कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

यातायात व्यवसायी र मजदुरलाई राहतबारे पार्टी र सरकारमा छलफल गर्छु : दाहाल

ललितपुर — यातायात क्षेत्रमा विद्यमान समस्या समाधानका लागि निर्माण गरिएको कार्यदलले बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको छ ।

यातायात व्यवसायी र मजदुरलाई राहतबारे पार्टी र सरकारमा छलफल गर्छु : दाहाल

अध्यक्ष निवास खुमलटारमा भएको भेटमा व्यवसायीले कोभिड–१९ पछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ध्यानाकर्षण गराए । भेटमा दाहालले यातायात व्यवसाय मध्यम र निम्न वर्गको व्यापक सहभागिता भएको क्षेत्र भएकाले आफूले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले भने, ‘व्यवसायीले राखेका कुरा गम्भीर छन् । कोभिड–१९ का सन्दर्भमा संसारभरिका देशले राहत प्याकेज दिने गरेको देखिएको छ । यहाँ पनि यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु । बरु नीतिगत कुरा अलिक पछि गर्दा पनि हुन्छ ।’

उनले तत्काल बैंकको किस्तालाई रोक्ने कुरा, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जाका कुरा, राहत र अनुदानसँग सम्बन्धित कुरा र स्वास्थ्य सुरक्षासँग सम्बन्धित कुरा राज्यले तुरुन्तै गरिदिनु पर्ने बताए।

व्यवसायी तथा मजदुरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदुरलाई स्वास्थ्य सामग्री तथा पीपीइको व्यवस्था मिलाउन माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष सम्मिलित कार्यदल स्थापना गरिएको छ ।

प्रकाशित : श्रावण १, २०७७ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?