१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुलुकभर मुद्दा व्यवस्थापनको नयाँ पद्धति सुरु, सुनुवाइको समयतालिका नै बनाइने

काठमाडौँ — सर्वोच्च अदालतले बिहीबारदेखि देशव्यापी रुपमा फरक मुद्दा व्यवस्थापन पद्धति सुरु गरेको छ । नयाँ पद्धति अनुसार मुद्दाको स्वरुप र अवस्था हेरी दर्ता भएकै दिन सुनुवाइको समय तालिकासहित फैसला हुने सम्भावित मितिसमेत तय हुनेछ ।

मुलुकभर मुद्दा व्यवस्थापनको नयाँ पद्धति सुरु, सुनुवाइको समयतालिका नै बनाइने

‘देशव्यापी रुपमा सबै न्यायालयमा यो पद्धति लागू गर्ने योजना हो, हाललाई भने सबै जिल्ला अदालतमा साउन १ गते (बिहीबार)देखि सुरु गरिएको छ,’ सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले कान्तिपुरसित भने, ‘केही व्यवस्थापन गरेपछि भदौ १ गतेदेखि सबै उच्च अदालतमा पनि सुरु हुनेछ ।’

नयाँ पद्धति अनुसार दर्ता हुने मुद्दालाई सरल, सामान्य र विशेष भनी तीन श्रेणीमा वर्गिकरण गरिनेछ । सरल मुद्दा ६ महिनाभित्र फैसला हुनेछ भने सामान्यलाई १२ महिना र विशेषलाई १८ महिना लाग्नेछ । कुन मुद्दा कस्तो पद्धतिमा पर्ने भन्ने स्वचालित सफ्टवेर विकास गरिएको प्रवक्ता पोखरेलले बताए ।

उनका अनुसार अत्यधिक मात्रामा पुराना मुद्दा भएकाले सर्वोच्च अदालतमा तत्काल यो पद्धति लागू हुने छैन । हालको योजना अनुसार २०८० साल साउन १ गतेदेखि सर्वोच्चमा पनि लागू गर्ने तयारी छ । फरक सफ्टवेयर रहेकाले विशेष अदालतमा पनि तत्काल लागू हुने छैन । मुद्दाको अवस्था, प्रतिवादीको संख्या, उनीहरु पक्राउ परे वा नपरेको स्थिती लगायतका आधारमा मुद्दाको वर्गिकरण हुनेछ ।

दर्ता भएकै दिन मुद्दाको श्रेणी किटान गरी फैसलाको सम्भावित मिति समेत तय हुनेछ । गत असार १० गते सर्वोच्च अदालतको पूर्ण बैठकले मुद्दाको फरक व्यवस्थापन पद्धति(डीएमएस) लागू गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश, न्यायाधीश र न्यायप्रशासनका उच्च पदस्थ कर्मचारीहरुले एकमुष्ट रुपमा सबै जिल्ला र उच्च अदालतमा भर्चुअल माध्यमबाट नयाँपद्धतिको सुरुवात गरे । त्यसक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जवराले १० वर्षदेखिको योजना हालमात्रै कार्यान्वयन हुन सकेको बताए । उनको दाबी अनुसार नयाँ पद्धतीबाट छितोछरिता गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन हुनेछ । मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले न्यायिक काम कारबाहीको नियन्त्रण र निरन्तर अनुगमनको अवसर हुने बताए ।

प्रकाशित : श्रावण १, २०७७ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?