विदेशस्थित नेपाली नियोगमा नयाँ नक्सा 

जगदीश्वर पाण्डे

काठमाडौँ — विदेशस्थित नेपाली नियोगहरुमा नेपालको नयाँ नक्सा देखिन थालेको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानीको सम्पूर्ण भू–भागलाई समेटेर नेपालको नक्सा जारी भएपछि परराष्ट्र मन्त्रालयले विदेशमा रहेका आफ्ना सम्पूर्ण नियोगहरुलाई नयाँ नक्सा प्रयोगको लागि पत्राचार गरेको थियो । 

विदेशस्थित नेपाली नियोगमा नयाँ नक्सा 

नेपालको निशान छापमासमेत नयाँ नक्सा रहेको हुँदा विदेशस्थित नेपाली नियोग तथा राजदूतावासले आफ्नो कार्यालयको भवन बाहिर बोर्डमा नयाँ नक्सा समेटिएको ‘नेपालको दूतावास…सहित निशान छाप’ पनि राखेका छन् ।

उक्त पत्राचार अनुसार विदेशमा ३० ओटा राजदूतावास, ३ ओटा संयुक्त राष्ट्र संघको स्थायी नियोगहरु (न्यूयोर्क, जेनेभा र भियना) र ६ ओटा महावाणिज्य दूतावास छन् ।

परराष्ट्र मन्त्रालयका एक उच्च पदाधिकारीका अनुसार सरकारले नै लागू गर्ने भएपछि त्यस मातहत रहेका सम्पूर्ण क्षेत्रमा नयाँ नक्सा लागू गर्न आवश्यक भएकोले विदेशस्थित सम्पूर्ण नियोगहरुले उक्त काम गरेका हुन् ।

ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुलीले दूतावासमा नयाँ नक्सालाई समेट्नु पर्ने सम्पूर्ण कागज–पत्र र अन्य दस्तावेज, बोर्डलगायत स्थानमा नयाँ नक्सालाई समेटिसकेको बताइन् । ‘दूतावासका सम्पूर्ण काम–कारबाहीमा नयाँ नक्साको प्रयोग भइसकेको छ,’ उनले कान्तिपुरसँग भनिन् ।

अन्य नियोगहरुले पनि नेपालको नयाँ नक्सालाई अबलम्वन गर्दै सम्पूर्ण कामहरु नयाँ नक्साकै प्रयोग गरेर काम गर्न थालिसकेको परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले बताए ।

परराष्ट्र मन्त्रालयले नयाँ नक्सा जारी गरेसँगै विदेशी राजदूतावासहरु, अन्तर्राष्ट्रिय संस्थासहित अन्तर्राष्ट्रिय समुदायलाई पनि जानकारी गराइसकेको छ ।

भारतले गत कात्तिकमा नेपालको भूमिलाई समेट्दै नयाँ नक्सा गरेपछि नेपालले पनि आफ्नो भूभागलाई समेट्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेट्दै जेठ ७ मा औपचारिक रुपमा नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

मन्त्रीपरिषद्को जेठ ५ मा बसेको बैंठकले ती तीन भूभागलाई समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि निशान छापमा यो नक्सालाई समावेश गर्नलाई सरकारले संविधानको अनुसूची ३ संशोधन विधेयकलाई जेठ १८ गते सरकारले संसदमा दर्ता गरेको थियो ।

जेठ ३१ गते प्रतिनिधि सभाबाट नेपालको निशान छापमा नयाँ नक्सा राखिएको विधेयक सर्वसम्मतले पारित भएको थियो भने असार ४ गते राष्ट्रिय सभाबाट पारित भइ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएर लागू भएको थियो ।

प्रकाशित : श्रावण ५, २०७७ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?