केरूङ च्छो तालको सतह एक मिटर घट्यो

'तत्कालका लागि जोखिम टर्‍यो'
अनिश तिवारी

सिन्धुपाल्चोक — केरुङ च्छो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बताएको छ । तालमा पानी भरिएपछि चिनियाँ अधिकारीले फुट्न सक्‍ने चेतावनी दिएका थिए ।

चीनको न्यालम र खासाक्षेत्रका वैदेशिक विभाग प्रमुख र प्रतिनिधिले वर्षात रोकिएपछि तालको सतह एक मिटर घटेको जानकारी आफूलाई दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

चिनियाँ विशेषज्ञसहित भूगर्भविद्को ७ जनाको टोलीले उक्त तालको सतह घटबढले जोखिम बढाउन सक्ने या नसक्ने भन्नेबारेमा अध्ययन गरिरहेको उनले बताए । ‘विषयविज्ञको टिम तालमा पुगेर अध्ययन गर्दैछ, त्यसपछि जोखिम हुने या नहुने भन्नेबारेमा निर्क्यौल आउनेछ, तत्कालका लागि जोखिम भने टरेको देखिन्छ,’ प्रजिअ ढकालले कान्तिपुरलाई भने ।

सीमावर्ती तातोपानी क्षेत्रबाट झण्डै ५० किलोमिटरको दुरीमा रहेको तिब्बतको कुती बजारको माख्लो भेगस्थित च्छो ताल फुट्ने आशंकामा चीन पक्षले मंगलबार जानकारी दिएको थियो ।

बेलुकीपख प्रशासन र सुरक्षाकर्मीले हुनसक्ने जोखिमको बारेमा सुचना फुकेपछि नदीको तटीय भेगमा रहेका सीमावर्ती क्षेत्र तातोपानी ,हिन्दी,चाकुदेखि बाह्रबिसे, खाडीचौर, बलेफी ,सुकुटेजस्ता दुई दर्जन बजारका स्थानीयमा दौडादौडी चलेको थियो । उनीहरुले रातारात सामाग्री ओसारेका थिए ।

प्रकाशित : श्रावण ६, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?