१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पीडितसँगै रोए मुख्यमन्त्री

आश गुरुङ

लमजुङ — एक साताअघि बेंसीसहर नगरपालिका–७ सातबिसेको तल्लो पाखोमा पहिरो जाँदा एकै परिवारका ३ जना पुरिएर घटनास्थलमै मृत्यु भयो । बेंसीसहर–१० खाँचे घर भई एक वर्षदेखि सातबिसेमा बस्दै आएका ३३ वर्षीय दीपक तामाङ, पत्नी २७ वर्षीया भीममाया तामाङ र छोरा १० वर्षीय छेवाङको मृत्यु भएको हो ।

पीडितसँगै रोए मुख्यमन्त्री

७ वर्षीया डोल्मा तामाङ भने फुपूको घर आएर बसेकाले जोगिए । दीपकका आमा र बुवा पनि त्यही दिन छोरीको घर आएकै कारण जोगिए ।

बाढीपहिरोले पुर्‍याएको क्षति हेर्न बुधबार गृहजिल्ला लमजुङ आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग मृतक दीपककी आमा कान्छीमाया धेरैबेर रोइन् । उनले बिलौना गरिरहँदा मुख्यमन्त्री गुरुङले आफूलाई थाम्न सकेनन् । प्रायः हँसिलो मुद्रामा देखिने र कार्यक्रममा पनि ठट्यौली पाराले मुस्कुराउँदै बोल्ने मुख्यमन्त्रीको बोली फुटेन । आँसु झर्‍यो । उनले कान्छीमायालाई सान्त्वना दिँदै भने, ‘नरुनोस्, जे हुनु भयो, मन दह्रो पार्नुपर्छ ।’ आँसु पुछ्दै मुख्यमन्त्री गुरुङले कान्छीमायाको हात समातेर सम्झाए ।

पाखोबारी, भिरालो ठाउँमा बनेको घरमाथिबाट पहिरो चलेपछि तामाङको परिवार पहिरोमा परेको थियो । ‘हामी घर भिरालोमा बनाउँछौं । घरघरै डोजरले बाटो खनेर पुर्‍याउँछौं । यही हाम्रो काल बनिरहेको छ । यो सबै हाम्रै दोष हो’, उनले भने, ‘हामी आफ्नो भूगोल कस्तो छ भनेर जान्दाजान्दै पनि अटेरी गरी भीरमा घर बनाउँछौं । खोलाछेउ बस्छौं । अनि समस्या आउँछ ।’ मुख्यमन्त्री गुरुङले दीपकका बुवा हर्कबहादुरलाई प्रतिमृतक ५० हजारका दरले १ लाख ५० हजार रुपैयाँ राहत दिए ।

लमजुङको मध्यनेपाल नगरपालिकामा मात्रै १ सय ९ घरका करिब ५ सयजना विस्थापित छन् । बाढीपहिरोबाट १ सय ४५ बढी घरपरिवार विस्थापित भएका छन् । उनीहरु विद्यालय, सामुदायिक भवन साथै आफन्त र छिमेकमा बसेका छन् । धेरैले अन्न पनि झिक्न पाएका छैनन् । बाढीपहिरोले एम्बुलेन्स, एक्स्काभेटर, ट्याक्टरलगायत पुरिएका थिए ।

मध्यनेपाल–६, सिम्पानीकी नेउटी परियारले पहिरोमा पुरिएर पनि बाँच्न सफल भएको बताइन् । ‘राति पहिरो आएको भए हामी सबै मर्ने । कसो बिहान ६ बजेतिरको घटना हो । पहिरो बग्दै आयो, पहिरोमा पुरिएका हामी हातखुट्टा गरी पाखोमा गयौं’ उनले भनिन् । मध्यनेपाल आएका मुख्यमन्त्री गुरुङसँग उनले गाँस, बास र कपासको व्यवस्था गरिदिन अनुरोध गरिन् । सोमबार बिहानको बाढीपहिरोले मध्यनेपाल–६ का मात्रै ७८ घर विस्थापित भएको वडाअध्यक्ष विष्णुभक्त पौडेलले बताए । नगरप्रमुख रमेशकुमार पाण्डेका अनुसार बाढीपहिरो पीडितलाई उद्धार गरेर विद्यालय, सामुदायिक भवनलगायतमा राखिएको छ ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा, तनहुँ, लमजुङलगायत क्षेत्रमा बाढीपहिरोले धनजनको क्षति भएको र ती ठाउँमा राहत लिएर जाँदा समेत समस्या भएको बताए । कतिपय ठाउँमा खानेपानीको अभाव भएकाले रोग संक्रमण फैलिन सक्ने उनले बताए । ‘कहाँ कति क्षति भयो भनेर अहिले पनि हामीलाई स्थानीय तह र प्रशासनले विवरण दिन सकिरहेको छैन । प्रदेश सरकारले ठाउँ ठाउँमा पुगेर जनताको पीरमर्का बुझिरहेको छ । हामी छिट्टै पीडितको पुनर्स्थापना गर्छौं’ उनले भने । बाढीपहिरो पीडितको २ महिनाभित्र पुनर्स्थापना गरिसक्ने उनले बताए ।


प्रकाशित : श्रावण १, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?