१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भदौ पहिलो साताभित्र नेकपा केन्द्रीय कमिटी बैठक बोलाउने खुमलटार भेलाको निष्कर्ष

बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता सकारात्मक नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाउने निष्कर्ष निकालेको छ । 

भदौ पहिलो साताभित्र नेकपा केन्द्रीय कमिटी बैठक बोलाउने खुमलटार भेलाको निष्कर्ष

बिहीबार दिउँसो बालुवाटारमा भएको ओली, दाहाल र नेपालको वार्ता सकारात्मक नभएपछि साँझ दाहाल–नेपाल समूहका शीर्ष नेता र स्थायी कमिटीका केही नेताहरु खुमलटारमा भेला भएका थिए ।

सोही भेलामा सहभागी एक नेताका अनुसार भदौ पहिलो साताभित्र केन्द्रीय कमिटी बैठक बोलाउने र अहिले जारी स्थायी कमिटी बैठकका एजेन्डा केन्द्रीय कमिटीमा लग्ने सहमति भएको छ । यस्तै शुक्रबारको स्थायी कमिटी बैठक पनि स्थगित नगर्ने र बोल्न बाँकी सदस्यहरुले बोल्ने सहमति भएको छ ।

बिहीबार बालुवाटारमा भएको वार्तामा दाहाल र नेपालले प्रधानमन्त्री पदबाट ओलीलाई राजीनामा दिन आग्रह गरेका थिए । तर, ओलीले आफू कुनै हातलमा राजीनामा नदिने बरु बहुमतले निर्णय गरेर हटाउन चुनौती दिएका थिए । छलफलमा सहमति नजुटेपछि शुक्रबारको स्थायी कमिटी बैठकअघि आगामी रणनीति तय गर्न दाहाल–नेपाल समूहका नेताहरु छलफलमा जुटेका थिए ।

अर्का एक नेताका अनुसार छलफलमा केही सदस्यहरुले तत्काल अन्य निर्णय गरेरमात्रै केन्द्रीय कमिटी बैठक बस्नुपर्ने प्रस्ताव राखेका थिए । तर, अध्यक्ष दाहाललगायत सचिवालयका नेताहरुले जारी स्थायी कमिटी बैठकका सबै एजेन्डा केन्द्रीय कमिटीमा लग्ने र त्यहीबाट निर्णय गर्ने प्रस्ताव गरेपछि त्यसमै सहमति भएको हो ।

प्रकाशित : श्रावण १, २०७७ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?