ओपीडी खुले, बिरामी घटे

फातिमा बानु

काठमाडौँ — चार महिनाअघि लकडाउनको सुरुवाती दिनमा अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द भए । कोभिड–१९ बाहेक अरू रोगका बिरामीले दुःख पाउन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षा अपनाएर ओपीडी सेवा खुलाउन सबै अस्पताललाई निर्देशन दियो । अहिले उपत्यकाका अस्पतालमा ओपीडी सेवा सञ्चालनमा आएका छन् ।

ओपीडी खुले, बिरामी घटे

यातायात सहज नहुँदा कोभिडबाहेकका बिरामी अस्पतालसम्म पुग्न पाइरहेका छैनन् । सेवा खुला भए पनि निकै कम बिरामीमात्रै आइरहेको पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए । कोभिड संक्रमितको उपचारका लागि पाटन ‘लेबल २’ अस्पताल हो, जहाँ अन्य रोगको पनि उपचार हुन्छ । संक्रमित राख्ने अस्पताल भनेपछि यहाँ पहिले अन्य बिरामी छिर्नसमेत डराउँथे । रोगबारे जनचेतना बढेपछि ओपीडीमा बिरामीको संख्या बढिरहेको उनले बताए ।

लकडाउनअघि दैनिक दुई हजार बिरामी आउने अस्पतालमा अहिले करिब पाँच सय जना आउँछन् । ‘संक्रमितलाई राख्ने छुट्टै भवन छ, उनीहरूबाट अन्य बिरामीलाई संक्रमण सर्ने जोखिम छैन,’ उनले भने, ‘अस्पतालमा संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाइएको छ ।’ टिकटका लागि पहिले बिहान ८ बजे काउन्टर खुल्ने गरेकोमा अहिले सातै बजे खुल्छ । टिकटका लागि हुने भीडलाई कम गर्न ई–टिकटको व्यवस्था गर्न लागिएको डा. शर्माले जानकारी दिए ।

बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा असार २३ गते सात जना बिरामीमा कोभिड संक्रमण देखिएपछि नियमित चलिरहेको ओपीडीलगायत अन्य सेवा केही दिन बन्द भयो । अस्पताल सरसफाइ गरेपछि सेवा सुरु भएको निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए । लकडाउनअघि दैनिक सात सय बिरामी आउने अस्पतालमा हाल मुस्किलले दुई सय पुग्ने गरेका छन् । संक्रमण नफैलियोस् भनेर मास्कबिना कसैलाई छिर्न नदिने, ज्वरो नाप्ने र एकभन्दा बढी कुरुवा छिर्न नदिने गरिएको उनले बताए ।

दैनिक दुई हजार बिरामी आउने वीर अस्पतालमा हाल करिब पाँच सयमात्रै आइरहेका छन् । मास्क नलगाउने, हात नधुनेलाई अस्पताल छिर्न मनाही गरे पनि अटेर गर्ने गरेको निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए । उनले भने, ‘टिकट काट्न, औषधि किन्न या रिपोर्ट लिन उस्तै भीड गर्छन्, भनेको मान्दैनन् ।’

विज्ञहरूले संक्रमणबीच अस्पताल सञ्चालन गर्न विशेष नियम बनाउनुपर्ने सुझाएका छन् । अनलाइन टिकटको व्यवस्था गर्ने, एकभन्दा बढी कुरुवा नराख्ने, हरेक २ घण्टामा डिसइन्फेक्ट गर्ने, आगन्तुक बस्ने कुर्सी र बिरामी सुत्ने बेड कम्तीमा ३ मिटरको दूरीमा राख्ने, राउन्डमा जाने टोलीले अनिवार्य पीपीई लगाउन सुझाइए पनि सबै अस्पतालमा लागू भएको छैन ।

संक्रमण फैलनुअघि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दैनिक २ हजार ५ सय बिरामीको भीड लाग्थ्यो । बिरामीको आगमन दैनिक सयमा घटेको अस्पतालका निर्देशक डा. रोहित पोखरेलले बताए । निजी अस्पतालको सेवा पनि उत्तिकै प्रभावित बनेको छ । दैनिक सात सय बिरामी पुग्ने जावलाखेलस्थित अल्का अस्पतालमा अहिले सय जना पुग्छन् । धापासीस्थित ग्रान्डी अस्पतालको ओपीडीमा आउनको संख्या पनि दैनिक ६ सयबाट घटेर एक सयमा झरेको छ ।

प्रकाशित : श्रावण २, २०७७ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?