सिद्धार्थ विकास बैंकका पूर्व सञ्चालक सिलवाल पक्राउ



काठमाडौँ — बैंकिङ कसुरको अभियोगमा फरार रहेका सिद्धार्थ विकास बैंकका तत्कालीन सञ्चालक मधुसुदन सिलवाल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिलवाललाई आइतबार पक्राउ गरेको हो । तत्कालीन किष्ट बैंक र सिद्धार्थ विकास बैंकका सञ्चालकको मिलेमतोमा जम्को प्रकाशनमा गरिएको शंकास्पद लगानीमा सिलवाल तानिएका थिए ।
२०७० असारमा पक्राउ परेर धरौटीमा छुटेका भक्तपुर बालकोटका सिलवाललाई उच्च अदालत पाटनले उक्त हिनामिना प्रकरणमा दोषी ठहर्याउँदै ३ वर्ष कैद र १ करोड रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि ५६ वर्षीय सिलवाल फरार थिए । सीआईबीका डीआईजी सहकुल थापाले सिलवाललाई फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको बताए ।
प्रकाशित : श्रावण ४, २०७७ २०:३६