जबर्जस्ती बाटो खन्दा बस्तीमा पहिरो

३ जनाको मृत्यु, ८ घर विस्थापित
दीपक परियार

पोखरा — पोखरा लामाचौरकी लक्ष्मी विक शुक्रबारदेखि अचेत छिन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराकोमुखमा त्यही दिन बिहान आएको पहिरोले उनकी १६ वर्षीया छोरी रेजिनालाई पुर्‍यो । साथमै सुतिरहेका १६ वर्षीय कुशल विक र १२ वर्षीय समीर विकले पनि ज्यान गुमाए । छोरी गुमाएको खबर सुनेदेखि अचेत भएकी लक्ष्मी घरीघरी ब्युँझन्छिन् । ब्युँझिँदा रुवाबासी चल्छ । रुँदारुँदै फेरि अचेत हुन्छिन् ।

जबर्जस्ती बाटो खन्दा बस्तीमा पहिरो

खोराको मुख पाखामा झुरुप्प छ, दलित बस्ती । जहाँ १६ दलित, २ गुरुङ र १ ब्राह्मणको घर छ । बस्तीको सबैभन्दा माथिपट्टि छ प्रेमराज विकको घर । रक्त क्यान्सरले ५ वर्षदेखि थलिएका उनी श्रीमती, कान्छा छोरा खेमराज, बुहारी मीठु, नाति समीर र शिवसँग बस्दै आएका थिए । जेठो छोरा छुट्टिएर लामाचौर र माइलो छोरा हेमजामा बस्दै आएका छन् । जेठो छोराबुहारी हीरालाल र लक्ष्मीकी छोरी रेजिना लकडाउनयता धेरै समय बाजेबज्यैसँगै बसिन् । साउने संक्रान्तिको ५ दिनअघि मात्रै हेमजाबाट गएका थिए माइलो छोरा कृष्णबहादुरका छोरा कुशल । सानो छोरा शिवलाई लिएर कान्छी बुहारी मीठु संक्रान्तिको अघिल्लो दिन नै माइत हिँडेकी थिइन् । छोरा घरमा थिएनन् । संक्रान्तिमा नातिनातिना भेला भएपछि प्रेमराजको घरमा उल्लास थियो ।

सेलरोटीलगायत मीठोमसिनो खाएर प्रेमराज, उनकी श्रीमती र पाहुना आएकी साली मूलघरमा सुते । अर्कोपट्टि कोठीमा तीन नातिनातिना सुते । भोलिपल्ट बिहान साढे ५ बजेतिर एक्कासि ठूलो आवाज आयो । श्रीमती र सालीलाई उठाएर प्रेमराज बाहिर निस्किए । घरमाथिबाट पाखुरीको मुढो गुल्टिँदै आएको देखे । उनी चिच्याउन नपाउँदै ढुंगामुढासहितको पहिरो नातिनातिना सुतेको कोठीमा खस्यो । घरको काठ खसेर उनलाई आँगनतिर हुत्याइदियो । सुतिरहेका तीन नातिनातिनाले बिहान देख्न पाएनन् । प्रेमराजका आँखैअघि उनीहरुलाई पहिरोले पुर्‍यो ।

उनले लगत्तै चिच्याएर गुहार मागे । छिमेकी आइहाले । एकातिर दर्कंदो पानी, त्यसमाथि ढुंगा, माटो, काठपात हटाएर पुरिएकाको उद्धार गर्न कठिन भयो । ‘मान्छेले खोतल्दा–खोतल्दै केही सीप लागेन । पछि डोजर ल्याएर निकालेछन् । मलाई केही थाहा भएन,’ नातिनातिनाको किरियाकर्म उम्काउन जेठो छोराको घरमा रहेका उनले भने, ‘मर्न पर्ने मरिएन, बाँच्नुपर्ने मान्छे मरे ।’

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराकोमुखमा शुक्रबार खसेको पहिरोमा पुरिएर निधन भएकी १६ वर्षीया रेजिना विककी आमा लक्ष्मी अचेत अवस्थामा । तस्बिर : दीपक परियार/कान्तिपुर

रेजिनाको पढाइ तेज थियो । ब्रिज कोर्स गरेर नर्सिङ पढ्छु भन्थिन् । १० मा पढ्दै गरेका कुशल पनि टाठा थिए । बुढा बाजेबज्यैलाई भेट्न नातिनातिना विद्यालय छुट्टी हुनेबित्तिकै आफू जन्मेको घर पुगिहाल्थे । घरभरि केटाकेटी हुँदा प्रेमराजको आधा रोग त्यसै निको हुन्थ्यो । अहिले ती नातिनातिनाको तस्बिर मात्रै उनीसँग छ । तीन बुहारी त्यही तस्बिर हेर्दै डाँको छोड्छन् । माइली बुहारी लक्ष्मी शनिबार रुँदारुँदै बेहोस भएपछि अस्पताल नै लैजानुपर्‍यो ।

यसरी मोडियो सडक

आर्थिक वर्ष २०७५/७६ मा खोराकोमुख–ठुटुंगे–ल्वाङ ग्रामीण सडकको योजना बन्यो । यस क्षेत्रका संघीय सांसद एवं युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बाटो खन्न निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमबाट १५ लाख रुपैयाँ छुट्याए । नेकपाका स्थानीय नेता जगन्नाथ बाँस्तोलाको पहलमा बाटो निर्माण उपभोक्ता समिति बन्यो । ओमप्रसाद गुरुङको अध्यक्षतामा बनेको समितिमा डण्डपाणि चापागाइँ उपाध्यक्ष र ऋषि गौतम सचिव थिए । समितिमा प्रेमराज सदस्य थिए ।

समितिले दुई वर्षअघि झन्डै दुई किलोमिटर बाटो खन्यो । डेढ किलोमिटरअघि गएपछि आउने दलित बस्तीको ठ्याक्कै माथि दुईवटा घुम्ती बन्यो । गाउँपालिकाका प्राविधिकले ग्रेड नमिलेकाले थोरै तलबाट लैजानुपर्ने बताए । त्यसपछि नेता बाँस्तोला, समितिका उपाध्यक्ष चापागाइँ, सचिव गौतम, शिक्षक कृष्ण चापागाइँलगायतले आफ्नो घरपायक हुने गरी बाटो विपरीत दिशातर्फ सोझ्याए । उनीहरूले जताजता भने चालकले डोजर उतैउतै चलाए । त्यसो गर्दा बस्तीमाथि फेरि अर्को बाटो बन्यो । प्राविधिकले सर्भे गरेको भन्दा फरक बाटो नबनाउन आफूहरूले पटक–पटक आवाज उठाएको प्रेमराज बताउँछन् । ‘मलाई कोरम पुर्‍याउन मात्रै सदस्य बनाए, त्यतिबेला मेरो कुराको कुनै सुनुवाइ भएन,’ उनले भने, ‘त्यो बाटो नखन भन्दाभन्दै खने, आज मेरा नातिनातिना खायो ।’ दलित बस्तीलाई हेपेरै जथाभावी बाटो बनाउँदा आफ्ना कलिला नातिनातिनाले ज्यान गुमाउनुपरेको उनको आरोप छ । प्राविधिकले भन्दा समेत उनीहरूले अटेर गरेको प्रेमराजले बताए ।

टाठाबाठाले बाटो घुमाउँदा विपत्ति परेको आसबहादुर विक बताउँछन् । अर्का स्थानीय खेमबहादुर विकका अनुसार बाटो खन्ने बेला माटो थुप्रिएको थियो । उक्त थुप्रिएको माटो बग्न नदिन रूखको मुढा तेर्स्याएर राखिएको थियो । तिनै मुढासहित थुप्रिएको माटो खसेर प्रेमराजको घर पुरेको हो । पहिरोले उनीसहित ८ परिवार विस्थापित भएका छन् । २ परिवारलाई वडाले सामुदायिक भवनमा राखेको छ । अन्य ६ घरले आफन्तकामा शरण लिएका छन् ।

उजुरी दिने तयारी

प्रेमराज नातिनातिनाको काजकिरिया सकिएपछि पाँचै जनाविरुद्ध उजुरी दिने तयारीमा छन् । ‘सुनुवाइ होला नहोला, मेरो सर्वस्व खोस्नेहरू विरुद्ध म कानुनी लडाइँ लड्छु,’ उनले भने, ‘न्याय पाए ठीकै छ, नत्र उनीहरूकै खुसी गरुन् ।’

नेता बाँस्तोलाले आफ्नो घरतिरबाट उक्त बाटो लैजान कुनै आवश्यकता नरहेको दाबी गरे । ‘मैले यताबाट लैजानुपर्छ भनेर दबाब दिएको थिइनँ,’ उनले भने, ‘सबैको मञ्जुरीमै खनिएको हो ।’ वडाध्यक्ष कृष्ण दवाडीले बाटो खन्दा थुप्रिएको माटो खसेरै घर पुरिएको स्वीकारे । बाटो खनेपछि गाउँपालिकास्तरको अनुगमन टोलीमा वडा सदस्यलाई पठाएको उनले बताए । ‘अनुगमनमा जाँदा ठूलो क्षति हुने जस्तो थिएन,’ उनले भने, ‘त्यहाँबाट कुनै गुनासो पनि आएन । सबै काम समितिले नै गरेको हो ।’ उपभोक्ता समिति अध्यक्ष गुरुङसँग भने फोन सम्पर्क हुन सकेन ।

प्रकाशित : श्रावण ५, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?