३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जो दुई घण्टा त्रिशूलीको भँगालोमा अड्किए

हरिहरसिंह राठौर

धादिङ — उनीहरू तीनै जनाले मदिरापान गरेका थिए । त्यही हालतमा त्रिशूलीमा पसेर पौडी खेल्न थाले । किनारमै पौडिँदै गरेका उनीहरूलाई अचानक उर्लंदो भेलले तानेर बीचतिर लैजान लाग्यो । दुई जना हतारहतार बाहिर निस्किए । एक युवक भने फसेको फस्यै भए ।

जो दुई घण्टा त्रिशूलीको भँगालोमा अड्किए

एक छिन, दुई छिन होइन । लगातार दुई घण्टा त्रिशूलीकाे भँगालोमा अड्किए उनी । अन्ततः प्रहरीको सहयोगमा त्यसलाई जितेर बाहिर निस्कन सफल पनि भए ।

घटना गत मंगलबारको हो । धादिङको बेनिघाट, रोराङ–३ स्थित मलेखुबजारनजिक पौडी खेल्दै गरेका कमलराज जोशीलाई त्रिशूलीले बगाउँदा उनी भँगालोको बीचमा ढुंगामा अड्किएका थिए ।

उम्किन सफल भएका अन्य दुई साथीले तत्काल स्थानीयलाई खबर गरे । तर, बीच भागमा पुगेर उद्धार गर्न गाउँलेले सम्भव नभएपछि स्थानीय देव श्रेष्ठले तत्काल कुरिनटारस्थित सशस्त्र प्रहरीबल विपद् व्यवस्थापन तालिम शिक्षालयमा खबर गरे । शिक्षालयका एसएसपी कालिदास धौवजीको कमान्डको टोली उद्धारमा खटियो । टोलीले डुंगामार्फत जोशीलाई सकुशल बाहिर निकाल्यो ।

सशस्त्र प्रहरीभन्दा अगाडि नेपाली सेना जोशीको उद्धारमा खटिए पनि सफल हुन सकेन । त्यसै कारण कुरिनटारबाट जल–उद्धारकर्मी बोलाइएको थियो । वर्षाका कारण नदीमा बहाब बढेकाले उद्धार गर्न कठिनाइ भएको एसएसपी धौबजीले बताए । ‘यस्तो घटनामा जीवितै उद्धार विरलै हुने गरेको छ, १० मिनेट मात्रै ढिला भएको भएपनि ती व्यक्तिलाई बगाउने सम्भावना थियो,’ उनले भने, ‘सबैको प्रयासमा उद्धार गर्न सफल भइयो ।’ उनी अड्किएको स्थान अलि ओह्रालो भएकाले पनि उद्धारमा असहज हुन पुगेको थियो ।

सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको नेतृत्वमा गोताखोरहरू ओमबहादुर सलामी र डिल्ली भट्टराई, सई वीरेन्द्रबहादुर बम र असई पहलमान ओली र्‍याफ्टिङ बोट लिएर नदीमा पसेका थिए ।

कैलालीको जोशीपुर घर भएका जोशी पृथ्वी राजमार्गमा नेपाल टेलिकमको अप्टिकल फाइबर बिच्छ्याउने कामदार हुन् । नदीबाट उद्धार गरिएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

खोलाले बगाएर बेपत्ता

यस्तै बेनिघाटको हुग्दीखोलाले बगाएर मंगलबार बेलुकी एक जना बेपत्ता भएका छन् । चितवनको इच्छाकामना–१ साचकका २७ वर्षीय कुमार चेपाङलाई करिब ९ बजेतिर खोलाले बगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३१, २०७७ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?