कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

छाङरुमा १७ वर्षपछि सरकारी खाद्यान्‍न

‘यहाँ नेपाली बस्दा रहेछन् भन्ने सरकारले बल्ल थाहा पाएजस्तो लाग्यो’
मनोज बडू

छाङरु, दार्चुला — छाङरुका बासिन्दाले दैनिक उपभोग्य वस्तुका लागि भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता छ । लकडाउनसँगै भारत र चीनपट्टिका नाका बन्द गरिएपछि भने स्थानीय सौका समुदायलाई हातमुख जोर्नै समस्या आइलाग्यो । नेपाली बजारबाट खाद्यान्न ल्याउन बाटो छैन ।

छाङरुमा १७ वर्षपछि सरकारी खाद्यान्‍न

जब चामल बोकेर हालै हेलिकप्टर छाङरु पुग्यो, त्यहाँका बासिन्दामा खुसीको सीमा नै रहेन । ‘बल्ल नेपाली नागरिक भएको अनुभूति भयो,’ स्थानीय नन्दनसिंह बोहराले भने ।

व्यास गाउँपालिकाका छाङरु र टिंकर गाउँ दार्चुला सदरमुकामबाट क्रमश: २८ र ३२ कोस दूरीमा छन् । ‘हामीलाई सरकारले हेरेको थिएन । हामी गर्ब्याङ बजारबाट रासन लिएर परिवारको पेट भर्थ्यौं,’ छाङरुका बोहराले भने, ‘तर लकडाउन भएपछि भारत र चीनका नाका बन्द भए । कतैबाट रासन ल्याउन पाएका छैनौं ।’

गत वर्षसम्म स्थानीय बेंसीबाट फर्कने बेला ६ महिनाका लागि खाद्यान्न सँगै लगेर उक्लिने गरेका थिए । यो वर्ष कोरोनाका कारण लकडाउन भएपछि एक महिना ढिला गरी व्यासतिर कुञ्चा (बसाइँ) सरे तर खाद्यान्न लैजान पाएनन् । छाङरु र टिंकर गाउँका लागि व्यास गाउँपालिकाको पहलमा दुई सय क्विन्टल चामल हेलिकप्टरमा पुर्‍याएको हो ।

सरकारले छाङरु र टिंकर गाउँका लागि ०६० सालसम्म बर्सेनि ३ सय क्विन्टल चामल ढुवानी गर्दै आएको थियो । घोडेटो राम्रो हुनाले चामल नियमित ढुवानी हुन्थ्यो । सशस्त्र द्वन्द्व चर्किएपछि सरकारले खाद्य संस्थानको बिक्री केन्द्र बन्द गरिएको थियो । १७ वर्षअघि स्थानीयले खाद्य संस्थानको चामल ३१ रुपैयाँ किलोका दरले किन्थे । सरकारले १७ वर्षपछि गत आइतबारबाट त्यस क्षेत्रमा चामल लगेको हो । ‘हेलिकप्टरबाट धेरै वर्षपछि चामल आएको छ,’ स्थानीय लालमती बोहराले भनिन्, ‘सरकारले हामीलाई बिर्सिसके जस्तै थियो । व्यासमा पनि नेपाली बस्दा रहेछन् भन्ने बल्ल थाहा पाएजस्तो लाग्यो ।’

५१ रुपैयाँ किलोमा चामल

सरकारले व्यासका गाउँसम्म चामल ढुवानीमा प्रतिकिलो २ सय ४९ रुपैयाँ ९८ पैसा अनुदान दिएको छ । त्यसैले स्थानीयले किलोको ५१ रुपैयाँमा चामल किन्न पाएका छन् । हेलिकप्टरबाट ढुवानी गरिएको चामल वडा कार्यालयको जिम्मा लगाएर बिक्री भइरहेको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिए । उनका अनुसार व्यास गाउँपालिकाको केन्द्र सुन्सेरामा पनि छाङरु र टिंकरकै मूल्यमा चामल बिक्री भइरहेको छ ।

सरकारले दार्चुलाको व्यास–१, छाङरु ल्याइपुर्‍याएको चामल बोकेर घर लैजाँदै स्थानीय । तस्बिर : मनोज बडू/कान्तिपुर

व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले छाङरुमा प्रतिपरिवार ९० किलोग्राम कोटा तोकिएको जानकारी दिए । छाङरुमा १ सय १९ र टिंकरमा ७० घरधुरी सौका समुदायको बसोबास छ । छाङरु र टिंकरमा रहेका प्रहरी र सशस्त्र प्रहरीका लागि यसअघि हेलिकप्टरमार्फत नै खाद्यान्न ढुवानी गरिएको थियो ।

छाङरु र टिंकर गाउँमा एक/एक सय क्विन्टल चामल हेलिकप्टरमार्फत ढुवानी गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेतस्थित प्रादेशिक प्रमुख भीमबहादुर थापाले बताए । प्रतिस्पर्धाका आधारमा निजी हवाई कम्पनी माउन्टेन एयरले सस्तो दरमा छाङरु र टिंकर गाउँमा चामल ढुवानी गरेको उनको भनाइ छ । तोकिएको चामलको ढुवानी शुक्रबारसम्ममा सकिएको छ । हेलिकप्टरमार्फत दुई सय क्विन्टल चामल ढुवानी गर्न झन्डै ५० लाख रुपैयाँ खर्च भएको छ । सुर्खेतबाट दार्चुला सदरमुकामसम्म गाडीबाटै ढुवानी गरिएको चामल यहाँबाट छाङरु र टिंकर गाउँसम्म हेलिकप्टरबाट लगिएको हो ।

गाउँपालिका अध्यक्ष बुढाथोकीसँग स्थानीयले चामलले मात्र नपुग्ने भन्दै दाल, नुन, तेल, पिठो, चिनीलगायत पनि गाउँमै आपूर्ति गराउन र सदरमुकाम जोड्ने बाटो छिटो खुलाउन माग गरेका छन् । ‘पारि भारतका नागरिकले जस्तै हाम्रो सरकारले नुन, तेल, दाललगायत सबै चिज स्थानीयस्तरमै व्यवस्था गरिदिनुपर्छ,’ लालमतीले भनिन्, ‘हामी सीमा रक्षा गर्न सैनिकजस्तै बसेका छौं । सरकारले न्यूनतम सेवासुविधा गाउँमै उपलब्ध गराउनुपर्छ ।’

अस्पताल र उपचार सुविधाको माग

जिल्लाकै विकट गाउँ छाङरुमा बिरामीको उपचारका लागि सधैं समस्या हुने गरेको छ । गाउँमा स्वास्थ्य चौकी भए पनि औषधि र चिकित्सक अभावले भारतको भर पर्ने स्थानीयलाई लकडाउनले झन् समस्या भएको छ । गाउँमा गम्भीर बिरामी परे मर्नुको विकल्प नरहेको स्थानीयको गुनासो छ ।

दार्चुलाको व्यास–१, छाङरुमा चामल पुगेपछि वितरणबारे छलफल गरिँदै । तस्बिर : मनोज बडू/कान्तिपुर

‘स्वदेशको बाटोमार्फत अस्पताल जाने बाटो छैन । भारत जान नाका बन्द छ,’ स्थानीय वासुदेव ऐतवालले भने, ‘सरकारले सीमा क्षेत्रका बासिन्दाका लागि बाह्रै महिना विशेषज्ञ डाक्टर, पर्याप्त औषधि र स्वास्थ्य उपकरणको व्यवस्था गरिदिनुपर्छ ।’ उपचारका लागि आकस्मिक अवस्थामा बाहिर जानुपरे सरकारले हेलिकप्टर व्यवस्था गरिनुपर्ने स्थानीयको माग छ ।

छाङरुमा १० देखि १५ शय्याको अस्पताल खोल्ने निर्णय गरेर तीन महिनाअघि संघीय सरकारलाई जानकारी गराएको व्यास गाउँपालिकाले जनाएको छ । यसअघि यहाँको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सामान्य किसिमको उपचारका लागि भारततिर जानुपर्थ्यो । यो वर्ष गाउँपालिकाले अहेव खटाएको छ ।

प्रकाशित : श्रावण ४, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?