१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दाहाल र नेपाललाई ओलीको जवाफ–‘प्रधानमन्त्रीको कुरै नगर्नुस्, म विकल्पको ‘वि’ पनि सुन्‍न चाहन्‍न’

नेकपा विवाद अब केन्द्रीय कमिटीमा
बबिता शर्मा

काठमाडौँ — पार्टीभित्रको विवाद सुल्झाउने र शुक्रबार स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउने प्रयासमा बिहीबार नेकपा तीन शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । 

दाहाल र नेपाललाई ओलीको जवाफ–‘प्रधानमन्त्रीको कुरै नगर्नुस्, म विकल्पको ‘वि’ पनि सुन्‍न चाहन्‍न’

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घन्टा बढी छलफलमा दाहाल र नेपालले प्रधानमन्त्रीबाट राजीनमा दिन ओलीलाई आग्रह गरे ।

नेता नेपाल निकट एक नेताका अनुसार सुरुमा दाहालले ओलीलाई प्रधानमन्त्री छाड्न प्रस्ताव गरेका थिए । ‘प्रधानमन्त्रीको विकल्पको चर्चा नगर्नुस् । छिटै महाधिवेशन गरेर पार्टी अध्यक्षसम्मको चर्चा गर्नुस् । यो ५ वर्ष प्रधानमन्त्रीको कुरै नगर्नुस् । म विकल्पको 'वि' पनि सुन्‍न चाहन्‍न,’ ओलीले दाहाललाई जवाफ दिई हाले । त्यसपछि नेता नेपालले ओलीलाई भनेका थिए, ‘तपाईंले छोड्दिन पर्छ । तपाईंकै कारण पार्टी पनि बिग्रियो, सरकार पनि बिग्रियो । तपाईं कसैका कुरा नसुन्ने । यसरी हुँदैन ।’

नेपाललाई पनि ओलीले दाहाललाई दिएको जवाफ फर्काए । ‘अहिले मैले छोड्नै मिल्दैन । त्यो कुरै नगर्नुस्’, ओलीले नेपाललाई भनेको भनाइ उद्र्धत गर्दै ती नेताले भने । त्रिपक्षीय छलफलले निष्कर्ष निकाल्न नसके पनि शुक्रबारको स्थायी कमिटी बैठक सूचारु गर्ने विषयमा भने नेताहरु सहमत भएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

ओलीले अडान नछाडेपछि दाहाल र नेपाल बालुवाटारबाट निस्किएका थिए । त्यसपछि साँझ दाहाल निवास खुमलटारमा यो समूहका सचिवालयका अन्य नेता र स्थायी कमिटीका नेताहरु भेला भएका थिए । उक्त भेलामा दाहाल र नेपालले बालुवाटारमा ओलीसँग भएको छलफलको ब्रिफिङ गरेका थिए ।

नेपाल र पोखरेलको धुम्बाराहीमा वार्ता

खुमलटार भेला अघि नेता नेपाल र सचिवालय सदस्य ईश्वर पोखरेलबीच धुम्बाराहीमा वार्ता पनि भएको थियो । नेता नेपालाई फकाउन पोखरेलले छलफल गरेका थिए । पोखरेलसँगको छलफलबारे पनि नेपालले खुमलटारमा ब्रिफिङ गरेका थिए । छलफलमा सहभागी ती नेताका अनुसार पोखेरलले नेपाललाई भनेका थिए, ‘अहिले अध्यक्ष र प्रधानमन्त्री कुनै पदबाट पनि हटाउन मिल्दैन । बरु गल्ती कमजोरी के के छन्, सच्याएर जाउँ ।’ जवाफमा नेपालले अब त्यस्तो सम्भव नभएको बताएका थिए ।

नेकपाको विवाद अब केन्द्रीय कमिटीमा

पार्टीभित्रको शक्तिसंघर्ष झन्‌झन्‌ जटिल हुँदै गएपछि नेताहरुले जारी स्थायी कमिटी बैठक पटक-पटक स्थगित गरेर सहमति खोज्न दुई अध्यक्षलाई समय दिएका थिए । तर दुई अध्यक्षबीच सहमति हुन नसकेपछि अब नेकपाको विवाद केन्द्रीय कमिटीमा पुग्ने भएको छ ।

बिहीबार बालुवाटारमा भएको त्रिपक्षीय छलफल सकारात्मक नभएपछि साँझ थप रणनीति तय गर्न ओली समूहको बालुवाटार र दाहाल–नेपाल समूहको खुमलटारमा भेला भएका थिए । खुमलटारको भेलाले भदौ पहिलो साताभित्र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने र जारी स्थायी कमिटी बैठकका एजेन्डा त्यही छलफल हुनुपर्ने निष्कर्ष निकालेको छ ।

भेलामा सहभागी एक नेताका अनुसार शुक्रबार स्थायी कमिटी बैठकमा बोल्न बाँकी केही नेताहरु बोलेपछि केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने समझदारी बनेको छ । स्थायी कमिटी बैठकमा दाहालले केन्द्रीय कमिटी बैठकको मितिबारे प्रस्ताव गर्ने भएका छन् । बालुवाटारमा जारी ओली समूहको भेला भने अझै सकिएको छैन । स्रोतका अनुसार केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा प्रधानमन्त्री ओली पनि सकारात्मक छन् ।

स्थायी कमिटीमा के थिए एजेन्डा ?

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा ७ एजेन्डा तय भएका थिए । वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी काम सम्पन्न गर्ने, एमसीसी र विविध विषयको एजेन्डा प्रस्तावित थिए ।

विविधअन्तर्गत भने रुकुम घटना, नागरिकता विधेयक र संघीय संसद्का सदस्यहरूको भत्ता कटौतीको विषय थियो । असार १० गते अध्यक्षद्वयको मन्तव्यपछि नेपालको सीमा समस्या र समाधानको एजेण्डामा दुई दिन केही नेताहरुले आफ्ना धारणा राखेका थिए ।

तर, असार १४ गते मदनजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र, काठमाडौंस्थित भारतीय दूतावास र आफ्नै पार्टीका केही नेता लागेको अभिव्यक्ति दिएपछि स्थायी कमिटी बैठकका पूर्वनिर्धारित एजेन्डाभन्दा बाहिर प्रधानमन्त्रीको राजीनामाको एजेन्डा प्रवेश भएको थियो ।

बैठकमा दाहाल–नेपाल समूहका बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका थिए । ओलीको राजीनामा माग भएपछि नेकपा विभाजनको संघारमा पुगेको थियो । त्यही बेला प्रधानमन्त्री ओलीले संसद् अभिवेशन अन्त्यको गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि स्थायी कमिटी बैठक स्थगित भएको थियो । दुई अध्यक्षबीचमा सहमतिको सूत्र खोजेपछि मात्रै स्थायी कमिटी बैठक सुचारु गर्ने सहमति पनि भएको थियो ।

प्रकाशित : श्रावण १, २०७७ २२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?