कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

गायिका सोफियालाई गीत हटाउन दबाब र धम्की

काठमाडौँ — गायिका सोफिया थापाले आइतबार सार्वजनिक भएको 'अबको तीज नो ब्रत प्लिज' गीत हटाउन लगातार दबाब दिइएको बताएकी छन् । हिन्दु धार्मिक संगठनका नाममा केही व्यक्तिहरुले गीत युट्युबमा सार्वजनिक भएलगत्तै आफूलाई फोन गरी हटाउन भनिएको र गीत नहटाए घरमै आएर शारीरिक क्षति पुर्‍याउने धम्कीसमेत दिइएको उनले बताइन् ।

गायिका सोफियालाई गीत हटाउन दबाब र धम्की

'दुर्व्यवहार र बुलिङ गर्ने शब्दहरुको प्रयोग गर्दै धम्की आइरहेको छ । हिन्दु जागरण र विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका नाममा मलाई धम्की दिइरहेको छ । निम्नस्तरको गालीसहितको मेसेजहरु आइरहेका छन् । बिहानदेखि फोन आइरहेको छ । गीत हटाएन भने सञ्चार मन्त्रालयमा गएर उजुरी दिने पनि भन्नु भएको छ,' उनले भनिन् ।

आफूले गाएको गीतमा धर्मलाई कतै नछोएको उनी बताउँछिन् । उनले भनिन्, 'मैले धर्मलाई केही छोएकै छैन । मैले तीजमा भएको सानो विषयलाई परिस्कृत गरौं भनेको छु । यसमा केको टाउको दुखाउनु पर्ने र हिन्दु धर्मको आस्थालाई आँच आएर हिन्दु धर्म नै पुरै हल्लिने कहिँ पनि म देख्दिनँ ।'

श्रीमानको आयु लामो होस् भनेर पानी पनि नखाएर ब्रत बस्नु स्वास्थ्यको हिसाबले पनि ठीक नरहेको र खुट्टाको पानी खानु समानताको सोच राख्ने सबैका लागि गलत विचारधारा रहेको भन्दै आफूले गीत गाएको उनी बताउँछिन् । 'गरगहना झप्पकै लगाएर पार्टी गरेर फजुल खर्च गर्नुहुँदैन है भन्ने सन्देश राखेको छु । यसको मतलब तीज मनाउनै नहुने भन्ने होइन्, परिस्कृत गरौं भनेकी हुँ । यति भन्दा हिन्दु धर्ममा कसरी खतरा भयो ?' उनले भनिन् ।

सोमबार 'विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समिति' को नामबाट यो गीत युट्युबबाट हटाउन प्रेस विज्ञप्ति जारी गरिएको छ । ६ गतेसम्म गीत नहटाएमा विरोध कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यो गीतलाई युट्युबमा सार्वजनिक गर्ने हाइलाइट्स नेपालका जनक तामाङले पनि गीत हटाउन फोनबाट दबाब आइरहेको बताए । उनले भने, 'यो गीतले हाम्रो धर्ममा नराम्रो असर गर्छ । हटाउने भए हटाउनु नत्र कारबाही गर्न तयार छौं भन्दै फोन आएको छ,' उनले भने ।

प्रकाशित : श्रावण ६, २०७७ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?