भौतिक र सामाजिक दूरी कायम गर्दै पशुपतिनाथ खोल्ने तयारी

साउन दोस्रो सोमबारबाट खुल्न सक्छ : सदस्य–सचिव
गणेश राई

काठमाडौँ — पशुपति क्षेत्र विकास कोषले यही साउन दोस्रो सोमबारबाट दर्शन खुला गर्नसक्ने जनाएको छ । हिन्दु धर्मावलम्बीका निम्ति साउनभरि व्रत बस्ने र सोमबार महादेवको दर्शन गर्ने परम्परा रहेको छ । श्रद्धालु भक्तजनलाई दर्शनका निम्ति आवश्यक प्रोटोकल निर्माण गरी तयारी अवस्थामा रहेको कोषका सदस्य–सचिव प्रदीप ढकालले जनाएका छन् ।

भौतिक र सामाजिक दूरी कायम गर्दै पशुपतिनाथ खोल्ने तयारी

कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन जारी भएको लकडाउनयता पशुपतिनाथको मूल मन्दिरमा दैनिक नित्य पूजा मात्र हुँदै आएको छ । त्यसैगरी पशुपति वाग्मती आरती सेवा समितिले आर्यघाट पारिपट्टि हरेक दिन सन्ध्याकालीन आरती जारी राखेको छ ।

‘सरकारले निर्धारण गरेको प्रोटोकलको तयारी भइसकेको छ,’ सदस्य–सचिव ढकाल भन्छन्, ‘सरकारले निर्देशन दिएमा सामाजिक तथा भौतिक दूरी कायम गरे दर्शन गर्नसक्ने व्यवस्थाको तयारी गरेका छौं ।’

कोषले मन्दिरको बाहिरी ढोकादेखि भित्रको मुख्य मन्दिरसम्म जाने र फर्किने अलग अलग र्‍याम्प विस्तार गरेको छ । भक्तजनलाई फूल प्रसाद नलिई भौतिक दूरी कायम गर्दै मूल मन्दिरको र्‍याम्पबाट दर्शन गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ । मन्दिर बाहिर केही ठाउँमा हात धुने ठाउँ र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

‘स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा हो, त्यसैले श्रद्धालु भक्तजनहरू स्वयं सचेत हुन जरुरी छ,’ ढकाल भन्छन्, ‘उहाँहरू (भक्तजन)ले विषम परिस्थितिलाई ख्याल गरेर धेरै भीडभाड नगर्ने, सुरक्षाका निम्ति अपनाइएका विधिहरूको पालना गर्नै पर्ने हुन्छ ।

प्रकाशित : श्रावण ५, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?