२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु

कूल बेरुजुमध्ये ९७ प्रतिशत १० मन्त्रालयको

काठमाडौँ — महालेखापरीक्षकको ५७ औं प्रतिवेदनले आर्थिक वर्ष २०७५/०७६ को कुल बेरुजु मध्ये ९७ प्रतिशत बेरुजु मुख्य १० मन्त्रालयको भएको देखाएको छ ।

अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु

बुधबार राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष पेश भएको उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा मात्रै कूल बेरुजु रकम १ खर्ब ३२ अर्ब ९९ करोड ५९ लाख रुपैयाँ रहेको उल्लेख छ । जसमध्ये ९७ प्रतिशत बेरुजु मुख्य १० मन्त्रालयको रहेको उल्लेख छ ।

महालेखापरीक्षक कार्यालयका नायब महालेखापरीक्षक महेश्वर काफ्लेले आर्थिक वर्ष २०७५/०७६ मा निस्किएको कूल बेरुजु रकम मध्ये ९७ प्रतिशत बेरुजु मुख्य १० मन्त्रालयमा रहेको बताए । जसमध्ये सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयको रहेको उनले बताए ।

अर्थ मन्त्रालयको १९ अर्ब ६ करोड ६८ लाख रुपैयाँ बेरुजु रहेको छ । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १४ अर्ब रुपैयाँ, रक्षा मन्त्रालयको ९ अर्ब रुपैयाँ, प्रधानमन्त्री कार्यालयको ४ अर्ब रुपैयाँ, खानेपानी मन्त्रालयको ४ अर्ब २८ करोड रुपैयाँ, सहरी विकास मन्त्रालयको ३ अर्ब ३४ करोड रुपैयाँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २ अर्ब ९५ करोड रुपैयाँ, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको २ अर्ब ६३ करोड रुपैयाँ, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको २ अर्ब १४ करोड रुपैयाँ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १ अर्ब ३८ करोड रुपैयाँ बेरुजु देखिएको छ ।

यसबाहेक अन्य मन्त्रालयहरूको कुल बेरुजु ६ अर्ब ५४ करोड ६० लाख रुपैयाँ देखिएको छ । आर्थिक वर्ष २०७५/०७६ सम्मको कूल बेरुजु रकम भने ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा भन्दा आर्थिक वर्ष २०७५/०७६ मा कूल बेरुजु रकम घटेको देखिन्छ । नायब महालेखापरीक्षक काफ्लेले आर्थिक वर्ष २०७४/०७५ मा सरकारी निकायहरूको कूल २० खर्ब ८ अर्ब ८४ करोडको लेखापरीक्षण भएकोमा १ खर्ब ६ अर्ब ३४ करोड रुपैयाँ बेरुजु देखिएको र आर्थिक वर्ष २०७५/०७६ मा कूल १७ खर्ब ५६ अर्ब ४ कारोडको लेखापरीक्षण हुँदा बेरुजु रकम ७१ अर्ब ६ करोड भएको बताए ।

आर्थिक वर्ष २०७४/०७५ मा लेखापरीक्षण भएको रकमको ५.२९ प्रतिशत बेरुजु देखिएकोमा आर्थिक वर्ष २०७५/०७६ मा लेखापरीक्षण रकमको ४.०५ प्रतिशत बेरुजु देखिएको काफ्लेले बताउए । उनले सबैभन्दा धेरै बेरुजु सार्वजनिक खरिद र आयोजना व्यवस्थापनमा देखिएको बताए ।

महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा कूल ५ हजार ६ सय १९ निकायको ५१ खर्ब ७१ अर्ब ६४ करोड बराबरको लेखापरीक्षण सम्पन्‍न गरेको हो । जसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ ३ हजार १ सय २० कार्यालयहरू, जिल्ला समन्वय समिति ७७, प्रदेश मन्त्रालयको १ हजार कार्यालय मध्ये ९ सय ९८ कार्यालय र स्थानीय तह ७ सय ५३ तह मध्ये ७ सय ४७ तहको लेखा परीक्षण भएको छ ।

यस्तै, समिति तथा अन्य संस्थाहरू ५ सय ७७, संगठित संस्था ९३ निकायको वित्तीय लेखा परीक्षण भएको महालेखापरीक्षकको कार्यालयको ५७ औं प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : असार ३१, २०७७ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?