पूर्वमाओवादी समूहका स्थायी कमिटी सदस्यहरुको भेला, ओली र नेपालसँग मुद्दाका आधारमा सहकार्य गर्ने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वमाओवादी समूहका स्थायी कमिटी सदस्यहरुको भेला, ओली र नेपालसँग मुद्दाका आधारमा सहकार्य गर्ने

मंसीरमा महाधिवेशन असम्भव, स्थायी कमिटी नरोक्न माग
बबिता शर्मा

काठमाडौँ — नेकपाभित्र चर्कदो शक्ति संघर्षकाबीच पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यहरुले एजेन्डा र विचारका आधारमा पूर्व एमालेका भिन्दाभिन्दै समूहसँग सहकार्य र समीकरण बनाएर अगाडि बढ्न पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका छन् । 

सोमबार बिहान दाहाल निवासमा भेला भएका पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यहरुले सम्झौता गर्दा मुख्य नेतृत्व केपी ओलीसँग गरे पनि मुद्दा, विधि र पद्धतिमा वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुको पनि चासोमा उत्तिकै ध्यान दिनुपर्ने सुझाव दिएका हुन् ।

‘क्रान्तिकारी विचारको वरिपरी पार्टीलाई लैजानु पर्छ । हामीले पनि विचारको विकास गर्नुपर्छ । यसको निम्ति पूर्व एमाले र पूर्व माओवादी भन्न हुँदैन । सबै यही विचारको वरीपरी आउँछन्,’भेलामा स्थायी कमिटीका धेरैजसो सदस्यले दिएको सुझाव उद्धृत गर्दे एक नेताले भने, ‘विभिन्न विषयमा विभिन्नसँग मिल्दा स्थायी गुटबन्दी, समीकरण भन्ने कसैसँग हुँदैन । मुद्धागत आधारमा सहकार्यको नीति अगाडि बढ्नुपर्छ । मुख्य त पहिलो अध्यक्ष र प्रधानमन्त्रीले नै निकास दिनुपर्‍यो । ’

अध्यक्ष दाहालले पनि मुद्दाअनुसार सहकार्य गर्नुपर्ने बताएका थिए । ‘पूर्व एमालेका साथीहरुको बैचारिक कुरा एक ठाउँ छ । कतिपय मुद्दाहरुमा कहिले कोसँग सहकार्य हुन्छ त कहिले कोसँग हुन्छ । हिजो केपीसँग मिलेर पार्टी एकता गरियो, उहाँहरुसँग स्थायी विरोध हैन,’ दाहालको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘अहिले पार्टीभित्रका समस्या हल गर्दा माधव नेपालहरुसँग कुरा मिल्यो । उहाँहरुसँग पनि स्थायी गुटबन्दी, स्थायी समीकरण होइन । मुद्दामा छलफल हुन्छ, सहकार्य हुन्छ र हुनु पनि पर्छ । केपी ओलीसँग पनि स्थायी रुपमा विरोध हैन । हामी पनि आआफ्नो ढंगले सोच्न स्वतन्त्र छौं ।’

प्रधानमन्त्री ओलीसँग संवाद गर्ने र निकास दिनेबारे उनको भूमिका के हुन्छ त्यसैका आधारमा थप रणनीति तय गर्न नेताहरुले दाहाललाई सुझाव दिएका छन् । ‘अहिलेसम्म पार्टीमा देखिएको संकट र देशको संकटअनुसार प्रधानमन्त्रीले नै निकास दिनुपर्छ भन्नेकुरामा सबैको जोड थियो । उहाँले के गर्नुहुन्छ त्यसलाई पनि हेरेर थप रणनीति बनाउने हो,’भेलामा उठेको सुझावबारे एक सदस्यले भने ।

भेलामा अध्यक्ष दाहालले पार्टी एकता बचाउने नाममा आत्मसमर्पण नगर्ने पनि बताएका छन् । उनले पूर्व माओवादी निकट नेताहरु एक स्वर हुनुपर्ने आशयमा कुरा राखेको ती नेताले बताए । ‘सबै मिलेर जाऔं । वैचारिक बहस बनाउँ यो पार्टीको । अहिले अलि सन्तुलित बनाएर बाँकी रहेका साथीहरुका कुरा राखेर बैठकको निकास निकालौं । पार्टीको समस्या भनेको पदको हैन । विधि,पद्धती प्रणालीको हो । एकतालाई बचाउने भनेको आत्मसमर्पण गर्ने हैन । बहस, छलफल गरेर जानुपर्छ,’ दाहालको भनाई थियो ।

सुरुमा प्रधानमन्त्री ओलीसँग भएको छलफलको प्रगति र अवस्थाबारे जानकारी गराएका दाहालले ओलीसँग सम्झौता गरेर अघि बढ्ने वा नेपालको साथ लिएर संघर्ष जारी राख्ने भन्नेबारे नेताहरुसँग सुझाव मागेका थिए ।‘सबै मिलेर जानुपर्छ । तपाईंले कोशिस गर्नुस् । पार्टी फुट्न हुन्न । एकता बचाउन पर्छ । नफुट्ने गरी पहलकदमी लिनुस्, को–को सँग कुरा मिल्छ,’ त्यहाँ सहभागि अर्का एक नेताले भने, ‘अझै गृहकार्य जे गरे पनि ओलीसँग नै बढी छलफल गर्नुस् भन्ने सुझाव अधिकांश साथीहरुको थियो ।’

भेलामा धेरैजसो नेताले मंसीरमा महाधिवेशन संभव नभएको बताएका थिए । तर, केही नेताले भने चुनौती स्वीकार गरेर जान सकिने पनि सुझाएका थिए । ‘महाधिवेशन अहिले संभव छैन भन्ने सबैले राखे । एकजनाले चाहिँ चुनौती स्वीकार गर्दा हुन्छ भनेका थिए । महाधिवेशनलाई वैचारिक बनाउनु पर्छ । प्राविधिक रुपले संगठनका कुरा गरेर मात्र हुँदैन भन्ने सबैको मत थियो,’ भेलामा सहभागी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

शनिबार प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्दान्त र कार्यदिशा अपनाउने शर्तसहित मंसीरमा ‘अर्लि महाधिवेशन’ गर्ने प्रस्ताव राखेपछि नेकपा विवाद नयाँ मोडमा पुगेको थियो । यस विषयमा दाहाल निवासमा भेला भएका नेताहरुले पार्टी विधान र दस्तावेजअनुसार वैचारिक बहस गर्न सुझाएका छन् ।

जनताको बहुदलीय जनवाद अवलम्बन गर्दै आएको नेकपा (एमाले) र माओवाद तथा २१ औँ शताब्दीको जनवाद अवलम्बन गर्दै आएको नेकपा (माओवादी केन्द्र) बीचको एकतापछि नेकपाले पार्टीको रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद, न्यूनतम कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद मानेको छ ।

पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद माने पनि जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवादका सम्बन्धमा आगामी महाधिवेशनसम्म विधिसम्मत छलफल गरी निष्कर्षमा पुग्ने पार्टी विधानमा छ ।

बैठकले अहिलेका विवादित विषयमा सकेसम्म शीर्ष तहमा सहमति गरेर स्थायी कमिटीमा लैजाने र त्यहीबाट औपचारिक निर्णय लिन पनि स्थायी कमिटी सदस्यहरुको सुझाव थियो ।

‘अहिले स्थायी कमिटीबाट एउटा निष्कर्ष दिनुपर्छ । स्वभाविक एजेण्डा स्थायी कमिटीमा लैजाने र त्यसको आधारमा निश्कर्ष निकाल्नुपर्छ,’ एक नेताले भने, ‘स्थायी कमिटी स्थगित गरेर पनि हुँदैन । आवश्यक परे केन्द्रीयक कमिटीको बैठक पनि बोलाउनुपर्छ ।'

भेलामा सचिवालय सदस्य श्रेष्ठसहित स्थायी कमिटीका १५ नेता उपस्थित थिए । सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा भने उपस्थित थिएनन् । स्थायी कमिटी सदस्य तथा उद्योगमन्त्री लेखराज भट्ट पनि उपस्थित थिएनन् । भट्ट पछिल्लो समय प्रधानमन्त्री ओली निकट मानिन्छन् । थापाले दाहाललाई आफू उपस्थित नहुने जानकारी गराएको दाहाल निकट स्रोतले बतायो ।

शनिबारको सचिवालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले ल्याएको मंसीरमा महाधिवेशन गर्ने प्रस्ताव स्वीकार गरेपछि दाहालमाथि आफ्नै निकटका र माधव नेपाल समूहबाट दबाब बढेको थियो । उनले आइतबार दिनभर आफूले कुनै सहमति नगरेको प्रष्टीकरण दिएका थिए ।

प्रकाशित : श्रावण ५, २०७७ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्

उर्लियो नारायणी, खतराको तह पार गर्‍यो

रमेशकुमार पौडेल

चितवन — लगातारको वर्षापछि बाढी उर्लेर आउँदा नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । सोमबार मध्यान्ह खतराको तह पार भएसँगै चितवन जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर नदी आसपासको क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन अपिल गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निरन्तर वर्षा भइरहेका कारण सबैलाई सजग रहन अनुरोध गरेका छन् ।

जलमापन केन्द्र देवघाटबाट प्राप्त विवरणअनुसार देवघाटनजिक नारायणी नदीको सतह आठ दशमलव ५१ मिटर पुगेको छ । सात दशमलब तीन मिटर तह पार गरे चेतावनी तह र आठ मिटर पार भए खतराको तह पार गरेको मानिन्छ । नारायणगढ पुल नजिक भने पानीको सतह चेतावनी विन्दुमा छ । नारायणी पुलनजिक भने नदीको सतह ११ दशमलव ७२ मिटर पुगेको छ । पुल नजिक नारायणी नदीको तह ११ मिटर पार भए चेतावनीको तह नाघेको मानिन्छ ।

जलस्तर बढ्दो क्रममा नै रहेको छ । नारायणी नदीमा बाढी आउँदा पश्चिम चितवनको मंगलपुर, गुञ्जनगर, दिव्यनगर र मेघौलीमा कटान र डुबानको खतरा रहन्छ । मेघौली नियरेचोकमा यसअघि असार अन्तिममा आएको बाढीले नदीको तटबन्धसमेत भत्काएको थियो । नवलपुर क्षेत्रमा पनि जोखिम बढेको छ ।

प्रकाशित : श्रावण ५, २०७७ १४:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×