेनको सडक पूरै ढाकेको छ । ठूलो ढुंगो हटाउन नसकेपछि कुनाबाट ट्र्याक खोलेर एकतर्फी आवागमन खुलाइएको जिल्ला ट्राफिकका सई राजेन्द्र पौडेलले बताए ।

प्रकाशित : श्रावण ७, २०७७ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?