कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानसिक तनाव भोग्दै स्वास्थ्यकर्मी

बिरामीको स्क्रिनिङ गर्ने , पहिचान गर्ने , परीक्षण गर्ने र संक्रमितको उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मी एन्जाइटी, अनिद्रा र डिप्रेसनको सिकार भइरहेका छन् । २४ प्रतिशत नर्स, १३ प्रतिशत चिकित्सक र १७ प्रतिशत स्वास्थ्यकर्मीमा असामान्य चिन्तासँग सम्बन्धित समस्या देखिएको छ ।
फातिमा बानु

काठमाडौँ — कोभिड–१९ रोगका कारण सर्वसाधारण त विभिन्न मानसिक समस्याबाट गुज्रिरहेका छन् नै, चिकित्सक र स्वास्थ्यकर्मीमा पनि उत्तिकै असर गरेको छ । जुनसुकै कारणले होस्, मानसिक समस्या पैदा हुनु कमजोरी हो भन्ने गलत धारणाका कारण उनीहरू खुलेर आफ्ना समस्या भन्न रुचाउँदैनन् । 

मानसिक तनाव भोग्दै स्वास्थ्यकर्मी

त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) ले १४ अस्पतालका ४ सय ७५ जना स्वास्थ्यकर्मीमा गरेको अध्ययनअनुसार फ्रन्टलाइनमा खटिने ५४ प्रतिशतलाई कोभिडकै कारण असामान्य चिन्तासँग सम्बन्धित समस्या देखिएको छ । यस्ता समस्या भोग्ने २४ प्रतिशत नर्स, १३ प्रतिशत चिकित्सक र १७ प्रतिशत स्वास्थ्यकर्मी छन् ।

अस्पतालमा हरेक दिन बिरामी हेरेपछि आफैं संक्रमित भइयो कि भन्ने त्रासका कारण चिकित्सकहरूले मानसिक समस्या भोगिरहेको चिकित्सक संघका महासचिव डा. बद्री रिजालले बताए । उनका अनुसार बिरामी हेर्दा प्रयोग गर्नुपर्ने सुरक्षात्मक सामग्री नपाउँदा वा पाए पनि कमसल र मापदण्ड नभएको स्थानीय सामग्री लगाएर काम गर्नुपर्ने कारण उनीहरूमा तनाव उत्पन्न भएको हो । ‘चिकित्सकहरू प्रत्येक दिन आफू संक्रमित छु कि, परिवारमा सार्छु कि भन्ने आशंकामा काम गरिरहेका छन्,’ उनले भने, ‘संक्रमित नै हेर्ने चिकित्सक पनि घर गएर परिवारसँग मिसिनुपर्छ, अनि डर त भइहाल्छ ।’ नेपालमा थोरै संक्रमणका बीच पनि धेरै स्वास्थ्यकर्मी र चिकित्सक संक्रमित हुनु राम्रो संकेत नभएको उनले बताए । राज्यले उनीहरूको सुरक्षामा कम ध्यान दिएको उनको भनाइ छ ।

आईओएम र न्याम्सबाट भएको अध्ययनअनुसार बिरामीको स्क्रिनिङ गर्ने, पहिचान गर्ने, परीक्षण गर्ने र संक्रमितको उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मी एन्जाइटी, अनिद्रा र डिप्रेसनको सिकार भइरहेका छन् ।

स्वास्थ्य क्षेत्रमा काम गरेकै कारण संक्रमण सारिदिन्छन् कि भनेर छिमेकी र समुदायबाट विभेद खेप्नुपर्दा पनि उनीहरूमा समस्या देखिएको छ । दुई प्रतिशत घरबाट निकालिएका छन् भने तीन प्रतिशतलाई घर छाडेर जान दबाब दिइएको छ । २२ प्रतिशतलाई संक्रमण सार्ने स्रोत भनेर दोषारोपण गरिएको छ । सामाजिक बहिष्कारमा परेकालाई डर–त्रासको समस्या बढी छ । आफैं संक्रमित भएका र घरमा दीर्घरोगी भएका स्वास्थ्यकर्मी र चिकित्सकमा बढी डिप्रेसनको समस्या देखिएको छ ।

कोभिड–१९ का कारण धेरै स्वास्थ्य संस्था आर्थिक रूपमा धराशायी बने । यस्तो अवस्थामा कति नर्सले रोजगारी गुमाएका छन् भने कतिले आधा तलबमा पनि जोखिम मोल्दै उपचारमा खटिएको नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले बताइन् । ‘काम गर्ने ठाउँमा सुरक्षात्मक सामग्री अपर्याप्त छ,’ उनले भनिन्, ‘समुदायमा उनीहरूलाई विभेद गरिन्छ, कति घरबेटीबाटै निकालिएका पनि छन् । यसले गर्दा नर्सहरूमा चिन्ता बढाएको हो ।’ मानसिक रूपमा विक्षिप्त हुनबाट बचाउन संक्रमितको उपचारमा खटिने नर्सलाई अस्पतालमै राख्ने, सुरक्षाको प्रत्याभूति गराउनुपर्ने उनले बताइन् ।

'अहिले नै ध्यान नदिने हो भने उनीहरूमा ‘पोस्ट ट्रमाटिक डिस्अर्डर’ देखिन सक्छ'

डा. रितेश थापा - मानसिक रोग विशेषज्ञ तथा केन्द्रीय सदस्य, चिकित्सक संघ

कोरोना महामारीले चिकित्सक र स्वास्थ्यकर्मीलाई मानसिक रोगी बनाएको हो ?

महामारी फैलिँदा त्यसको प्रत्यक्ष असर पर्ने भनेको चिकित्सक र स्वास्थ्यकर्मीमा हो । कोरोना महामारीको पनि अवस्था उस्तै छ । चीनको वुहानमा महामारी फैलिसकेपछि त्यहाँका १३ सय चिकित्सक र स्वास्थ्यकर्मीमाथि अनुसन्धान गर्दा झन्डै ४५ प्रतिशतमा डिप्रेसन र एन्जाइटीको समस्या देखिएको थियो । नेपालमा पनि विभिन्न अध्ययनले चिकित्सक र स्वास्थ्यकर्मीहरू मानसिक समस्याबाट गुज्रिएको देखिन्छ ।

महामारीले किन यस्तो समस्या ल्याएको हो ?

चिकित्सक या स्वास्थ्यकर्मी भएकै आधारमा मानसिक समस्या उत्पन्न हुने होइन । फ्रन्टलाइनमा खटिँदा सुरक्षा सामग्री, पारिश्रमिक नपाउने, काम गरेर घर फर्किंदा यातायात अथवा बस्ने ठाउँको समस्या लामो समयसम्म भोग्दै जाँदा उनीहरूमा दिग्दारीपन देखिएको हो । उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आफैं संक्रमित हुने हो कि भन्ने चिन्ता र अरूलाई सारिसकें कि भन्ने ग्लानि भइरहन्छ । कोरोना संक्रमण आएपछि उनीहरूको कामको प्रकृति र समय पनि परिवर्तन भयो । नयाँ जिम्मेवारी र कामको लोड थपियो, यसो हुँदा उनीहरूले दबाब महसुस गरेका हुन् । एकातिर काम गर्ने वातावरण सुरक्षित छैन, अर्कातिर समुदायबाटै प्रत्यक्ष, अप्रत्यक्ष रूपमा विभेद र बहिष्कार छ । घरबेटीले अस्पताल र घर आउजाउ गर्न नदिएकै कारण कतिले कामै छोडेका छन् ।

घर र समुदायमा संक्रमण फैलिन्छ भनेर नर्सिङ कर्मचारीलाई घरबाटै काममा नजान दबाब दिइएका विषयहरू पनि छन् । काम गर्न दिए पनि छुट्टै व्यवहार गर्ने गरिन्छ । यसले उनीहरूको आत्मसम्मानमा चोट पुगेको छ । कस्तो पेसामा आएछु भन्ने ग्लानि पनि छ । लडाइँमा सुरक्षाकर्मीले काम गर्दिनँ भन्न पाउँदैन भनेजस्तै रोगको महामारीमा स्वास्थ्यकर्मी भाग्न पाउँदैन, बिरामी हेर्नैपर्छ भन्ने दबाब छ तर प्रेरणा छैन । अस्पतालमा शंकास्पद बिरामी आउँछन् । ‘शंका लाग्यो कोरोना परीक्षण गरौं अनि अन्य उपचारमा जाऊँला’ भन्दा चिकित्सकमाथि हातपात गरिन्छ, गरिएको छ । ज्यानको जोखिम मोलेर महामारीमा खटिएका स्वास्थ्यकर्मीमाथि नै हातपात भएपछि उनीहरूमा मानसिक समस्या देखिने नै भयो ।

कस्ताखाले मानसिक समस्या देखिएका छन् ?

तनावका कारण धेरैजसोमा चिन्ताजन्य समस्या देखिएको छ । निद्रामा समस्या (इम्सोनिया) देखिएको छ । हातखुट्टा झमझमाउने, झर्किने, चिटचिडापन हुने पनि छ । डिप्रेसन र एन्जाइटी पनि देखिएको छ । ‘मोरल इन्जुरी’ जस्ता समस्याबाट पनि उनीहरू गुज्रिरहेका छन् । यो मानसिक रोग त होइन तर चिकित्सक भएर पनि विभिन्न कारण आफ्नो भूमिका निभाउन नसक्दा हुने एकखाले ग्लानि हो । ‘मैले बिरामीको रोग पत्ता लगाउन सकिन कि, गलत डाइग्नोसिस गरें कि उपचार गर्दागर्दै पनि बचाउन सकिनँ’ भन्नेजस्ता कुराले उनीहरूलाई पिरोल्ने गरेको छ । यसले स्वास्थ्यकर्मीको मनोविज्ञानमा लामो समयसम्म असर गर्छ । कामै गर्न नसक्ने रहेछु, असफल भएँ भनेर कतिले पेसा छोडिदिन्छन् । संक्रमितको उपचारमा खटिएका र आफैं कोरोना संक्रमित भएका चिकित्सक र स्वास्थ्यकर्मीमा यस्ता समस्या बढी छ ।

समस्या न्यूनीकरणका लागि के गर्न जरुरी छ ?

नेपालमा कोरोना संक्रमणको सुरुवाती चरणमा कसरी काम गर्ने भन्ने अन्योल थियो । शंकास्पद र संक्रमितलाई कसरी हेर्ने भनेर नीति र निर्देशिका बनेका थिएनन् । अहिले काम गर्न केही सजिलो छ तर पर्याप्त छैन । जसको प्रत्यक्ष असर चिकित्सक र स्वास्थ्यकर्मीले भोगिरहेका छन् । अहिलेको स्वास्थ्य प्रणाली कोरोना नियन्त्रणमा मात्रै केन्द्रित छ । महामारीका कारण आउने मानसिक समस्यामा कसैको ध्यान पुगेको जस्तो देखिँदैन । स्वास्थ्यकर्मी काममा खटिएको खटिएकै छन् तर उनीहरूको मानसिक अवस्था कस्तो छ भनेर कसैले खोतलेको छैन । जबकि उनीहरूमा समस्या देखिएको छ, धेरै जनाले हामीसँग अप्रत्यक्ष रूपमा भनेका छन् ।

अहिले नै ध्यान नदिने हो भने उनीहरूमा ‘पोस्ट ट्रमाटिक डिस्अर्डर’ देखिन सक्छ, जुन पुराना महामारीमा पनि देखियो । कोरोना श्वासप्रश्वास या बिरामीको नजिक जाँदा सर्ने रोग हो भनिएको छ । पछिसम्म पनि रुघाखोकीका बिरामीको अघि जान डराउने, हिचकिचाउने र दिमागी भार थेग्न नसकेर पेसा नै छोड्नेजस्ता मानसिक समस्या आउन सक्छन् ।

भिडियो कुराकानी हेर्नुहोस्

प्रकाशित : श्रावण १, २०७७ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?