२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बर्बराइरहन्छन् पहिराेका घाइते

दीपेन्द्र शाक्य

संखुवासभा — पहिरोमा परेर जीवितै उद्धार गरिएका ७९ वर्षीय गोवासिंह राई ५ दिनअघि गएको पहिरो सम्झेर बेलाबेला झस्किन्छन् । जिल्ला अस्पताल खाँदबारीमा उपचाररत उनी निद्रामा पनि ‘पहिरोले लग्यो’ भन्दै बर्बराउँछन् ।

बर्बराइरहन्छन् पहिराेका घाइते

डेढ दिनसम्मको मुसलधारे वर्षापछि गत आइतबार सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा खसेको पहिरोमा उनी परेका थिए । पहिरोमा उछिट्टिएर आएको ठूलो ढुंगाको आडमा अड्किएर गोवासिंह, उनकी श्रीमती भीमसरी र छोरी फूलमाया बाँचेका थिए । घटनाको २ दिनपछि मंगलबार पूर्वखानेपानीमन्त्री दीपक खड्का र पर्यटन व्यवसायी मिङमा शेर्पाले निजी खर्चमा हेलिकप्टर चार्टर गरेर उनीहरुको उद्धार गरेका थिए ।

अस्पतालको शय्यामा रहे पनि गोवासिंहलाई पहिरोमा हराइरहेका ११ जना छिमेकीको चिन्ता छ । भेट्न आउनेलाई उनी बेपत्ताबारे सोधिरहन्छन् । बेपत्ताको खोजी जारी रहे पनि अवस्था पत्ता लाग्न नसकेको प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । पहिरोले बेसिन्दा गाउँका ९ घर बगाएको थियो । बेपत्ताको खोजीमा सेना, सशस्त्र र प्रहरी खटिएका छन् । पहिरोको डरले ७९ परिवारका ३ सय ४९ जना थातथलो छाडेर चित्रे भन्ने शेर्पा गाउँ र बालाको बुधबारेमा आश्रय लिएर बसिरहेका छन् । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार विस्थापितलाई राख्न चित्रे र बुधबारेमा ५३ वटा अस्थायी टहरा निर्माण गरिएको छ । त्यसमध्ये बुधबारेका २७ टहरामा विस्थापित बसेका छन् । बाँकी २५ वटा टहरा सेनाको बराह दल गुल्मले चित्रेमा निर्माण गरेको छ । त्यसैमा अरू विस्थापितलाई राखिनेछ ।

प्रदेश १ सरकारले मंगलबार उपलब्ध गराएको राहत सामग्री दुई दिनपछि बिहीबार मात्र बालाको बुधबारेबाट वितरण गरिएको छ । राहत लिएर चित्रे पुग्न पीडितलाई आधा दिन लाग्छ । पीडित ३ जनासम्मको परिवारलाई २५ किलो चामल, १/१ किलो दाल, नुन र तेल वितरण गरिएको प्रजिअ आचार्यले बताए । उनका अनुसार ४ जनादेखि माथि संख्या रहेको परिवारका लागि ५० किलो चामल, २/२ किलो दाल, नुन र तेल वितरण गरिएको छ । सिलिचोङको होयाङला, चेप्चेवालगायतका स्थानमा पनि पहिरोको डरले ५९ जना विस्थापित भएका छन् ।

प्रकाशित : श्रावण २, २०७७ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?