कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

१०१ वर्षीयले जब पाए जग्गाधनी पुर्जा

‘मर्ने बेलामा बल्ल लालपुर्जाको मुख देख्न पाएँ,’ फिस्स हाँस्दै उनले भने, ‘सर्वस्व पाएजस्तो भयो ।’
दीपक परियार

पोखरा — धर्के कमिज र खैरो पाइन्टमा झोला बोकेका एक वृद्धले लट्ठी टेक्दै मालपोत कार्यालय कास्कीको कोठा–कोठा चहारे । उमेरले एक शताब्दी काटेका जसबहादुर थापाको जीवनमा मंगलबार कहिल्यै नसोचेको भयो । पर्ती जग्गामा बसिरहेका उनका नाममा पहिलोपल्ट लालपुर्जा बन्यो ।

१०१ वर्षीयले जब पाए जग्गाधनी पुर्जा

१ सय १ वर्षीय उनी परिवारसहित मादी गाउँपालिका–९ मुग्रीबेंसीको खोला किनारमा बस्दै आएका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घडेरी किन्न उनलाई २ लाख रुपैयाँ उपलब्ध गरायो । त्यही रकमले उनले मुग्रीबेंसीमै झन्डै ६ आना (१ सय ९०) वर्गमिटर जग्गा किने ।

जिजुबाजेको पालादेखि नै खोला किनारमा बसिरहेका उनलाई कसैको नाममा पनि एक आना जग्गा भएको सम्झना छैन । सार्वजनिक जमिनमा कच्ची घर बनाएरै उनले दुई छोरा र तीन छोरी हुर्काए । चार दाजुभाइमध्ये उनी जेठो हुन् । आफूमुनिका तीन भाइ बितिसके । सबैको काजकिरिया उनले नै उम्काए । गाला चाउरिएर खोपिल्टो परेको छ । बोली स्पष्ट छैन । लट्ठी टेकेरै पनि ठमठम हिँड्छन् । आँखा अझै तेजिला छन् ।

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय कास्कीका प्रमुख नवराज शर्माले उनलाई जग्गाधनी पुर्जा थमाए । लालपुर्जा हात परेपछि उनका आँखा झन् चम्किए । ‘मर्ने बेलामा बल्ल लालपुर्जाको मुख देख्न पाएँ,’ फिस्स हाँस्दै उनले भने, ‘सर्वस्व पाएजस्तो भयो ।’


जग्गाधनी पुर्जा प्राप्त गरेका १०१ वर्षीय जसबहादुर थापा ।

विसं १९७६ जेठ १५ मा जन्मिएका उनले ठूल्ठूला भूकम्प भोगे । १९९० सालको भूकम्पको धमिलो सम्झना अझै उनीसँग छ । ०७२ को भूकम्प भने उनको जीवनमा खुसी बनेर आइदियो । कच्ची घरमा क्षति त पुग्यो तर जीवनभर सुकुम्बासी बन्नुपर्ने अवस्थाबाट जोगिए । प्राधिकरणले भूकम्पबाट घर क्षति भएका सुकुम्बासीको विवरण माग्यो । वडा र गाउँपालिकाले जसबहादुरको सिफारिस पठायो । सार्वजनिक मुचुल्का र गाउँपालिकाको सिफारिसको आधार आयोजना इकाइ कार्यालयले प्राधिकरणको कार्यकारी समितिमा पठायो । समितिले जसबहादुर भूमिहीन भएको निर्णय गर्दै घर बनाउने जग्गा किन्न २ लाख रुपैयाँ उपलब्ध गरायो । भूकम्प आएको ५ वर्षपछि उनको परिवारले जग्गा पायो ।

सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र दिगो समाधान परियोजनाको सहयोगमा स्थानीय नारायणी अधिकारीको जग्गा उनले खरिद गरे । उनका दुई छोरामध्ये एक जना छुट्टिएर सार्वजनिक जमिनमै बनेको टहरोमा बस्दै आएका छन् । एक छोरा पोखरा बस्छन् । ८५ वर्षीया श्रीमती आइतीमाया टाठै छिन् । गाउँमा अझै मेलापात गर्छिन् । सामाजिक सुरक्षा भत्ताले थापा दम्पतीको गुजारा चलेको छ ।

०७२ को भूकम्पबाट सरकारी तथा वन क्षेत्रमा बसेका भूमिहीन लाभग्राहीलाई आवास निर्माण गर्ने प्रयोजनका लागि घडेरी खरिद गर्न प्राधिकरणले अधिकतम २ लाख रुपैयाँ दिँदै आएको छ । लाभग्राहीले घर निर्माणका लागि थप ३ लाख रुपैयाँ पनि पाउँछन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय प्रमुख नवराज शर्माले कास्कीमा हालसम्म ११ जनाले उक्त रकम पाएर जग्गा किनेको बताए । मादी गाउँपालिकाका ८ र पोखरा महानगरपालिकाका ३ जनाले घडेरी खरिद गर्ने रकम लिएको जानकारी उनले दिए ।

प्रकाशित : श्रावण १, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?