कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्न सकिने : पर्यटन मन्त्रालय

सुरज कुँवर

काठमाडौं — संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्न सकिने जनाएको छ ।

साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्न सकिने : पर्यटन मन्त्रालय

चैत ९ देखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको सरकारले वायुसेवा पुनः सञ्चालन गर्न असार १५ गते अध्ययन समिति गठन गरेको थियो ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा गठन भएको चार सदस्यीय समितिले बिहीबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्न सकिने सुझाव दिएको छ ।

स्रोतका अनुसार सहसचिव लामिछानेले सचिव केदारबहादुर अधिकारी हुँदै मन्त्री भट्टराईलाई बुझाएको प्रतिवेदनलाई सदर गरिएको छ । समितिको प्रतिवेदन शुक्रबार छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन सञ्‍चालन केन्द्र हुँदै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेतृत्वको नोबल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा जानेछ । उक्त समितिको सिफारिसका आधारमा सरकारले साढे तीन महिनादेखि बन्द गरेको व्यवसायिक उडान सुचारु गर्न अनुमति दिनुपर्ने छ ।

सहसचिव लामिछाने नेतृत्वको अध्ययन समितिले कोभिड–१९ को माहामारी कायमै र बढ्दै गइरहेको अवस्थामा कसरी वायुसेवालाई अनुमति दिनेबारे कार्ययोजना पनि पेश गरेको छ । उच्च स्रोतका अनुसार समितिले आन्तरिक उडानमा रहेका वायुसेवालाई सुरुमा दिनमा एउटा सेक्टरमा एउटा उडान मात्रै गर्न दिइनुपर्ने उल्लेख गरेका छन् भने अन्तर्राष्ट्रिय वायुसेवालाई सातामा एउटामात्रै उडान गर्न दिइनुपर्ने प्रस्ताव गरेका छन् । हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ वटा आन्तरिक उडान गर्ने वायुसेवा कम्पनी छन् भने अन्तर्राष्ट्रियतर्फ ३० वटा वायुसेवा छन् ।

यसैबीच, पर्यटन क्षेत्रका २५ वटा संस्थाहरुले बिहीबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै पूर्ण रुपमा बन्द भएका पर्यटकीय क्षेत्र खुला गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक तथा बाह्य उडान ठप्प भएसँगै नेपाली पर्यटन उद्योग शून्य हुँदै व्यवसायीहरुमा असीमित दायित्व थपिएको बताएका छन् । कोभिड-१९का कारण ऋणात्मक अवस्था हुँदा धेरैको रोजगारी तथा खर्बौंको लगानी संकटमा परेको उनीहरुले बताएका छन् ।

पर्यटन व्यवसायीहरुले विस्तारै कोभिड–१९ सँगै अनुकूल जनजीवन सञ्चालन गर्नुको विकल्प नभएको जनाउँदै अन्तर्राष्ट्रिय अभ्यास र अनुभव हेरेर साउन १७ बाटै आन्तरिक र साउन ३१ बाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्न र बन्द नाका खोल्न माग राखेका छन् ।

ती संस्थाहरुले हवाई सेवा समग्र पर्यटन गतिविधिको आधार भएकाले नियमित उडान गराउदै महँगो शुल्क तिरेर भइरहेका चार्टर र उद्धार उडान मार्फत नभई नियमित उडान सुचारु गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, पर्यटकीय सवारी साधनहरु स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु पालना गराउँदै निर्वाध सञ्‍चालन गर्न दिनुपर्ने पनि उनीहरुको माग रहेको छ । व्यवसायीहरुले नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउन पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा बजारीकरणका आधारहरु विस्तारै सुचारु गर्नमा जोड दिएका छन् ।

प्रकाशित : श्रावण १, २०७७ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?