कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बाढीपहिरोले पृथ्वी राजमार्ग क्षतविक्षत

हरिहरसिंह राठौर

मौवा खोला, धादिङ — आइतबार रातिदेखि परेको अविरल वर्षाले पृथ्वी राजमार्गका विभिन्न भागमा क्षति पुग्दा आवागमन ठप्प भएको छ । चितवन सिमानामा रहेको खहरे मौवा खोलाले मुख्य राजमार्गको पुल जोड्ने सडकको केही भाग बगाउँदा आवागमन रोकिएको हो । खोलाले धादिङतर्फ पुलको ढलानसँग जोडिएको करिब ५ मिटर सडक बगाएपछि चितवनसँगको आवागमन प्रभावित भएको छ ।

बाढीपहिरोले पृथ्वी राजमार्ग क्षतविक्षत

उक्त पुल भत्केपछि काठमाडौंतर्फ जाने सयौं सवारीसाधन मुग्लिङ फर्केका छन् । बेनीघाटको जोगीमारा हुग्दी खोलादेखि मौवा खोलासम्म ९ स्थानमा पहिरो खसेको छ भने विभिन्न स्थानमा ठूला चट्टानहरू सडकमा खसेका छन् । गजुरी–२ माझडाँडामा बाढीले ५ घर बगाएको छ । घटनामा १७ वर्षीया निरुता परियारको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सरसामान निकालेर ५ परिवारका १६ जनाले घर छाडेपछि ‘सुटकेस छुटेको’ भन्दै फर्केकी परियार बगेकी थिइन् । सशस्त्र प्रहरीले दिउँसो पहिरो पन्छाएर शव निकालेको हो ।

सिमेन्ट उद्योगलाई चुनढुंगा आपूर्ति गर्ने अन्नपूर्ण क्वेरिजको कार्यालय र अस्थायी प्रहरी पोस्टसहित स्थानीयका ८ वटा पसल जवाङ खोलाको बाढीले बगाएको छ । सोमबार करिब १२ बजे आएको भेलले जवाङ खोला पुलमा मुढा र ठूला ढुंगा थुपारेको छ । यसअघि यस्तो भेल २०५० सालमा आएको स्थानीयले बताएका छन् । त्यसबेला त्रिशूली नदीको बाढी राजमार्गसम्म आएको थियो । ‘योपल्ट पनि बाढी आएर राजमार्गमै ढुंगामुढा ल्याएर थुपार्‍यो,’ जवाङ खोलाका स्थानीय स्याने घलेले भने । आफ्नो पसल बाढीले बगाएपछि ५ वटा पहिरो पार गर्दै घले ८ जनाको परिवारसहित आफन्तकहाँ शरण लिन पुगेका छन् ।

जवाङ खोलामा आएको बाढीले अस्थायी प्रहरी चौकी घेरेपछि त्यहाँका प्रहरीले भागेर ज्यान जोगाएका थिए । राजमार्गमाथि रहेका सिमेन्ट उद्योगबाट आएका ग्रेगान र पहिरोले तेक्राङमा कुखुरा बोक्ने पिकअप गाडी, एउटा कार र एउटा भ्यान बगाएको छ भने एउटा कन्टेनर बोकेको ट्रक र दुईवटा जिप आधा पुरेको छ । गजुरीको जहेमा पनि एउटा कार पहिरोले बगाएको प्रहरीले जनाएको छ । ‘मलेखु, फुर्के खोला र जहरेलगायतमा खसेको पहिरोमाथिका खानी र ग्रामीण सडकबाटै राजमार्गमा आएको देखिएको छ,’ राजमार्ग निरीक्षणमा निस्केका जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीले भने । त्रिशूलीले जोगीमाराका दुई स्थानमा राजमार्ग भत्काएको छ । पहिरो पन्छाइसकेपछि मौवा खोलाको क्षतिग्रस्त पुल गजुरीस्थित नेपाली सेनाको ब्यारेकमा रहेका बेलिब्रिज लिएर जडान गर्ने योजना रहेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘पहिरो पन्छाउन मंगलबार दिनभर लाग्न सक्छ,’ उनले भने, ‘चारैतिर पहिरो गएपछि राजमार्गका विभिन्न भागमा सवारीसाधन अलपत्र छन् ।’

चितवन संवाददाताका अनुसार नारायणगढ–मुग्लिङ सडकअन्तर्गत चारकिलोस्थित कालीखोलामा सोमबार बिहान खसेको पहिरोले यातायात ठप्प भएको छ । यही ठाउँमा गत असार ३ मा पनि पहिरो खसेको थियो । सोमबार त्योभन्दा ठूलो पहिरो खसेको हो । वर्षा नरोकिएकाले पहिरो हटाउने काम पनि सुरु हुन सकेको छैन ।

नारायणगढ–मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार दुई लोडर र दुई एक्स्काभेटर पहिरो पन्छाउन तयारी राखिएको छ । दिउँसो १ बजे पहिरो हटाउन सुरु गरेलगत्तै ठूलो पानी परेपछि काम रोक्नु परेको थियो । ‘पानी परेसँगै माथिबाट लेदो झर्दा काम गर्न सकिएन,’ खनालले भने, ‘साँझ ४ बजेतिर फेरि काम सुरु हुँदा एउटा मेसिन नै बिग्रियो ।’ चितवन प्रशासनले सडक अवरुद्ध भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सूचना गरेको छ । नियमित काम गर्न सके मंगलबार साँझसम्म यातायात सञ्चालनमा ल्याउन सकिने इन्जिनियर खनालले बताए । नारायणगढ–मुग्लिङ सडकलाई फराकिलो बाटो बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटेका ठाउँमा पहिरो खस्ने गरेको हो ।

कालीखोलामा चार वर्षयता लगातारजसो पहिरो खस्ने गरेको छ । पहिरो नियन्त्रणको काम सुरु भए पनि कालीखोलामा पूरा हुन सकेको छैन ।

प्रकाशित : श्रावण ६, २०७७ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?