१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रविधि विकास तथा अनुसन्धानका लागि नास्टद्वारा २ करोड ३२ लाखको अनुदान प्रदान

'नवप्रवर्तनको क्षेत्रमा नेपालमै पहिलोपटक २ करोड ३२ लाख रुपैयाँको अनुदान दिइएको हो । यति ठूलो रकम हालसम्म सरकारीस्तरबाट एकैपटक प्रदान गरिएको थिएन'
गोविन्द पोखरेल

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले प्रविधि विकास तथा अनुसन्धानका लागि एकै पटक २ करोड ३२ लाख रुपैयाँ अनुदान दिएको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालमा सरकारीस्तरबाट अनुसन्धानका लागि एकैपटक दिइको यो हालसम्मै ठूलो अनुदान रकम हो ।

प्रविधि विकास तथा अनुसन्धानका लागि नास्टद्वारा २ करोड ३२ लाखको अनुदान प्रदान

कोभिड-१९ प्रतिरोधात्मक प्रविधि विकासका लागि २० र अन्य प्रविधि विकासका लागि १३ गरी ३३ जनाको प्रस्ताव छनोट गर्दै नास्टले अनुदान रकम दिएको हो । कोभिड-१९ प्रतिरोधात्मक प्रविधि विकासका लागि एक करोड ३६ लाख र प्रविधि विकास तथा अनुसन्धानका लागि ९६ लाख रुपैयाँ अनुदान दिइएको नास्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले बताए ।

'नवप्रवर्तनको क्षेत्रमा नेपालमै पहिलोपटक २ करोड ३२ लाख रुपैयाँको अनुदान दिइएको हो । यति ठूलो रकम हालसम्म सरकारीस्तरबाट एकैपटक प्रदान गरिएको थिएन,' उनले भने ।

नास्टले प्रविधि विकासका लागि गत माघमा र कोभिड-१९ प्रतिरोधात्मक प्रविधि विकासका लागि वैशाख अन्तिम साता सूचना निकाल्दै प्रस्ताव आह्वान गरेको थियो ।

प्रविधि विकास सम्बन्धि १ सय ७० वटा आवेदन परेको थियो । ती आवेदनहरुबाट नास्टले उत्कृष्ट २६ वटा प्रस्ताव प्रस्तुतिकरणका लागि बोलाएको थियो । मूल्यांकन समितिले १३ वटा प्रस्तावलाई स्वीकृत गरेको थियो ।

यस्तै,कोभिड-१९ प्रतिरोधात्मक प्रविधि विकासका लागि १ सय १८ वटा आवेदनमध्ये ३१ वटा प्रस्तावलाई प्रस्तुतिकरणका लागि बोलाइएको थियो । प्रस्तुतिकरणबाट २० वटा योजना छनोट गरिएको नास्टले बताएको छ ।

नास्टले ती प्रस्तावहरुलाई ७ हजारदेखि १० लाखसम्म अनुदान दिएको छ । छनोट भएका प्रस्तावहरुमा 'थर्मोग्राफिक क्यामेरा मास फिभर', 'रोभो भ्यान पिकिङ डेथ बडी', 'क्‍वाड बाइक', 'इन्डस्ट्रियल प्रोडक्सन अफ इन्डिजिनियस इन्सेक्ट फर फुड एन्ड फिड इन नेपाल' लगायतका योजनाहरु छन् ।

कोभिड-१९ सम्बन्धीको प्रविधि विकासका सकेसम्म चाँडै प्रोटोटाइप नास्टलाई बुझाउने सक्‍ने किसिमका आवेदनलाई प्राथमिकता दिइएको ढकालले बताए । उनले भने,'छनोट भएका प्रस्तावमध्ये कोरोनासँग सम्बन्धित प्रस्तावलाई सकेसम्म छिटो र धेरै ३ महिनाभित्र बुझाइसक्‍ने किसिमका छन् । अन्य प्रविधि विकास भने एक वर्षभित्र निर्माण गरिसक्‍नुपर्नेछ ।'

नास्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले समृद्धिका लागि नव प्रवर्तन कार्यक्रम अन्तर्गत युवा वैज्ञानिकहरुलाई अनुदान उपलब्ध गराइएको बताए । नास्टले यसअघि पनि विभिन्‍न व्यक्ति तथा संस्थाहरुलाई अनुसन्धानका लागि वार्षिक रुपमा १ करोड रुपैयाँभन्दा बढी रकम अनुदान दिँदै आएको ढुंगेलले बताए । छनोट भएका अनुसन्धान तथा प्रविधिको प्याटेन्ट अधिकारमाथि नास्टको पनि साझेदारी हुने ढुंगेलले बताए । उनले भने,'नास्टले अनुदान उपलब्ध गराएर निर्माण गरिएका त्यस्ता नविनतम् प्रविधिको प्याटेन्ट राइट पनि नास्टसँग साझेदारी हुनुपर्छ ।'

आवेदकहरुले विकास गरेको प्रविधिका प्रोटोटाइप नास्टलाई बुझाउनुपर्नेछ । ती प्रोटोटाइप उपकरणहरुलाई नास्ट परिसरमा निर्माण गरिने संग्राहालयमा राखिने छ ।

नवप्रवर्तन र नयाँ सोच भएका युवाहरुले विकास गरेको प्रविधिलाई सहयोग गर्ने हेतुले अनुदान उपलब्ध गराइएको नास्टले जनाएको छ ।

प्रकाशित : असार ३०, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?