२४ घन्टामा थपिए १०१ जना कोरोना संक्रमित, २८५ डिस्चार्ज- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घन्टामा थपिए १०१ जना कोरोना संक्रमित, २८५ डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकमा थप १०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

उनका अनुसार सोही अवधिमा २८५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ११ हजार ५३४ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । यो ६६ दशमलब १२ प्रतिशत हो ।

नेपालमा संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काेराेनाबाट थप एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीको राजविराज नगरपालिकाका ७३ वर्षीय वृद्ध भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । याेसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

जिल्लागत तथ्यांकअनुसार संक्रमित हुनेमा सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका १, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, बाराका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौटहटका ८, सिन्धुलीका १, काभ्रेपलाञ्चोकका १, काठमाडौं १, पाल्पाका १, लमजुङका २२, तनहुँका ७, बर्दियाका १०, दाङका ५, रोल्पाका १३ ,रुपन्देहीका १, सल्यानका १, रुकुम पश्चिमका १, डडेलधुराका १, बझाङका १ र डोटीका १ जना रहेका छन् ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ९८ हजार ८२९ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ४ हजार ६ सय ८८ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार ७५६ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ८७१ जना रहेको छ ।

हालसम्ममा आरटी पीसीआर विधिबाट ३ लाख ८ हजार ४९८ परीक्षण गरिएको छ ।

प्रकाशित : श्रावण २, २०७७ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्

गणेश थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार

कान्तिपुर संवाददाता

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले समाचारको विषयलाई लिएर पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।

गणेश थापा । फाइल तस्बिर

उनीहरुले हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनालाई बिहीबार गालीगलौज र अभद्र व्यवहार गरेका हुन् । सामाचारका लागि फोनमा वार्ता गर्ने क्रममा गणेश थापाले दुर्व्यवहार गरेका थिए भने उनका छोरा अभिषेकले उक्त अनलाइनको थापाथलीस्थित कार्यालय परिसरमै पुगेर दुर्व्यवहार गरेका थिए । ‘घटनाको जति निन्दा गरेपनि कम नपुग्ने’ भन्दै नेपाल खेलकुद पत्रकार मञ्चले विज्ञप्ति जारी गर्दै शुक्रबार भर्त्सना गरेको छ ।

दुई दशक बढी एक्लौटी रुपमा एन्फा चलाएका गणेश थापालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले भ्रष्टाचारको अभियोगमा सन् २०१५ मा दश वर्षको लागि प्रतिबन्धसँगै २० हजार स्वीस फ्रयांक जरिवाना गरेको थियो । स्वदेशमै पनि उनलाई एन्फाको ५८ करोड रुपैयाँ बढीमा आर्थिक अनियमितता गरेको आरोप लागेको थियो । उजुरीलाई पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राख्ने निर्णय गरेको थियो । बुबा एन्फाको अध्यक्ष हुँदा बंगलादेश फुटबल महासंघलाई दिएको १५ लाख रुपैयाँ पेस्की फछ्र्यौटको लागि अभिषेकले बुझाएका थिए ।

याे पनि पढ्नुहाेस् :

प्रकाशित : श्रावण २, २०७७ १६:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×