कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

महिलाको घरेलु श्रमको मूल्यलाई राष्ट्रिय आयमा गणना गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ — महिलाको घरेलु श्रमको मूल्यको गणना गरेर राष्ट्रिय आयमा गणना गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । मुलुकको आधा जनसंख्या महिला रहेको र उनीहरू घरेलु काममा सीमित भएकाले उनीहरूको श्रमको मूल्यांकन गरेर मुलुकको कूल गार्हस्थ उत्पादनमा गणना गर्न प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले सरकारलाई निर्देशन दिएको हो ।

महिलाको घरेलु श्रमको मूल्यलाई राष्ट्रिय आयमा गणना गर्न संसदीय समितिको निर्देशन

महिला समितिको बुधबारको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग र केन्द्रीय तथ्यांक विभागलाई महिलाले घरमा गर्ने कामको मूल्य तोक्न निर्देशन दिएको हो ।

'श्रमको मूल्य हुन्छ । यद्यपि परम्परागत सामाजिक एवं सांस्कृतिक अभ्यासले गर्दा घरेलु श्रमको मूल्यांकन भइनरहेको अवस्था छ । जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगट्ने महिला जसमध्ये अधिकांश घरेलु काममा व्यस्त हुनुहुन्छ । उहाँहरूको श्रमको मूल्यको गणना नगरिनु आफैंमा न्यायसंगत छैन,' समितिले दिएको निर्देशबारे सभापति निरु पालले भनिन्, 'घरेलु श्रमको मूल्यलाई पनि मापन गरी राष्ट्रिय आयमा महिलाको योगदानको गणना एवं कुल गार्हस्थ उत्पादनमा गणना गर्ने व्यवस्था मिलाउन उपयुक्त देखिएकोले समितिको यो बैठक उल्लिखित व्यवस्थापनका लागि नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रिय महिला आयोग एवं केन्द्रीय तथ्यांक विभागलाई निर्देश गर्दछ ।'

त्यस्तै, महिला आयोग लगायतका भाडाको घरबाट कार्यालय संचालन गरिरहेका संवैधानिक आयोगका लागि सरकारी भवन व्यवस्था गर्न समितिले सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । कतिपय सरकारी भवनहरू खाली रहेको तर संवैधानिक आयोगहरूले नै भाडा तिरेर कार्यालय संचालन गरिरहेको अवस्था अन्त्य गर्न समितिले सरकारलाई भनेको हो ।

सरकारलाई संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्त गर्नका लागि समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : असार ३१, २०७७ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?