पहिरोमा ५ सन्तान गुमाएकी आमा सोध्छिन्– ‘खोइ, मेरा छोराबुहारी ?’

दीपक परियार

पोखरा — गण्डकी मेडिकल कलेजको बेड नम्बर ४५ मा रहेकी ज्योतिमाया थापामगर ढोकातिर हेर्दै टोलाइरहन्छिन् । तनहुँको रिसिङमा आइतबार राति पहिरोमा पुरिएर दुई छोरा, दुई बुहारी र नातिनीले ज्यान गुमाएको उनलाई पत्तै छैन । कुरुवासँग घरीघरी सोधिरहन्छिन्, ‘मेरा छोराबुहारी खोइ ? मलाई भेट्न कुन बेला आउँछन् ?’

पहिरोमा ५ सन्तान गुमाएकी आमा सोध्छिन्– ‘खोइ, मेरा छोराबुहारी ?’

उनको पनि दाहिने हात भाँच्चिएको छ । शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । चिकित्सकले हातको शल्यक्रिया गर्नुपर्ने बताएका छन् । ‘छोरा–बुहारी कुन बेला आउँछन् भनेर सोधेको सोध्यै हुनुहुन्छ । यस्तो भयो भनौं भने झन् बेहोस हुने हो कि भन्ने चिन्ता छ,’ कुरुवा बसेका भतिज देवबहादुरले भने, ‘हातको अपरेसन गरेर केही बिसेक भएपछि थाहा दिनुपर्ला ।’ आफन्तले ज्योतिमायालाई गाउँमा बाटो बिग्रेकाले छोराबुहारी आउन ढिलाइ भएको सुनाएका छन् ।

रिसिङ गाउँपालिका–८ पल्ट्याङ, भैंसीकिलेको कच्ची मोटरबाटोबाट झन्डै डेढ सय मिटर तलपट्टि छन् उनका दुइटा घर । आँगन एउटै छ । आइतबार सधैंझैं सानो घरमा श्रीमान् अनबहादुर (५९) र उनी (५९) सुते । ठूलो घरमा साहिँला छोरा भेषबहादुर (३०), बुहारी नानुमाया (२९) र नातिनी अमिषा (५), कान्छा छोरा महादेव (२२) र बुहारी मनिसरा (१९) सुते । भेषबहादुरकी ठूली छोरी भने साहिँली बज्यैको घरमा सुत्न गएकी थिइन् ।

रातिको मुसलधारे वर्षाले अनबहादुर र ज्योतिमायाको मुटुमा ढ्यांग्रो ठोक्यो । अबेरसम्म निद्रा परेन । राति ११:३० बजेतिर ज्योतिमाया झकाउन मात्रै लागेकी थिइन्, गड्याङगुडुङ गरेजस्तो आवाज आयो । केही मेसो नपाउँदै घरको बीचबाट पहिरो छिर्‍यो । खाँबा र दलिन उनीमाथि बजारिए । हलचल गर्नै सकिनन् । श्रीमान् बाहिर निस्केर गुहार माग्न लागे । छिमेकी आएर ज्योतिमायालाई निकाले ।

उता ठूलो घर पुरिएको उनलाई पत्तो छैन । सुतिरहेकै अवस्थामा कलिला छोराबुहारी र नातिनी ज्योतिमायालाई सधैंका लागि छाडेर गइसकेका थिए । उनी अस्पतालमा छिन्, उता श्रीमान् छोराबुहारी र नातिनीको काजक्रियामा छन् । सोमबार एकै घरबाट ५ शव उठ्दा गाउँ शोकमा छ ।

थापा दम्पतीका ४ छोरा र २ छोरी हुन् । दुई छोरी बिहे गरेर गइसके । ४ छोरा छुट्टिएका छैनन् । जेठा सोमबहादुर साउदी अरबमा छन् । उनको परिवार पोखरामा बस्छ । माइलो होमबहादुर श्रीमतीसहित तनहुँकै म्याग्दे गाउँपालिकाको धँयरेमा बस्छन् । उनी पनि वैदेशिक रोजगारीबाट फर्किएका हुन् । साहिलो भेषबहादुर विदेशबाटै फर्किएर घरमै बसिरहेका थिए । कान्छो महादेव पोखराको होटलमा काम गर्थे । लकडाउन सुरु भएपछि उनी पनि घरमै गएका थिए । उनले लकडाउनको केही साताअघि मात्रै मनिसरालाई घरमा भित्र्याएका थिए ।

‘जसोतसो बाँचौंला, ऋण केले तिर्ने ?’

ज्योतिमायाकै सामुन्नेको बेडमा छन्, तनहुँ व्यास नगरपालिका–९ माझफाँटका ४९ वर्षीय केशरबहादुर थापा । सोमबारको पहिरोमा उनले श्रीमती, दुई छोरा र एक बुहारी गुमाए । पहिरोले उनको खुट्टा भाँचिदियो ।

रातभर मुसलधारे पानी परेको थियो । सबेरै उठेर उनी श्रीमती कमलालाई लिएर भल तर्काउन लागे । ६ः३० बजेतिर गोठमा भएका भैंसी कराउन लागे । बाख्रा पनि एकोहोरो कराए । जेठो छोरा मनोज (२४), बुहारी अञ्जना (२१) र कान्छो छोरा राजेश (२२) घरभित्रै थिए । पुर्खादेखि नै बसेको थलोमा पहिरो खस्ला भन्ने उनले कहिल्यै सोचेनन् । ‘भैंसी, बाख्राले जनाउ दिएका रै’छन्, बुझ्न सकिएन,’ उनले भने, ‘छोरा–बुहारीलाई पनि उठ, हेरविचार गर्नुपर्छ भनेको थिएँ ।’

पहिरोमा परी घाइते भएका तनहुँ व्यास नगरपालिका–९ माझफाँटका केशरबहादुर थापा पोखराको गण्डकी मेडिकल कलेज अस्पतालमा । तस्बिर : दीपक परियार

कमलाले एक्कासि पहिरो खस्दै गरेको देखिन् । श्रीमान्‌लाई भनिन् । हेर्दाहेर्दै ३० सेकेन्डकै बीचमा पहिरो उनीहरूसम्म आयो । दुवै जना चिच्याउँदै भागे । ५–६ मिटर पनि दौडन नपाउँदै पहिरोले कमलालाई हुत्याएर एकतिर लग्यो । खोल्सामा परेका केशरबहादुरले रुखको ठुटो समात्न भ्याए । पत्नीलाई पहिरोले बगाउँदै गरेको देखेका उनले केही समयपछि उनको चीत्कार मात्र सुने, कहाँ पुर्‍यायो पत्तो पाएनन् । ‘माटोको लेदो छातीसम्मै आएको थियो,’ अस्पतालको बेडबाट उनले भने, ‘ठूटो समातेर बाँचें ।’ १०–१५ मिनेटपछि छिमेकी आएर उनलाई निकाले । जेठो छोरा, बुहारी र कान्छो छोरा घरभित्रै पुरिए । ३ भैंसी र १७ बाख्रासहित गोठ पनि पुरियो ।

घरमाथि सालको वन भएकाले जमिन पक्को होला भन्ने उनलाई लागेको थियो । तर डाँडाको टुप्पोबाट साल, कटुस र चिलाउनेका रूखसहितको पहिरो खस्यो । त्यहाँका आठ परिवार अहिले स्थानीय सरस्वती आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् ।

घरमा खानलाउन दुःख भएपछि थापा सानै उमेरमा भारत पसेका थिए । हैदराबादमा १७ वर्ष मजदुरी गरे । नेपाल फर्केर कतार गए । कतारमा १६ वर्ष एउटै कम्पनीमा काम गरेर फर्किए । छोराहरू ठूलो भइसकेकाले श्रीमतीले विदेश नजान भनिन् । बरु जेठो छोरा मनोज दुबई गए । तीन वर्ष काम गरेर फर्किए । लकडाउन नहुँदो हो त उनी फेरि दुबई पुगिसकेका हुन्थे । ‘२–४ दिनमा काठमाडौं जान्छु भन्थ्यो,’ थापाले भने, ‘वडाबाट गाडीको पास पनि बनाएको थियो ।’ कान्छो छोरा राजेश पनि विदेश जाने योजनामा थिए । युरोपियन मुलुकमा जान काठमाडौंमा दलाललाई एक लाख रुपैयाँ बुझाइसकेका थिए । लकडाउनपछि ती दलाल सम्पर्कविहीन भए ।

०७२ को भूकम्पले घरमा क्षति पुर्‍याएपछि थापाले अनुदानको रकममा थपेर उनले ३ वर्षअघि नयाँ घर बनाएका थिए । घर बनाउँदाको ऋण अझै तिर्न सकेका छैनन् । घरभरि भर्खरै भाँचेका मकै थिए । भकारीभरि धान थियो । उनका अनुसार दराजमा केही रकम र ८–९ तोला सुन थियो । त्यही सुन बैंकमा राखेर तिरनतारन गर्ने सुरमा थिए । ‘हातखुट्टा चलेदेखि जसोजसो काम गरेर बाँचौंला,’ उनले भने, ‘यस्तो विध्वंस भइहाल्यो । साहुको ऋण पो केले तिर्ने हो ?’ कान्छो छोरा अझै पहिरोमै हराइरहेका छन् ।

प्रकाशित : असार ३१, २०७७ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?