बाढीपहिरोले काठमाडौंमा एकसहित सातको मृत्यु

१ सय २१ पशुचौपाया मरे, तीन दर्जनभन्दा बढी परिवार विस्थापित
प्रदेश ब्युरो

काठमाडौँ — बाढीपहिरोका कारण काठमाडौं, दार्चुला, तनहुँ, गोरखा र धादिङमा गरी सात जनाको मृत्यु भएको छ । दुई जना घाइते र तीन दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् ।

बाढीपहिरोले काठमाडौंमा एकसहित सातको मृत्यु

काठमाडौंको कागेश्वरी मनहरा–१ गागलफेदीमा पुरिएर २२ वर्षीय नवराज गुरूङको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका–६ परिगाउँमा आइतबार राति पहिरोले घर पुरिँदा ४२ वर्षीया मानमती ठगुन्ना र उनकी भतिजी ५ वर्षीया पार्वती ठगुन्नाको मृत्यु भएको छ । मानमतीका आफन्त मोहना ठगुन्नाको अवस्था गम्भीर छ । उनको शैल्यशिखरको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको दार्चुलाका डीएसपी पदमबहादुर विष्टले बताए । परिगाउँ खोला किनारका सात घर र एक विद्यालयसमेत बाढीले बगाएको छ । तीन घर उच्च जोखिममा छन् । परिगाउँमा स्थानीयका ८३ वटा बाख्रा, २५ गोरु, ११ गाई, २ वटा घोडालगायत पशुचौपाया बाढीपहिरोले बगाएका छन् । विस्थापित परिवारलाई सुरक्षित ठाउँमा सारेर क्षतिको विवरण संकलन भइरहेको डीएसपी विष्टले बताए ।

राति नै नौगाड गाउँपालिका–३ खार खोलाको बाढीले आनसिंह ठगुन्ना, जोगी धामी र रमेशसिंह ठगुन्नाको पसल बगाएको स्थानीय रघुवीर सिंह ठगुन्नाले बताए । बाढीले १० वटा पानी घट्ट, ४ आरसीसी पुल, ४ काठे पुल, खेल मैदान, माछापोखरी बगाएको छ भने खार लघु जलविद्युत् आयोजनाको मुहानमा क्षति गरेको उनले जानकारी दिए ।

विद्युत् प्राधिकरणको डुङुरी पावर हाउसभित्र डुङुरी खोलाको बाढीले क्षति पुर्‍याएको छ । पावर हाउस सञ्चालनमा आउन दुई साता लाग्न सक्ने प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले बताए । महाकाली नगरपालिका–५ धौलीगाड खोलामा आएको बाढीले महाकाली लोकमार्ग अवरुद्ध भएको छ । धौलीगाड खोलामा निर्माणाधीन पक्की पुलको पिलर धस्सिएको छ । तनहुँको भानु–९ सिमगैरामा महेन्द्र धरालीको घर पहिरोले पुर्दा उनकी आमा ८० वर्षीया तिलमाया र १७ वर्षीया छोरी तृप्साको मृत्यु भएको छ । सोमबार दिउँसो गएको पहिरोमा परी तिलमायाको घटनास्थलमै र घाइते तृप्साको डुम्रेमा उपचारका क्रममा मृत्यु भएको तनहुँका

एसपी अरुण पौडेलले बताए । पहिरोका कारण शुक्लागण्डकी र म्याग्देमा २० घर विस्थापित भएका छन् । गत साता पहिरोमा बेपत्ता व्यास –९ का राजेश थापा अझै भेटिएका छैनन् ।

पहिरोले गोठसँगै पुरिएर गोरखाको गण्डकी–४ फुजेल कौदिककी ३४ वर्षीया लक्ष्मी गुरुङको मृत्यु भएको छ । सोमबार दिउँसो बाख्रालाई घाँस दिँदै गर्दा पहिरोले पुरेको स्थानीय धनबहादुर गुरुङले बताए । जिल्लामा एक हजार रोपनीभन्दा बढी धानखेतमा क्षति पुगेको छ । लमजुङको राइनास, दूधपोखरी र दोर्दीमा एक दर्जनभन्दा बढी परिवार बाढीपहिरोले विस्थापित भएका छन् ।

प्रकाशित : श्रावण ६, २०७७ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?