मेलम्चीको क्षतिग्रस्त संरचना जाँचबुझका लागि पुग्यो प्राविधिक टोली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्चीको क्षतिग्रस्त संरचना जाँचबुझका लागि पुग्यो प्राविधिक टोली

अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गभित्रको गेट फुटेर क्षतिग्रस्त हेर्डवक्सस्थल, अडिटजस्ता संरचना जाँचबुझका लागि विज्ञ, प्राविधिकको टोली पुगेको छ । 

खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा बनेको प्राविधिक र छानबिन टोली बिहीबारमात्रै पुगेको हो । टोलीमा ३ जना आयोजना विज्ञ, ३ जना प्राविधिक कर्मचारी रहेका छन् । टोलीले बिहीबार दिउँसो हेलम्बु गाउँपालिका १ अम्बाथानमा रहेको मुहानस्थलमा निरीक्षण गर्दै सुरुङभित्र पस्न आन्तरिक बैठक तथा छलफलमा लागेका छन् । छलफल सकेर सुरुङभित्रको ३ सय मिटरसम्म सम्पूर्ण प्राविधिक अवस्था नियाल्ने तयारी रहेको एक प्राविधिकले बताए ।

सुरुङभित्रको अवस्था जोखिमपूर्ण अवस्था भएमा सेन्सर या अन्य प्रविधिबाट भित्रैसम्म निरीक्षण गरिने योजना बनाइएको छ । ‘सहसचिव दुवाडीको नेतृत्वमा प्राविधिक तथा विज्ञको टिम मुहानस्थलमा नै पुगिसकेको छ, बिहीबारको प्राविधिक अनुमगन र अनुसन्धानपछि मात्रै यथार्थ विवरण खुल्नेछ,’ मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले भने । उनका अनुसार सुन्दरीजल पुग्ने मेलम्चीको मुख्य (सुरुङ २७ किलोमिटर)सँग जोडिएको अम्बाथान अडिटको (गेट नम्बर १७) फुटेर फर्किएको पानीबारे विज्ञ र प्राविधिकले नियाल्नेछन् ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा अम्बाथान अडिटमा रहेको मुख्य गेट (गेट नम्बर १७) का महत्वपूर्ण गेट ग्याल्थुम, सुन्दरीजल, सिन्धुमा गरी चार वटा बनाइएका छन् । अम्बाथान अडिट एक किलोमिटरको दुरीमै मुख्य सुरुङ २७ किलोमिटरसम्म जोडिने उनले जनाए ।

मंगलबार मध्यान्ह एक्कासी गेट नम्बर १७ फुटेर अम्बाथान् अडिटबाट निस्किएको पानीले दुई बेपत्ता र दुई जनालाई घाइते बनाएको थियो । बेपत्ता भएकामध्ये बुधबार दिउँसो इन्द्रावती खोलाको बाहुनेपाटीमा जनकपुरका इन्जिनियर सतिश गोहितको शव फेला परेको प्रहरीले जनाएको छ । उनका अनुसार आयोजनामा कार्यरत कर्मचारी सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापामगर भने अझै बेपत्ता छन् ।

बाढीले घाइते भएका साइट इन्जिनियर शेखर खनालसहित सब हेल्पर पेम्बा लामा काठमाडौंको ग्रान्डी हस्पिटल उपचाररत छन् ।

प्रकाशित : श्रावण १, २०७७ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्

मेलम्चीमा बेपत्ता खोज्‍न गएको सशस्त्र प्रहरीको डुंगा दुर्घटना

एक जना घाइते
अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजनाको गेट फुटेर बेपत्ताको खोजीमा गएको सशस्त्र प्रहरीको डुंगा दुर्घटना हुँदा एक जना घाइते भएका छन् । विपद् उद्धार नम्बर २० गण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षक नन्दकिशोर महतोको कमाण्डमा खटिएको टोली चढेको बोट पल्टिँदा प्रहरी जवान रामजी भण्डारी सामान्य घाइते भएका हुन् ।

उनको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

बोट पल्टिएपछि उनीहरु सय मिटर परसम्म बगेको प्रहरी निरीक्षक तामाङले बताए । बोटमा रहेका ७ जनामध्ये ५ जना पौडिएर बाहिर आएको र दुई जना नदीको बीचमा रहेको उनले बताए । उनीहरु सकुशल रहेको उद्धार भइरहेको उनले जानकारी दिए ।

मंगलबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको अम्बाथान अडिटको गेट नम्बर १७ फुट्दा निस्किएको पानीले दुई बेपत्ता र दुई जनालाई घाइते बनाएको थियो । बेपत्ता भएका जनकपुरका इन्जिनियर सतिश गोहितको शव बुधबार दिउँसो इन्द्रावती खोलाको बाहुनेपाटीमा फेला परेको थियो । जसमध्ये आयोजनामा कार्यरत कर्मचारी सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापामगर भने अझै बेपत्ता छन् ।

सम्बन्धित समाचार

मेलम्ची सुरुङ : सात दिन पनि टिकेन अडिटको मुख्य गेट, पुगेन प्राविधिक टोली

प्रकाशित : श्रावण १, २०७७ १०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×