कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कतारमा रहेका नेपाली कामदारको प्रश्‍न : कहिले स्वदेश फर्किन पाइन्छ ? 

दूतावास भन्छ : सरकारले सहयोग नगरेका कारण समयमै नेपाल पठाउन सकिएन 
जनकराज सापकोटा

काठमाडौँ — ठूलो संख्यामा खाडी देशमा अलपत्र परेका कामदारलाई समयमै स्वदेश ल्याउने प्रक्रिया नथालिँदा खान बस्नकै समस्या हुने कामदारहरुको संख्या बढ्दै गएको छ । परराष्ट्र मन्त्रालयले समयमै पहल नचाल्दा आफ्नै खर्चमा विमान चार्टर गर्न तयार भएका कम्पनीहरुले पनि कामदारहरु पठाउन सकिरहेका छैनन् ।

कामबाट निकालिएका र रोजगारदाता नै सम्र्पकमा नभएर बेखर्ची बनेका कामदार न त आफ्नै पैसामा स्वदेश फर्किन सक्ने अवस्थामा न त उनीहरुलाई दूतावासले नै समन्वय गरेर अप्ठ्यारो फुकाइदिने काम गरेको छ ।

कतारमा अलपत्र परेका एक कामदारले टेलिफोन कुराकानीमा आफूहरुको ३ महिनादेखि कामविहीन भएको र आफ्नो समस्याबारे दूतावासले कुनै सुनवाइ नगरेको बताए । ती कामदारले आफूले काम गरेको बेलाको तलब पनि कम्पनीले नदिएको र दूतावासले तलब दिलाइदिन र आफूहरुको उद्धार गरिदिन कुनै पहल गरेको बताए । ती कामदारले भने, ‘हिजोआज त दूतावासले न हाम्रो फोन नै उठाउन छाडिसक्यो ।’

नरेशबहादुर भण्डारी, यज्ञबहादुर खड्का र लिनबहादुर भण्डारीले जेठ ३२ गते दूतावासमा लिखित निवेदन दिएर आफूहरुको उद्धार गरिदिन अनुरोध गरेको देखिन्छ । उनीहरुले आफूहरु काम गर्ने होटल बन्द भएको, साहु सम्पर्कबाहिर रहेकाले तीन महिनादेखि सँगै काम गर्ने अन्य तीन बंगालादेशी कामदारसहित ६ जना एउटै कोठामा बसिरहेको उल्लेख छ । कान्तिपुरको सम्र्पकमा आएका उनीहरुले ५ महिनायता आफूहरुले काम गर्ने हनाई रेस्टुरेन्टबाट कुनै तलब पनि नपाएको र एकाध पटक दूतावासले दिएको राहत खाद्यान्नकै भरमा गुजारा गरिरहेको बताए । उनीहरुले पछिल्लो समय दूतावासले आफूहरुको फोन नै उठाउन छाडेको गुनासो सुनाए । एक कामदारले भने, ‘हिजोआज त दूतावासले फोन नै उठाउन छोडिसकेको छ ।’

कान्तिपुरसँगको कुराकानीमा कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले प्राथमिकताका आधारमा कामदार नेपाल फर्काउने क्रम जारी रहेको र अहिले पनि तीन/चार महिनाअघि नै निवेदन दिएकै कामदार पठाउन नसकिएको बताए । उनले नेपालबाट आउने न्यारो बडीका विमानले एक पटकका एक सय ५० मात्रै यात्रु लैजाने र पछिल्लो १० दिनमा ६ वटा मात्रै उडान भएकाले धेरैलाई स्वदेश पठाउन नसकिएको बताए ।

राजदूत भारद्वाजका अनुसार अहिले कतारस्थित नेपाली दूतावासमा स्वदेश फर्किन चाहने झण्डै १२ हजारको निवेदन परेको छ । कतिपय कम्पनीले आफ्नै खर्चमा चार्टर विमानबाट कामदारहरु नेपाल पठाउन तयार भएको बताए पनि नेपाल सरकारबाट अनुमति नपाउँदा त्यो सम्भव नभइरहेको बताए । उनले भने, ‘अहिलेसम्म ६ वटा कम्पनीले चार्टर विमानबाट त्यहाँ कार्यरत नेपाली कामदारलाई नेपाल पुऱ्याउन तयार छु भनेर निवेदन दिएका छन् । ती कम्पनीले झण्डै ३२ सय कामार लैजाने देखिन्छ ।’

उनले आफूहरुले अनुमान गरेभन्दा ठूलो संख्यामा नेपाली कामदारहरु स्वदेश फर्किन तयार भएकाले पनि सबैलाई समयमा पठाउन नसकिएको बताए । उनले भने, ‘कोरोनाको प्रभाव घटे पनि सबै कम्पनीहरु सञ्चालनमा आएका छैनन् । त्यसैले ठूलो संख्यामा कामदारहरुलाई घर पठाउनुपर्ने देखिन्छ ।’


प्रकाशित : श्रावण ५, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?