कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कुसुमखोलाका सुकुम्बासीमाथि जब निकुञ्‍ज आइलाग्यो

'८ वटा घर भत्काइयो २ वटामा आगो लगाइयो'
आगो लगाइएको छैन : निकुञ्‍ज 
रमेशकुमार पौडेल

चितवन — चितवनको माडी नगरपालिका-९ कुसुमखोलाका दानबहादुर प्रजा (चेपाङ) शनिबार घरमा थिएनन् । माडीकै कीर्तनपुर झरेका उनी साँझ ५ बजे घर फर्किदै थिए, बाटोमा हात्तीको लस्कर देखे । गाउँ पुगेपछि उनले थाहा पाए, ती हात्ती उनकै गाउँ पुगेर फर्किएका थिए । गाउँमा बितण्डा भइसकेको थियो । 

कुसुमखोलाका सुकुम्बासीमाथि जब निकुञ्‍ज आइलाग्यो

‘सातवटा हात्ती लिएर राष्ट्रिय निकुञ्जका २०/२२ जना मान्छेहरु आएका रहेछन् । गाउँमा १० घर थिए । अरु घर भत्काएछन् । मेरो घर र मेरा फुपाजु पर्ने दिपबहादुर चेपाङको घरमा आगो लगाएछन्,’ दानबहादुरले कान्तिपुरलाई फोनमा सुनाए ।

लामो समयदेखि चितवन राष्ट्रिय निकुञ्‍जले अतिक्रमित क्षेत्र मानेको कुसुमखोलामा कुनैबेला डेढ सय घरधुरी थिए । विभिन्न स्थानका बाढी पीडितहरु यहाँ सुकुम्बासीका रुपमा बस्दै आएका छन् । माडी नगरपालिका र सरकारले स्थानान्तरणको प्रयास गरेपछि प्राय: सबैजसो नदी उकास क्षेत्रमा झरेका थिए । तर, नयाँ ठाउँमा पनि सुकुम्बासीलाई राम्रो नमानिएपछि कति मानिसहरु फेरि कुमुमखोलामै फर्किन थाले । त्यसरी नै फर्किएका १० जनाको घरमा शनिबार निकुञ्‍जले हात्तीसहित गएर घर भत्काउने र आगो लगाउने काम गरेको स्थानीयले बताएका छन् । घरबस्ती भत्काइएको र दुई घरमा आगो लगाइएको आफूलाई स्थानीयले फोनमा जानकारी गराएको माडी वडा नं ९ का वडाध्यक्ष शिवहरि सुवेदीले बताए ।

तर, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले भने घर जलाएको कुरा अस्वीकार गरेका छन् । रुपाखेतीका अनुसार दुईवटा हात्तीमा निकुञ्जका कर्मचारी र सेना गाउँ गएका थिए । ‘त्यहाँका धेरै मान्छेहरु तल नयाँ ठाउँमा गएर बस्न सुरु गरेका छन् । दुई ठाउँमा नै बस्ने जमर्कोमा लागेका केहीलाई त्यहाँ नबस्न भनिएको हो । केही गोठ टौवा भत्के पनि होलान् तर बस्तीभित्र आगो नै लगाउने काम हामीबाट भएको हैन,’ रुपाखेतीले भने । प्रजाले भने निकुञ्‍जको टोलीले घरु भत्काउने र आगो लगाउनेसँगै एक हप्ताभित्र बस्ती छोड्न पनि उर्दी जारी गरिएको बताए ।

चितवनको माडीमा बाँदरझुला र कुसुमखोला दुई ठूला सुकुम्बासी बस्ती छन् । बाँदरझुलामा ४७ सालपछि र कुसुमखोलामा ५४ सालतिर मान्छेहरु गएर बस्न थालेका हुन् ।

जंगल र खहरे खोलाहरुले घेरिएको कुसुमखोलामा चितवको पहाडी क्षेत्रका साथै तनहुँ र मकवानपुरका बासिन्दा चेपाङ, तमाङ र भुजेलहरुको बस्ती हो । बाढी र पहिरोले घर खेत लगेपछि उनीहरु भौतारिँदै त्यहाँ पुगेका हुन् । २०६६ सालसम्म मान्छेहरु आएर बस्दै गरे । तर, चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले बस्ती बस्न नपाउने भन्दै छाडेर जान बेला बेलामा मौखिक लिखित सूचना जारी गरिरह्यो । प्रशासनको चेतावनी आए पनि उपाए नभएका कारण उनीहरुले कुसुमखोला छाडेनन् ।

माडीको पूर्व दक्षिण कुनामा रहेको कुसुमखोला पुग्न वर्षामा निकै गाह्रो छ । चितवन निकुञ्जको बगई पोष्टबाट गएका निकुञ्जका कर्मचारी र सेनाले बस्तीका घरहरुमा आगो लगाएको खबर आइतबार सार्वजनिक भएको हो ।

पहिले पनि लगाइएको थियो आगो

विसं २०५८ सालमा संकटकालका बेला पनि बाँदरझुला र कुसुमखोला बस्तीमा निकुञ्जले हात्ती लगाएर भत्काउने र आगो लगाउने काम गरेको थियो । त्यसबेला दुवै बस्तीबाट लगभग चार महिना मान्छेहरु विस्थापित भएका थिए । बर्खा लागेपछि फेरि पुरानै ठाउँमा फर्किए । त्यसपछि पनि निकुञ्जले पटकपटक बस्ती उठाउन भन्दै सूचना निकालेको थियो ।

यसपालिको हिउँदमा कुसुमखोलामा जंगली हात्तीले घर भत्काएको थियो । ‘जंगली हात्तीले मान्छेलाई त केही गरेन तर घर नै छाडेर लुक्नु पर्ने भयो,’ स्थानीय पूर्णिमा चेपाङले भनिन् । गाउँका १५ घरमा हात्तीले नोक्सान गरेपछि सबैले गाउँ छाड्ने निधो गरे । दुई चार वर्षयता फाट्टफुट्ट गाउँ छाड्ने क्रम बढेको थियो । तर, हात्तीको डर भएपछि बस्नै नसक्ने अवस्था आएको बताउँछिन् पूर्णिमा ।

निकुञ्‍जकै अवरोधले बस्ती सार्ने योजना अलपत्र

माडी–९ का वडाध्यक्ष शिवहरि सुवेदी स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिहरु आएपछि जोखिम क्षेत्रमा बसेकाहरुलाई सुरक्षित ठाउँमा ल्याउने प्रयास सुरु भएको बताउँछन् । ‘हामी निर्वाचित भएलगत्तै उहाँहरुलाई सुरक्षित बासस्थानमा राख्ने पहल भएको हो । कुसुमखोला बाढी र जंगली जनावरबाट धेरै असुरक्षित थियो,’ उनले भने ।

बाँदरझुलामा कुसुमखोलाको भन्दा धेरै घरधुरी छन् । गएको संसदीय चुनावमा बस्ती व्यवस्थित गर्ने कुरा निकै चर्को रुपमा उठ्यो । त्यो क्षेत्रबाट विजयी भएका सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बाँदरझुला नै पुगेर कम्तिमा पाँच कट्ठा जग्गाको व्यवस्था नगरी उनीहरुलाई नउठाउने बचन दिएका थिए । कुसुमखोलाका बासिन्दालाई भने नगरपालिकाले सुरक्षित घरको प्रबन्ध गरेर बस्ती स्थानान्तरण गर्ने योजना बनाएको वडाध्यक्ष सुवेदीले बताए ।

कुसुमखोलामा १६० घरधुरी थिए । ‘तिमध्ये ८० घर वडा नम्बर ९ कै राईडाँडामा राख्ने, ५२ घर वडा नम्बर सातको परुई खोलामा तटबन्ध गरेर राख्ने र केही घर ८ नम्बरको शिवद्वार र ९ नम्बरकै प्याउलीमा राख्ने योजना हो । पिल्लर राखेर गाह्रो र जस्ताको छानो भएको पक्की घर बनाउने अनि रोजगारको पनि प्रबन्ध गर्ने योजनासहित बस्ती स्थानान्तरणको योजना सुरु गरेका थियौं,’ वडाध्यक्ष सुवेदीले भने । एउटा घरका लागि झण्डै अढाई तीन लाख रुपैयाँ खर्च गर्ने योजना अनुसार बजेट प्रबन्ध गरेको उनले बताए ।

तर, परुई खोलामा घर बनाउन त्यहाँका स्थानीयले विरोध गरे । राईडाँडामा ४१ वटा घरहरु बन्दै थिए । २८ वटा घर तयार भइसकेका थिए । बाँकी घरमा जस्ता राख्न बाँकी थियो, वन क्षेत्र नोक्सान गरेर बस्ती राखेको भन्दै निकुञ्जले अवरोध गरेपछि काम रोकियो । ‘पुरानो ठाउँ पनि निकुञ्जले बस्न नदिने, नयाँ ठाउँमा कतै स्थानीयले रोक्ने, कतै निकुञ्जले छेक्ने, यस्तो भएपछि दुई चार घर फर्केर फेरि कुसुमखोला नै पुगेका हुन्,’ गत वर्षको भदौबाट राईडाँडामा बस्न सुरु गरेका कुसुमखोलाका सिताराम चेपाङले भने ।

प्रकाशित : श्रावण ५, २०७७ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?