३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ओली–दाहाल अडान यथावत, बिहीबार माधव नेपालसहित छलफल हुने

काठमाडौँ — विवाद समाधानका लागि भन्दै दिनहुँ छलफल गर्दै आएका नेकपाका दुई अध्यक्षबीच बुधबार पनि कुनै सहमति जुट्न सकेन । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बालुवाटारमा करिब तीन घण्टा छलफल भए पनि कुनै ठोस सहमति हुन सकेको थिएन ।

ओली–दाहाल अडान यथावत, बिहीबार माधव नेपालसहित छलफल हुने

दुई अध्यक्षबीच लगातार वार्ता भए पनि कुनै प्रगति नभएपछि बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसहित छलफल हुने भएको छ । दुवै अध्यक्षबीच मंगलबार पनि छलफल भएको थियो । मंगलबार सामान्य छलफल गरेका ओली र दाहालबीच बुधबार भने विषयवस्तु केन्द्रीत छलफल भएको थियो ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा दाहाल र वरिष्ठ नेता नेपाल समूहका नेताले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा विवाद छ । ओलीले अहिलेसम्म दुवै पद नछाड्ने अडान लिएका छन् । स्रोतका अनुसार बुधबारको छलफलमा पनि ओलीले आफ्नो अडान दोहोर्‍याएका थिए । आफूले कुनै हालतमा दुवै पदबाट राजीनामा नदिने बरु छिटो महाधिवेशन गरेर एकल अध्यक्ष हुन ओलीले दाहाललाई प्रस्ताव गरेका थिए । तर, दाहालले अहिले प्रधानमन्त्रीबाट राजीनामा दिएर निकास दिनुपर्ने माग राखेका थिए ।

दुई अध्यक्षबीचको छलफलमा केहीबेर महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । महासचिव पौडेलले दुई अध्यक्षबीचको छलफल सकारात्मक भए पनि अझै निष्कर्षमा पुग्न नसकेको बताए ।

दुई अध्यक्षबीच सहमति गर्न भन्दै साउन २ सम्मका लागि बैठक स्थगित भएको छ । गत साता पनि ओली र दाहालले लगातार तीन दिन छलफल गरेका थिए ।

प्रकाशित : असार ३१, २०७७ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?