कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुल्पिङकट्टी पहिरो : दुईको मृत्यु, तीन बेपत्ता [अपडेट]

अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा बुधबार राति खसेको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

स्थानीय ग्याल्जेन शेर्पाको घर बगाउँदा परिवार सदस्यहरु १६ वर्षीया याङ्जी शेर्पा र ३५ वर्षीया साङ्बु शेर्पाको मृत्यु भएको हो । राति १ बजेतिर खकुन्डोलमाथिबाट आएको पहिरोले दुई घर बगाएकोमा ग्याल्जेनको परिवारका पाँच जना बेपत्ता भएका थिए । बिहीबार बिहानैदेखि प्रहरी र स्थानीय मिलेर खोजी गर्दा दुई जनाकाे शव भेटिएको र अन्य तीन जना अझ बेपत्ता रहेको गाउँपालिका प्रमुख राजकुमार पौडेलले बताए । उनका अनुसार १४ वर्षीया छिरिङवाङ्मु शेर्पा, ७५ वर्षीया सुमबुट्टी शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा बेपत्ता छन् । ग्याल्जेन भने राजधानीमा सवारी चलाउने पेसामा रहेकाले घटनाका बेला घरमा थिएनन् ।

स्थानीयका अनुसार राति पहिरो खसेको आवाजसँगै वरिपरिको बस्ती थर्किएको थियो । साेही पहिरोले फुल्पिङकट्टीकै नोर्साङ शेर्पाको घर बगाउनुका साथै पञ्चकन्या आधारभूत विद्यालयमा समेत क्षति पुर्‍याएको छ । ‘पहिरो आँखैअगाडि बाट भास्सिएर गयो, के हो भन्ने थाहा नपाउँदै भागेर बाँचियो,’ नोर्साङले भने ।

स्थानीय, जनप्रतिनिधि र सुरक्षाकर्मी मिलेर बेपत्ता अन्यको पनि खोजी गरिरहेका छन् ।

प्रकाशित : श्रावण १, २०७७ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्

ओलीको अयोध्या कार्ड

अहिलेको दिल्लीले सांस्कृतिक विस्तारका लागि अयोध्याको जग हालेको होइन । जनआस्थाले जनकपुर र अयोध्याको अस्तित्व जोगाइरहेको हो । काठमाडौं र दिल्लीबीच ‘सीता–राम’ लाई ल्याउनु भनेको जनसम्बन्धको गरिमा र गुरुत्वलाई बेवास्ता गर्नु हो ।
चन्द्रकिशोर

मुलुक इतिहासकै सर्वाधिक चुनौतीपूर्ण अवस्थामा छ । राजा महेन्द्रको राज्यकालपछि सम्भवतः पहिलोपल्ट उग्र राष्ट्रवादी नस्लको विकास भएको छ र त्यसको प्रयाणकर्ता खड्गप्रसाद शर्मा ओली हुन् । जनतासँगका सम्बन्धका आयामहरूलाई भत्काउँदै अटेरी अन्दाजमा एकसुरले हिँड्दै गर्दा पनि उनलाई उनको दलले छेकबार लगाउन सकेको छैन ।

कोरोना कहरका कारण आसन्न आर्थिक–सामाजिक संकटको कल्पना मात्रले जनतालाई असीमित मानसिक तनाव दिइरहेको छ । तर, नवीनतम लोकतान्त्रिक गणतन्त्रका जिम्मेवार मानिएका कुनै पनि निर्वाचित नेताले भुइँमान्छेहरूको सरोकारलाई मुखरित गरेका छैनन् । बरु पक्ष–विपक्षको राजनीति अमूर्त एजेन्डाहरूको अनुपालनमा अल्झिएको लोकबुझाइ बाक्लिएको छ । सत्तारूढ दलका नेता–कार्यकर्ताले नेतृत्वको अहंको प्रतिच्छाया बन्नुभन्दा विवेक प्रयोग गर्न सके दल र देशको भलो हुन्थ्यो भन्ने लोकअपेक्षा अरण्यरोदन भएको छ ।

राजनीतिक अस्तव्यस्तताको असर समग्र शासनव्यवस्थामा देख्न सकिन्छ । जता हेर्‍यो उतै भद्रगोलबाहेक केही देखिँदैन । कोरोना संकट छल्न घरफिर्ती गर्ने वा फेरि जीविकाका लागि सहर फर्किने भुइँमान्छेहरूको मनोदशा त जे छ छँदै छ, त्यसभन्दा पनि अनौठो देखिन्छ नेकपाका नेता–कार्यकर्ताको चर्तिकला । तर हाम्रा सत्तापति तुक न तर्कको वक्तव्य दिँदै हिँडिरहेका छन्, जसका कारण सारा राष्ट्रको राजनीतिक ऊर्जा महत्त्वहीन मुद्दामा खर्च भइरहेको छ । तथापि मुलुकको परम्परागत सम्भ्रान्त र सुविधाभोगी वर्ग आश्वस्त नै थियो, तर जब प्रधानमन्त्री ओलीले ‘अयोध्या’ कार्ड फाले, त्यसउपरान्त ओली साम्राज्यमा चैनसँग बाँचिरहेको यो तप्का झस्कियो । यही तप्काको दबाबका कारण परराष्ट्र मन्त्रालयले रफ्फु वक्तव्य निकाल्यो ।

नेपाल र भारतलाई जोड्ने साँध साँच्चिकै लामो छ । यी दुई मुलुकबीच सम्बन्धको आयाम पनि निकै फराकिलो छ । बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय आवश्यकताका आधारमा नेपालको विदेशनीतिलाई समयानुकूल परिमार्जित बनाउँदै लैजानुपर्ने आग्रह हुँदै आएको छ । कतिपयले नेपालमा भारतको संलग्नतालाई प्रतिसन्तुलन गर्न चीनसँगको सम्बन्ध घनीभूत पार्नुपर्ने मान्यता राख्छन् । चीनसँग झन् नजिकिन भारत र चीनसँग ‘समनिकटता’ को भाष्य प्रस्तुत गर्ने गरिएको छ । त्यसका लागि चीन र भारतसँग समान धरातलहरू मात्रै कायम राख्नुपर्ने भन्न थालियो, जसअन्तर्गत ती सबै आधारलाई संकुचनमा ल्याउनुपर्‍यो जसले नेपाल–भारत सम्बन्धलाई अरूभन्दा भिन्न र मौलिक बनाउँछन् । भारतसँगको सम्बन्धलाई अलग र स्वतन्त्र रूपमा परिभाषित गर्नुको साटो नेपालको ‘अबको चीननीति कस्तो हुनेछ’, त्यसकै अनुकूल पारिस्थितिकीका आधारमा भारतसँग सम्बन्ध निर्माणका लागि नवढाँचा तयार गर्न कटिबद्ध देखिनु ‘खड्गकाल’ को विशेषता हुन पुगेको छ । यस अवस्थालाई कतिपयले दुई छिमेकी चीन र भारतबीचको प्रतिस्पर्धा र प्रणयमा नेपाललाई छद्म प्रवेश गराउन खोजेको संकेतका रूपमा लिने गरेका छन् । पूर्वाग्रही तथ्यहरूको इँटा जोडेर भारतसँगको जनसम्बन्धका सूत्रहरू चुँडाल्ने प्रयास हुँदै छ ।

यो काम आउरेबाउरे राष्ट्रवादीहरूबाट सम्भव थिएन । त्यसैले यसका निमित्त स्वयं ओली आफैं तत्पर भए र भनिदिए— हिन्दुहरूका आराध्य मर्यादापुरुषोत्तम राम नेपाली राजकुमार थिए र उनको जन्मभूमि अयोध्या भारतको नभई नेपालभित्रकै अमूक क्षेत्र हो । यसो भन्दा ओलीलाई ‘राष्ट्रवादी प्रसाद’ मान्नेहरू चमत्कृत भए, तिनलाई के–के न खजाना फेला परेको अनुभूति भयो । नेपाल–भारत सम्बन्धको हरेक चर्चा वा भाषण भगवान् राम र देवी सीताको उदाहरणका साथ प्रारम्भ हुन्छ । यो पौराणिक सन्दर्भ यी दुई छिमेकीको जनसम्बन्धको आत्मीयता र अभिन्नतालाई प्रतीकका रूपमा अगाडि सारिन्छ । उसो त यो पनि सत्य हो, राम–सीताको कालखण्डमा भारत र नेपालको अहिलेको राजनीतिक भूगोल थिएन । त्यसैले सीता–रामको वैवाहिक सम्बन्धको विम्ब काठमाडौं–दिल्ली सम्बन्धको सूचक होइन, यो त जनजन सम्बन्धको द्योतक हो । काठमाडौं–दिल्ली सम्बन्धबीच ‘सीता–राम सम्बन्ध’ लाई ल्याउनु भनेको जनसम्बन्धको गरिमा र गुरुत्वलाई बेवास्ता गर्नु हो ।

राज्य बन्नुभन्दा अगाडि विभिन्न समूह र समाजबीच सम्बन्ध रहन सक्छ । तर आधुनिक समयमा अन्तर्राष्ट्रिय सम्बन्ध भनेको अन्तरराज्य सम्बन्ध हो । त्यसैले सम्बन्धको निर्धारण राज्यका प्रतिनिधिहरूद्वारा नै निर्धारित हुन्छ । स्वतन्त्र, सार्वभौम तथा प्रगतिमुखी नेपालका लागि स्वीकारयोग्य र हितकारी भारतनीति कस्तो हुने, त्यसका लागि शासनको बागडोर सम्हालेकाहरूले नै मन्थन गर्ने हो । तर त्यसमा जनसम्बन्धको सुवास कति मिसिएको छ भन्ने हेक्का राख्नुपर्छ । किनभने निकट अतीतको तथ्य हो, तिब्बत (चीन) सँगको हिमाली क्षेत्रको जनसम्बन्धलाई छेकबार गर्दा कर्णाली पछाडि पर्‍यो । कर्णाली क्षेत्रबारे गहिरो अध्ययन–अनुसन्धान गरेका विज्ञहरू नै हाकाहाकी भन्छन्, ‘कर्णाली पछाडि पर्ने मुख्य कारणहरूमध्ये एक त्यस क्षेत्रको सीमाञ्चल साइनोलाई संकुचनमा ल्याउनु हो ।’ अहिले नेपाल र भारतका जनताबीच कतिपय विषयमा सकारात्मक सोचाइ छ तर राज्यको सम्बन्ध चिसिनेबित्तिकै सम्पूर्ण सम्बन्ध प्रभावित हुन्छ, भइरहेको छ ।

नेपाल–भारत सम्बन्ध दुई सरकारबीचको सम्बन्ध मात्र होइन, तर चीनसँगको नेपालको सम्बन्ध राज्यराज्यबीचको मात्रै हो । चीनमा त्यहाँको सरकारभन्दा फरकमत राख्ने छुट छैन । चीनसँगको सम्बन्धमा जनसम्बन्धले खासै असर गर्दैन । किनभने चीनको शासकीय बनोट नै त्यस्तो छ । उता भारतसँगको सम्बन्धमा खुला सिमाना, भूगोल, सामाजिक अन्तरक्रिया, बहुतह र स्तरको आर्थिक क्रियाशीलता, धार्मिक आस्था, समान सभ्यता, सांस्कृतिक र ऐतिहासिक पक्ष र यससँग गाँसिएका मान्यताहरूले पनि भूमिका खेलेका हुन्छन् । यही कारण प्रधानमन्त्रीको अयोध्यासम्बन्धी अभिव्यक्तिको उनकै दलबाट विरोध भयो । दिल्लीले बन्दकोठाबाट जेजस्तो गोटी चाले पनि राजनीतिक नेतृत्वबाट जनसामान्यलाई बिझ्ने खालको अभिव्यक्ति आएको छैन । नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरूमा समेत नेपाल विमर्श हुँदैन । भारतीय जनताहरू जहिले पनि नेपालका शासकभन्दा जनतालाई हेर्छन्, बुझ्छन् । यता नेपालतिर भारतसँगको सम्बन्धमा दिल्लीको शासक र काठमाडौंमा रहेका दूतलाई नै हेर्ने परिपाटी चलाइयो ।

यसको फेरि आफ्नै कथा–व्यथा छ । भारतको सरकार र जनताबीचको भिन्नता बुझ्नुपर्छ । सरकारहरू आउने र जाने गर्छन्, तीसँगै सम्बन्धमा आरोह र अवरोह आइराख्छ । मूल कुरा हो— जनता । राष्ट्रको भूभागसम्बन्धी विषय जहिले पनि संवेदनशील हुन्छ, यस्तो सवालमा समेत भारतीय संस्थापनसँग पृथक् मत राख्ने नागरिक समाज त्यही भारतभित्र छ । नेपालभित्र भने यदाकदा अति साधारण विषयलाई समेत सम्पूर्ण राष्ट्रको अस्तित्वसँग जोड्ने अनि तीसँगै राष्ट्रघात र राष्ट्रहितको जोखिमपूर्ण परीक्षामा कित्ताकाट गर्ने खेललाई नै राष्ट्रवादी राजनीति मान्ने गरिएको छ ।

अयोध्याको इतिहास आजको हैन, न त अहिलेको दिल्लीले सांस्कृतिक विस्तारका लागि अयोध्याको जग हालेको हो । जनआस्थाले जनकपुर र अयोध्याको अस्तित्व जोगाइरहेको हो । अयोध्याबारे नेपालका कुनै शोधकर्ता वा उत्खननको निष्कर्ष आएको छैन, त्यो नेपालभित्रै छ भनेर, न त कुनै लोकसाहित्यमै अभिरेखांकित छ । समाजको आस्थाभित्र अनैतिक किसिमले प्रवेश गर्नु ओलीको ‘मन की बात’ थियो, जसबाट जनसम्बन्धको एउटा आधार आस्थालाई मेट्न र राष्ट्रवादको नशामा लट्ठिएको वृत्तलाई भारतप्रतिको सम्मोहनबाट अलग गर्नु थियो । विश्वमा अनेक रामायण छन् । कैयौं भूगोलविशेषको मानसमा आफ्नै रामकथा छ । सीता–राम लीलासँग स्थानविशेषका सम्बन्धलाई गाँसेर हेर्ने गहिरो लोकपरम्परा रहिआएको छ । तर यसअघि कहिल्यै अयोध्या नेपालमै छ भन्ने सुनिएको थिएन ।

साँचो राष्ट्रियता त्यो हो, जसले आम जनताको आत्मीयता र आस्थालाई परिष्कार गर्दै स्वतन्त्रताको अनुभूति दिलाउन सक्छ । ओलीले भारतसँगको जनसम्बन्धका एकाइहरू खुला सिमाना, वैवाहिक सम्बन्ध, सीमा व्यवस्थापनमा सैनिकीकरण र साझा मानसका सूत्रहरूमाथि एकपछि अर्को प्रहार गर्दै आएका छन् । आफ्नो सत्तारोहण मधेस र भारतसँगको दूरीका आधारमा तय भएको स्व–निष्कर्षले गर्दा उनमा एक प्रकारको ईख पैदा भएको छ । उनले जसलाई राष्ट्रिय स्वार्थ र राष्ट्रवादी तुरूप भन्दै छन्, त्यो नितान्त उनकै दोषी चस्मा हो ।

भारतीय जनताले बुझ्न थालेको कुरा के हो भने, प्रत्येक नेपालीलाई आफ्नो स्वतन्त्रता, अस्तित्व र संघर्षप्रति गर्व छ । नेपालप्रति आम भारतीयको जनस्तरीय व्यापक दृष्टिकोणप्रति अहिलेको नेपाली नेतृत्व अनजान छ । ओलीको बोली र व्यवहारले पुर्खाको नासोका रूपमा सुरक्षित राख्नुपर्ने राजकीय अभिभारा रहेको जनसम्बन्धमा रिक्तता बढ्दै गएको छ । त्यस्तो खाडलको निर्माणलाई नै ओलीले आफ्नो सफलता ठान्दै छन् । जनसम्बन्धको थलोकिलो, यसको मर्म र महत्त्वको हरण गर्नु नै खड्गकालको पर्याय हुँदै छ । एक पलको चूकले गर्दा शताब्दियौंसम्म शोक मनाउने अवस्था आउने संकेत देखिँदै छ ।

प्रकाशित : श्रावण १, २०७७ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×