कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

समूहमा घुलमिल भएकाहरु नै संक्रमित हुँदा झनै चुनौती

कर्णालीमा बढी जनसम्पर्कमा रहने डाक्टर, सांसद, उपमेयर नै संक्रमित भए पनि कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन सकेको छैन
कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णाली प्रदेशसभाका एक सांसदले गत शुक्रबार संसद् सचिवालयमा पत्रकार सम्मेलन आयोजना गरे । त्यहाँ पत्रकारसँगै उनीसम्बद्ध दलका सांसदहरू पनि थिए ।

समूहमा घुलमिल भएकाहरु नै संक्रमित हुँदा झनै चुनौती

सबैले सँगसँगै बसेर चिया पिए, गफगाफ गरे । गृहजिल्ला जान पीसीआर परीक्षण गर्दा सोमबार उनको रिपोर्ट पोजिटिभ देखियो । ‘पत्रकार मात्र होइन, उहाँसँग त धेरै जनाको बाक्लै सम्पर्क हुने गरेको छ,’ ती सांसदको सचिवालयका कर्मचारीले भने, ‘अब कति जनालाई पो सर्‍यो !’

अधिक जनसम्पर्कमा रहने ती सांसदमा कोरोना संक्रमण देखिएपछि सचिवालयका कर्मचारीले भनेझैं संक्रमणको सम्भावित जालो निकै फराकिलो रहेको शंका गरिएको छ । उनी दैनिकजसो नेता–कार्यकर्ता, पत्रकार, सांसदसँग सम्पर्कमा रहनेमा पर्छन् । ‘उहाँको पीसीआर रिपोर्ट आउनु अघिल्लो दिन साँझ मात्र म उहाँसँगै मिटिङमा थिएँ,’ प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले भने, ‘सामाजिक दूरी कायम गरिएकोले सम्भावना त कमै छ, तर मनमा डर पनि लागिरहेको छ ।’

कर्णाली प्रदेशमा बढी जनसम्पर्कमा रहने जिम्मेवार व्यक्तिहरू नै संक्रमित हुन थालेपछि चुनौती थपिएको छ । यसले संक्रमण बढी व्यक्तिमा फैलिने संभावना पनि बढी हुने गरेको मन्त्री रावल बताउँछन् । ‘उहाँमा संक्रमण देखिएपछि पहिलो चरणमा प्रदेशसभाका सांसद, संसद् सचिवालयका कर्मर्चारी र उहाँको सचिवालयका कर्मचारीको पनि परीक्षण गराएका छौं,’ उनले भने, ‘पत्रकार र उहाँको सम्पर्कमा गएका अन्य व्यक्तिको पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर परीक्षण गर्नुपर्ने अवस्था आएको छ ।’

दैलेखको एक नगरपालिकाकी उपमेयर एक सातादेखि कर्णाली प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा आइसोलेसनमा छिन् । उनमा रुघाखोकी र ज्वरोजस्ता लक्षण पनि देखिएको छ । कोरोना प्रकोपमा राहत बाँड्नेदेखि क्वारेन्टाइन व्यवस्थापन, विभिन्न बैठक, भेटघाटले उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिलाई जोखिममा पारेको छ । त्यस्ता व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी स्वाब परीक्षण हुन सकेको छैन ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार उपमेयरको घरमा बस्ने स्वास्थ्यकर्मीको परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ । उनका श्रीमान्ले भने अहिलेसम्म परीक्षण गराएका छैनन् । ‘हामीले स्वाब लिन खोज्दा ‘पछि गरौंला’ भन्नुभयो, उपमेयरका श्रीमान्को अहिलेसम्म परीक्षण भएको छैन,’ उनले भने, ‘अरू को–कोसँग सम्पर्क भएको थियो भनेर खोज्नतिर लागिएकै छैन ।’

जनप्रतिनिधिमात्र होइन, क्वारेन्टाइन र आइसोलेसन सेन्टरमा सांगीतिक कार्यक्रम गर्दै हिँडेको ६ जनाको समूह पनि संक्रमित भएको छ । समूहकी प्रमुख सदस्य सामाजिक अभियानका क्रममा समुदायमा धेरै घुलमिल हुन्थिन् । ‘कोरोनाका बेला जोखिमपूर्ण क्षेत्रमा कन्सर्ट लिएर गइयो, यहीबीच अन्य सामाजिक अभियानमा पनि सहभागिता जनाइयो,’ घरमै आइसोलेसनमा रहेकी उनले भनिन्, ‘कति बेला कहिले संक्रमित भइयो, पत्तै पाइएन ।’ एउटै बेडमा सुत्ने बहिनीको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि सम्पर्कमा आएका अन्य व्यक्तिको भने पीसीआर हुन नसकेको उनले बताइन् ।

अस्पताल र क्लिनिकमा बिरामी जाँच्ने चिकित्सकमा समेत कोरोना देखिँदा जोखिम झन् बढेको छ । प्रदेश अस्पतालका एक वरिष्ठ चिकित्सकमा असार दोस्रो साता कोरोना देखिएपछि उनीसँग उपचार गर्न गएका बिरामीमा त्रास छाएको छ । सुर्खेतका व्यस्त चिकित्सकमध्येमा पर्ने उनी साँझ–बिहान एक निजी अस्पतालमा बिरामी जाँच्छन् । उक्त अस्पतालका अनुसार उनले दैनिक सरदर ५०–६० जना बिरामीको स्वास्थ्य परीक्षण गर्छन् । ती डाक्टरलाई कोरोना पुष्टि हुनुभन्दा तीन दिनअघि उनको क्लिनिकमा गएकी वीरेन्द्रनगर, इत्रामकी एक महिलाले भनिन्, ‘हुन त मलाई जाँच्ने डाक्टरलाई सन्चो भइसक्यो भन्ने सुनेकी छु, तर कतै आफैंलाई कोरोना छ कि भन्ने डरले सताइरहेको छ ।’

सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा बुधबारसम्म १ हजार ७ सय १४ जनामा कोरोना पुष्टि भएको छ । ६ जनाको मृत्यु भएको छ भने २ सय ३३ जना आइसोलेसनमा छन् । अन्य संक्रमित डिस्चार्ज भएर घर गइसकेका छन् । समुदायमा कसैमा संक्रमण देखिए प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । तर केन्द्रले प्रभावकारी काम गर्न सकेको छैन । केन्द्र प्रमुख विर्षबहादुर शाहीले जनशक्ति अभाव र असारको व्यस्तताले ‘कन्ट्याक्ट ट्रेसिङ’ को काम हुन नसकेको बताए । ‘जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहसँग समन्वय गरी केहीको त परीक्षण भएको छ,’ उनले भने, ‘तर झन्झटिलो प्रक्रिया, जनशक्ति अभाव र भौगोलिक कठिनाइले ‘कन्ट्याक्ट ट्रेसिङ’ को काम सोचेअनुसार अघि बढ्न सकेको छैन ।’ सम्भावित जोखिममा रहेका व्यक्तिले फर्म भरेर केन्द्रमा पठाएपछि मात्र परीक्षण हुने भएकाले समस्या हुने गरेको उनले बताए ।

प्रदेश राजधानी वीरेन्द्रनगरमै पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ मा लापरबाही गर्ने गरिएको छ । करिब १० दिनअघि जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयमा आएका एक व्यक्तिमा कोरोना देखियो । उनले क्यान्टिनमा खाजासमेत खाएका थिए । ती व्यक्तिमा संक्रमण देखिएकै कारण कार्यालयका कर्मचारी र क्यान्टिन सञ्चालकले पीसीआर परीक्षणका लागि प्रदेश र जिल्लाका निकायसँग अनुरोध गरे । ‘क्यान्टिनमा खाजा खानुका साथै कार्यालयमा समेत आएपछि हामी त्रसित भयौं, परीक्षणका लागि फोन गर्‍यौं, पछि निवेदनै दियौं,’ कार्यालयका लेखा अधिकृत सुशील केसीले भने, ‘बल्लतल्ल चार दिनपछि क्यान्टिन सञ्चालकको परीक्षण भयो ।’

प्रकाशित : श्रावण १, २०७७ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?