बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका एसएसपी अधिकारीलाई निलम्बन गर्न गृहलाई पत्र

मातृका दाहाल

काठमाडौँ — दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा कार्यरत सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारीलाई निलम्बन गर्न सशस्त्र प्रहरी मुख्यालयले गृहमा पत्र पठाएको छ । एसएसपी अधिकारी विरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा बलात्कार आरोपमा उजुरी परेको थियो । 

चितवन घर भई पोखरामा बस्दै आएकी एक महिलाले एसएसपी अधिकारी विरुद्ध उजुरी दिएपछि कास्की प्रहरीले सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालयसँग समन्वय गरेर उनलाई पक्राउ गरेको थियो । प्रहरीले एसएसपी अधिकारीलाई झाडीमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउको व्यहोरा पाएलगत्तै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आरोपित एसएसपी अधिकारीलाई निलम्बन गर्न पत्र पठाएका हुन् । गृहमन्त्रीबाट आईजीपी खनालको पत्र सदर भएपछि अधिकारी औपचारिक रुपमा निलम्बनमा पर्नेछन् ।

अधिकारी गतवर्ष मात्रै लामापाटनमा सरुवा भएका थिए । ‘बलात्कार आरोपमा एसएसपी अधिकारी विरुद्ध उजुरी परेपछि उनीमाथि लागेको कसुरको टुंगो नलागेसम्म निलम्बन गर्न गृहलाई पत्र पठाएका छौं,’ सशस्त्र प्रहरी स्रोतले कान्तिपुरसँग भन्यो, ‘उनी आजैबाट निलम्बनमा पर्नेछन् ।’

अधिकारी पक्राउ परेपछि सशस्त्रको लामापाटन शिक्षालयले पक्राउ पुर्जी र कसुरको विवरण फ्याक्स गरेर मुख्यालयमा पठाएको थियो ।

प्रकाशित : असार ३१, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्

रुकुम घटना : बाँकी ५ जना पुर्पक्षका लागि कारागार चलान

रासस

रुकुम पश्चिम — सोती घटनाका फरार ५ अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले बुधबार उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो । 

फाइल तस्बिर

अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी वकिलको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि पठाउने आदेश भएको निमित्त श्रेस्तेदार लक्ष्मण विकले जानकारी दिए । उनका अनुसार चौरजहारी नगरपालिका–८ का तुलराम घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्ती मंगलबार अदालतमा उपस्थित भएका थिए । ५ मध्ये भीमबहादुर घर्तीलाई भने असार २८ गते जिल्ला अदालतमा आफैं हाजिर भएपछि बयान र बहसपछि पुर्पक्षका लागि सोही दिन कारागार चलान गरिएको थियो ।

यी ५ जनासहित सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये ३० जनालाई पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको छ । ३ मा २ नाबालक रहेको र उनीहरुलाई बालसुधारगृहमा पठाइएको छ । ३ जना साधारण तारेखमा छुटेका थिए भने १ जना १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

गत जेठ १० गते भएको सोती घटनामा जाजरकोट भेरी नगरपालिकाका ५ र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका १ गरी ६ जनाको ज्यान गएको थियो ।

प्रकाशित : असार ३१, २०७७ १९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×