टिप्पणी : ओली र दाहालबीच टकराव- 'एक कदम अगाडि, दुई कदम पछाडि'

बबिता शर्मा

काठमाडौँ — 'एक कदम अगाडि, दुई कदम पछाडि’अर्थात् रुसी कम्युनिष्ट नेता भी.आई लेनिनले रसियाली क्रान्तिका बेला प्रयोग गरेको सूत्र । सन् १९१७ मा राजनीतिक संघर्षमा यो सूत्र प्रयोग गरेर लेनिनले रसियाली क्रान्तिलाई सफलता दिलाएका थिए ।

टिप्पणी : ओली र दाहालबीच टकराव- 'एक कदम अगाडि, दुई कदम पछाडि'

लेनिनको यही ‘थ्योरी’लाई अहिले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले उपयोग गरेका छन् । एक अर्काविरुद्ध सम्पूर्ण शक्तिसहित संघर्षमा उत्रेका ओली र दाहाल अहिले दुई–दुई कदम पछाडि हटेका छन् । र, उनीहरुको बोलि फेरिएको छ, अलि नरम भएको छ । त्यसैले नेकपाभित्र ओली र दाहालको यो रणनीति बुझ्ने धेरैको चासो छ, ‘अबको एक कदम के हुन्छ ?’

असार १० बाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठक ‘वारपार’को स्थिति बन्दै थियो । ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने दाहाल र माधवकुमार नेपाल समूहका नेताहरुको अडान थियो । तर, ओली कुनै पनि हालतमा दुवै पद नछाड्ने बरु पार्टी फुटाईदिने अडानमा थिए ।

ओली र दाहाल समूहबीच यसै विषयमा संघर्ष र संवाद एकसाथ जारी थियो । बैठक पटक–पटक स्थगित भएकै बेला असार २५ मा नेकपाभित्र नयाँ राजनीतिक मोड आयो । दुवै पक्षले पार्टी विभाजन हुँदैन भने तर सहमति चाहिँ के भयो ? कसैले खुलाएनन् । बरु, साउन २ सम्म बैठक स्थगित भयो ।

पार्टीका बरिष्ठ नेता झलनाथ खनाल साउन २ को बैठकबारे भन्छन्, ‘बैठक बस्छ । बैठकमा जे एजेण्डा छन्, ती एजेण्डा जारी रहन्छन् । छलफलबाट एउटा निकास ननिस्किइ बैठक अन्त्य हुँदैन । बैठकले अनिवार्य निकास निकाल्छ ।’ तर, स्थायी कमिटीका एक नेता सुनाउँछन्, ‘अहिले नेकपा पानी जमेको तलाउजस्तो शान्त छ । जतिबेला पनि हलचल हुन सक्छ ।’

पार्टीको शक्ति संघर्षलाई मसिनोसँग बुझ्ने ती नेताको बुझाईमा यतिबेला ओली र दाहाल दुवै ‘एक कदम अगाडि, दुई कदम पछाडि’ भन्ने लेनिनको ‘थ्योरी’मा टेकेर काम गरेका छन् । त्यसैले ओली र दाहालबीच नाटकीय रुपमा सहमति र लेनदेन भएन भने निकट भविष्यमै टकराव देखिनेछ । यसका लागि दुवै पक्षले केही समय तयारीमा बिताउने छन् । सम्भावित सहमति र टकरावका लागि समय चाहिने विषयमा ओली र दाहालले बोली सकेका छन् ।

पार्टीको स्थायी कमिटी बैठक एक साता पछाडि सारेपछि ओलीले विवाद आपसी छलफलबाटै टुंगिने भएकाले धैर्य र संयम हुनुपर्ने बताएका छन् । ‘जुनसुकै राजनीतिक दलभित्र हुने विवाद र बहस आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पुर्‍याउने दायीत्व सम्बन्धित दल र राजनीतिक नेताहरूकै हो,’ प्रधानमन्त्रीले भनेका छन्, ‘पार्टीभित्र हुने यस्ता बहस, छलफल र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै टुंग्याउनेछन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।’

ओलीको अभिव्यक्ति शुक्रबार आयो भने अर्को दिन शनिबार गृह जिल्ला पुगेर दाहालले पनि हतारमा निर्णय हुँदैन भनेर केही समय तयारी गर्ने बताए । ‘हतारमा केही कुरा गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क छौं । देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्छु,' दाहालको भनाई थियो, ‘मैले हतार गर्न खोजेको भए अर्को दुर्घटना वा के हुन्थ्यो म अहिले भन्न सक्दिनँ ।’

लेनिनको ‘थ्योरी’ को आधारमा दुइटा विकल्पमा ओली र दाहाल अगाडि बढ्न सक्नेछन् । पहिलो–सहमति बनाउन एक अर्कामाथि दबाब बनाउने अर्थात् दबाबका लागि दुई कदम पछाडि । दोस्रो–वारपारका लागि शक्ति संचय गर्ने, अर्थात् सम्पूर्ण तयारीसहित फेरि भिड्ने ।

यसको संकेत वरिष्ठ नेता झलनाथ खनाल पनि दिन्छन् । तपाईहरुले दुवै पदबाट केपी ओलीको राजीनामा माग्नु भएको छ । उहाँले राजीनामा दिने कुनै छनक देख्नुभएको छ त ? भन्ने प्रश्नमा खनाल भन्छन्, ‘कसैका व्यक्तिगत ईच्छा र मतका आधारमा यो पार्टी चल्दैन । पार्टी सामूहिक नेतृत्वका आधारमा चल्छ । सामूहिक बुद्धि र विवेकका आधारमा चल्छ । पार्टीले गर्ने निर्णय भिन्दै हो । व्यक्तिका ईच्छा र आकांक्षा बेग्लै हो । पार्टीका निर्णयहरुलाई मानेर जानुपर्छ ।’

दाहालले पार्टीमा कोही राष्ट्रवादी र कोही लम्पसारवादी छैनन् भनेर ओलीलाई सन्देश दिईसकेका छन् । मुद्दा अब बस्ने स्थायी कमिटीमा पनि उठ्न सक्छ । ओली र दाहालबीच धेरैपटक भएका वार्ताले दुवैलाई एकअर्कामाथि कसरी दबाब बनाउन सकिन्छ भन्ने ज्ञान पनि प्राप्त भएकै छ ।

त्यसैले नेकपाकै अरु केही नेताहरु भन्छन्, ‘ओलीले अगाडि सारेको धैर्य र संयमभित्र र दाहालले भनेको हतारमा निर्णय गरेर फुर्सदमा नपछुताउने भन्ने शब्दभित्र लेनिनको ‘एक कदम अगाडि, दुई कदम पछाडि’ को ‘थ्योरी’ पनि छ ।’

अर्थात् ढिलोचाँडो नेकपामा फेरि नयाँ तरिकाले टकराव देखिनसक्छ । नेकपाकै एक नेता सुनाउँछन्, ‘अहिले पार्टीमा जे भएको छ, यो ठूलो हुरी आउनु अगाडिको सन्नाटामात्रै हो ।’

विश्लेषक गेजा शर्मा वाग्लेको बुझाईमा पनि नेकपामा ढिलो चाँडो ठूलै तनाव देखिने संभावना छ । सोमबार कान्तिपुरमा प्रकाशित लेखमा उनले भनेका छन्, ‘चामत्कारिक रूपमा कुनै घटनाक्रम विकसित भएन भने यसपटकको विवाद, द्वन्द्व र शक्तिसंघर्ष निर्णायक र अन्तिम हुने सम्भावना उच्च देखिन्छ...यदि राष्ट्रिय–अन्तर्राष्ट्रिय कारणले गत वैशाखमा जस्तै तत्कालका लागि ओली र दाहालबीच अस्थायी युद्धविराम भयो भने पनि निकट भविष्यमा त्यो भंग हुने निश्चित छ । किनभने ओली र दाहालको सत्तासंघर्ष अस्थायी र अल्पकालीन होइन, स्थायी र दीर्घकालीन हो ।’

प्रकाशित : असार २९, २०७७ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?