कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मेलम्ची सुरुङको गुणस्तरमाथि प्रश्‍नैप्रश्‍न

आयोजनाले सुरुङका ढोका र त्यसमा प्रयोग भएको फलामको जाँच गर्ने
ऋषिराम पौड्याल

काठमाडौँ — सुरुङमा पानी पठाएर परीक्षण गर्दैगर्दा मंगलबार ढोकाको एक भाग पूरै खुलेपछि पूरा हुनै लागेको मेलम्ची खानेपानी आयोजनाको डिजाइन र गुणस्तरमाथि प्रश्नैप्रश्न तेर्सिएका छन् । करिब ५० मिटर उचाइको पानीको प्रेसर थेग्ने गरी सुरुङको ढोका डिजाइन गरिएको थियो । तर १६ मिटर पनि थेग्न सकेन ।

मेलम्ची सुरुङको गुणस्तरमाथि प्रश्‍नैप्रश्‍न

ढोकामा जडान गरिएका फलामका ३२ वटा ‘नटबोल्ट’ हरू कुनै फुस्किए, स्लिप खाए र कुनै भाँचिएका थिए ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका एक अधिकारीले यसलाई सुरुङ र त्यसको संरचनाको विदेशी विशेषज्ञद्वारा पूर्णरूपमा जाँच नगरी हतारमा ‘टेस्ट’ गर्दाको परिणामको रूपमा हेरिएको बताए । परीक्षण गर्ने बेलामा आयोजनाको मुख्य प्राविधिक जिम्मेवारी पाएको कन्सल्ट्यान्ट टिम लिडर नेपालमै थिएनन् । उनको अनुपस्थितिमा कम्पनीको डेपुटी टिम लिडरका रूपमा शिवकुमार शर्मा छन् । कन्सल्ट्यान्ट र ठेकेदारले सुरुङका विशेषज्ञहरूलाई अनुगमन गराएर उनीहरूको सिफारिसमा परीक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्नुलाई पनि एउटा त्रुटि मान्न सकिने मन्त्रालयका प्राविधिक बताउँछन् । ‘हामीले सहजीकरण गर्ने हो,’ आयोजनाका एक इन्जिनियरले भने, ‘धेरै काम कन्सल्ट्यान्टको सिफारिसमा गरिन्छ ।’ सुरुङमा पानी पठाउने निर्णय ठेकेदारको प्रस्ताव र कन्सल्ट्यान्टको सिफारिसमा आयोजनाले गरेको हो ।

आयोजनाको हेलम्बु मुहानबाट सुन्दरीजलसम्म २७ किमि सुरुङको अम्बाथान, ग्याल्थुम र सिन्धु अडिटको मुखमा यही प्रकृतिका तीनवटा ढोका छन् । सुन्दरीजलमा यस्तै प्रकृतिको अर्को ढोका छ । यसबाहेक इन्टेकसमेत सुरुङका ठाउँठाउँमा सानाठूला गरी ३४ वटा ढोका छन् । अब सबै ढोकाहरूको जाँच गरेपछि मात्र सुरुङमा पानी परीक्षण गर्नुपर्ने भएको छ । सुरुङको डिजाइन, गुणस्तर र ढोका जडान गर्ने तरिकामाथि प्रश्न उठेपछि आयोजनाले स्पेनको कन्सल्ट्यान्ट इपिसाको मुख्य प्रतिनिधि, ढोका डिजाइनर र सप्लायर भारतीय कम्पनीलाई झिकाउने निर्णय गरेको छ ।

आयोजनाका कार्यकारी निर्देशक त्रिरेस खत्रीले ढोका र त्यसमा प्रयोग भएको फलामको गुणस्तर जाँच गरिने बताए । ‘त्यसपछि मात्र टेस्ट गर्छौं,’ उनले भने । आयोजनाले ढोकाको डिजाइन, निर्माण र जडान गर्ने जिम्मा भारतीय कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडलाई दिएको थियो । ‘लकडाउनका कारण ढिलाइ भए पनि कम्पनीका प्रतिनिधिले मंगलबारसम्म आउने बताएका छन्,’ खत्रीले जानकारी दिए । हाइड्रो मेकानिकको सबै काम प्रेसिजनलाई जिम्मेवारी दिएकाले यता आयोजनाको डाटा हेरेर उतैबाट सामान बनाएर ल्याउने गरिएको थियो ।

हाइड्रो मेकानिकल इन्जिनियर खेम पुनका अनुसार सुरुङमा यस्ता प्रकृतिका ढोकाहरू जडान गर्दा नटबोल्टमा पानीको प्रेसर नपर्ने गरी डिजाइन गर्नुपर्छ । ‘पानीको प्रेसर भौतिक संरचनामा पर्ने गरी डिजाइन गर्नुपर्छ,’ उनले भने, ‘ढोका बाहिर होइन भित्र खुल्ने गरी जडान गर्नु उपयुक्त हुन्छ ।’ उनले ढोका खुल्ने बेलामा ठूलो आवाज आउनुले कतै हावा भरिएर निकास खोजेको हो कि भन्ने अनुमान गर्न सकिने बताए । सुरुङमा पानी पठाउँदा सन्तुलन नमिल्दा हावा जम्मा (एयर ट्रयाप) भएर त्यसले निकास खोज्ने र त्यसले ढोकामा बढी प्रेसर पर्न सक्ने उनको भनाइ छ । घटनामा सुरुङको पानीले बगाएका एक कर्मचारी अझै बेपत्ता छन् ।

स्थानीयले भने भविष्यमा हुन सक्ने दुर्घटना रोक्न आयोजनाका सबै संरचनाको गुणस्तर जाँच गर्नुपर्ने बताउँदै आएका छन् । मुहान क्षेत्र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निष्पक्ष व्यक्तिहरू रहेको छानबिन समिति बनाउन माग गरेका छन् । उनले यति ठूलो सुरुङबाट पानी लैजाने विषयलाई कुलोजस्तो नसम्झिन आग्रह गरे । ‘सुरुङ आसपासका स्थानीयको जीउधनको सुरक्षा हुनुपर्छ,’ उनले भने ।

यसैबीच, मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको संयोजनमा गठन गरेको प्राविधिक टोलीले मुहान क्षेत्रको अवलोकन गरेर छानबिन सुरु गरेको छ । टोलीले शुक्रबार खानपानी मन्त्री बिना मगर, सचिव माधव बेल्बासे र आयोजना प्रमुख खत्रीसहितको उपस्थितिमा घटनाको प्रारम्भिक जानकारी गराएको छ । संयोजक दुवाडीले कन्सल्ट्यान्ट, ठेकेदार कम्पनीसँगको डकुमेन्ट संकलन भइरहेको बताए । करिब २९ अर्ब खर्च भइसकेको आयोजनाको निर्माण सुरु भएको २० वर्ष नाघेको छ । यस अवधिमा सुरुङ बनाउने दुइटा ठेकेदार कम्पनी परिवर्तन भएका छन् । अहिले तेस्रो कम्पनीका रूपमा चीनको सिनो हाइड्रोले काम गरिरहेको छ ।

पानी ल्याउने दबाबले हतार

मेलम्चीको पानी राजधानी ल्याउने विषय एकादेशको कथा भएको भन्दै आलोचना हुन थालेपछि सरोकारवाला निकायलाई छिट्टै काम सक्नुपर्ने दबाब रहेको आयोजनाका एक कर्मचारीले बताए । ‘प्रतिनिधिसभाको विकास समिति, मिडिया र सर्वसाधारणले मेलम्चीको पानी राजधानी ल्याउने कहिले भन्दै निरन्तर दबाब दिइरहेको अवस्थामा छिटो गर्न खोजेको पक्कै हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर यसको अर्थ प्राविधिक सल्लाहविपरीत काम गर्नु भनेको चाहिँ होइन ।’

सुरुङ निर्माणका लागि २००९ मा चाइना रेल–वे १५ ब्युरो ग्रुप जेभीले सुरु गरेको काम पूरा नगरेपछि ०७० सालमा सम्झौता तोडेर इटालियन कम्पनी (सीएमसी) लाई ठेक्का दिइयो । तर ०७५ पुस १ मा उक्त कम्पनीले एकतर्फी रूपमा सम्झौता तोड्यो । त्यसपछि ०७६ असोजमा चाइनाको सिनो हाइड्रो कम्पनीलाई सुरुङ निर्माणको जिम्मेवारी दिइयो । हेडवक्र्सको कामा १५ महिनामा पूरा गर्ने गरी सम्झौता गरिएको थियो । हाल सोही कम्पनीले काम गरिरहेको छ । यद्यपि सुरुङका धेरै काम सीएमसीले नै गरिसकेको थियो ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार सुरुङको काम लगभग ‘फिनिसिङ’ मात्र बाँकी रहेको अवस्थामा सिनोले टेन्डर सकारेको हो । ‘टेस्ट गर्ने तालिका त वैशाखमै थियो,’ पन्तले भने, ‘लकडाउन र अन्य विषयहरूले यसका प्रभाव पार्दा समय सरेको हो ।’ छिट्टै गर्नका लागि मात्र अहिले टेस्ट गरिएको भन्ने सत्य नभएको जिकिर उनले गरे । आयोजनाले हाल पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने योजना छ । दोस्रो चरणमा भने सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी ३४ करोड लिटर थप गर्ने योजना छ ।

प्रकाशित : श्रावण ४, २०७७ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?