कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

भेल र चट्टानी पहिरोले विनाश

२४ घण्टामा २ सय ५० मिमिभन्दा बढी वर्षा भयो भने त्यस्तो क्षेत्रमा ठूला पहिरो र डेब्रिज फ्लोका साथै चट्टान खस्ने सम्भावना उच्च हुन्छ ।
३४ डिग्रीभन्दा बढी भिरालो भएको क्षेत्रमा रूखको वजनका कारण पनि पहिरोको जोखिम हुन्छ, अहिले धेरै स्थानको पहिरोको प्रकृति यस्तै खालको छ ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — पूर्वी झापामा मनसुन प्रवेश गरेको भोलिपल्टै जेठ ३१ गते साँझ परेको हात्तीसुँढे वर्षा (हात्तीको सुँढबाट निस्किएको पानीको मात्राजत्रो) ले पर्वतको सरुन्चौर, दुर्लुङमा डाँडादेखि बग्दै आएको पहिरोले तीनवटा घरगोठ बगायो । पहिरोमा ९ जनाले ज्यान गुमाए । ९ वटा घर उच्च जोखिम र ४५ घर जोखिममा छन् । विज्ञहरूले मनसुनकै अवधिमा फेरि पनि पहिरोको जोखिम रहेको बताइरहेका छन् ।

भेल र चट्टानी पहिरोले विनाश

सो क्षेत्रको स्थलगत अनुगमन गरेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार पहाडी बस्ती भए पनि प्राविधिक रूपमा सरुन्चौर पहिरोको जोखिममा पर्ने देखिन्न । ‘गाउँमाथि घना वन छ, जमिनको भिरालोपन पनि पहिरोका लागि जोखिम मानिनेभन्दा निकै कम देखिन्छ । गाउँ फराकिलो ठाउँमा थपक्क बसेको छ,’ उनले भने, ‘तर, एकै स्थानमा केन्द्रित भएर हात्तीसुँढे वर्षा भएकाले भेल पहिरो (डेब्रिज फ्लो) गयो र क्षति हुने भयो । उनका अनुसार सामान्यतया ठूलो रूख र बाक्लो जंगल भएको ठाउँ पहिरोका हिसाबले सुरक्षित मानिन्छ । तर, डेब्रिज फ्लोले ठूला–ठूला रूखलाई जरैदेखि उलेखेर सोत्तर बनाउँदै बगाउने भएकाले क्षति गर्ने सम्भावना बढ्ता हुन्छ ।

घना वन भएकै क्षेत्रमा ५ सय मिटर लामो पहिरो गएपछि सो पहिरो र त्यही प्रकृतिको अन्य पहिरोबारे अध्ययन गर्न प्राधिकरणको नेतृत्वमा सहरी विकास मन्त्रालय र वन तथा भू–संरक्षण र खानी तथा भूगर्भ विभागका प्राविधिक रहेको एक कार्यदल बनाइएको छ । कार्यदलले त्यस्ता पहिरोबारे अध्ययन गरिरहेको छ । यसअघि पनि मनसुनको अवधिमा काठमाडौंको मातातीर्थ, चितवनको लोथर, ललितपुरको लेले, मकवानपुरको कुलेखानी, स्याङ्जा, गोरखा, कास्कीलगायत जिल्लामा दुर्लुङमा जस्तै भेल पहिरोले धनजनको क्षति गरेको थियो ।

प्राधिकरणका अनुसार मनसुन सुरु भएदेखि आइतबारसम्म देशभर १ सय ६३ वटा पहिरोका घटना भएका छन् । त्यसमा ७६ जनाको ज्यान गएको छ भने २२ घर आंशिक र १ सय २८ घर पूर्ण रूपमा क्षतिग्रस्त छन् । प्रवेशलगत्तै सक्रिय भएको मनसुनमा देशभर डेब्रिज फ्लो र चट्टानी पहिरो (फ्र्याक्चर रक) को प्रकोप देखिएको विज्ञको विश्लेषण छ । पर्वत, पाल्पा, गुल्मी, सिन्धुपाल्चोक, कास्की, लमजुङ, म्याग्दी, जाजरकोट, संखुवासभालगायत स्थानमा पहिरोले धेरै क्षति गरेको छ । ‘ती स्थानको पहिरो हेर्दा प्रकृति उस्तै देखिन्छ,’ नेपाल भूगोल समाजका अध्यक्षसमेत रहेका प्राध्यापक नरेन्द्रराज खनालले भने, ‘डेब्रिज फ्लो र चट्टानी पहिरोले तल्लो तटीय क्षेत्रका बस्तीलाई धेरै क्षति गरेको छ । सिन्धुपाल्चोकमा सन् २०१४ मा जुरे र यसै साता बाह्रबिसे, भोटेकोसी क्षेत्रमा पनि डेब्रिज फ्लो र चट्टानी पहिरो गएको हो ।’

खनालका अनुसार विगतमा नेपालका विभिन्न स्थानका पहिरोबारे गरिएको अनुसन्धानले पनि जंगलले ढाकेको क्षेत्रमा पहिरोको सम्भावना २८ प्रतिशत हुने देखाएको छ । ‘३४ डिग्रीभन्दा भिरालो भागमा पहिरोको जोखिम हुन्छ,’ उनले भने, ‘एउटा रूख भासियो भने भिरालो भागको अरू रूख पनि बग्ने सम्भावना हुन्छ र त्यस्तो स्थानमा बढी वर्षा भयो भने पहिरोको रूप लिन्छ ।’ अध्ययनअनुसार कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा भयो भने स–साना पहिरोको जोखिम हुन्छ । २४ घण्टामा १५०–२०० मिलिमिटर वर्षा भयो भने त्यस्तो स्थानमा मध्यम खालको पहिरो, डेब्रिज फ्लो र खस्ने सम्भावना उच्च हुन्छ । यदि २४ घण्टामा २ सय ५० मिमिभन्दा बढी वर्षा भए त्यस्तो क्षेत्रमा ठूला पहिरो र डेब्रिज फ्लोका साथै चट्टानै खस्ने सम्भावना उच्च हुन्छ । शुक्रबार पोखराको एक स्थानमा २ सय ५१ मिलिमिटर वर्षा भएको थियो । ‘त्यो परिमाणको वर्षा ठूलो पहिरो निम्त्याउने खालको नै हो,’ खनाल भन्छन्, ‘पहाडी क्षेत्रमा हात्तीसुँढे वर्षा भयो भने पहिरोको सम्भावना बढ्छ ।’

विशेषज्ञहरूका अनुसार पहाडी भिरालो क्षेत्रलाई पहिरोबाट जोगाउन रूखबिरुवाले सकारात्मक र नकारात्मक भूमिका निर्वाह गरेको हुन्छ । वर्षामा आउने हावाहुरीले रूखलाई ढलायो भने तीव्र भिरालो ठाउँमा पहिरो जान मद्दत पुग्छ । किनकि ठाडो भिरालोमा माटोको तह पातलो हुन्छ र रूखका जरा तलसम्म पुगेर माटो थाम्न सक्ने क्षमता हुँदैन । ३४ डिग्रीभन्दा बढी भिरालो क्षेत्रमा रूखको वजनका कारण पनि पहिरोको जोखिम हुन्छ । ‘रूखको जराले जमिन थाम्न सक्ने शक्ति कम भयो भने माटो बगेर पहिरोको रूप लिन्छ,’ खनाल भन्छन्, ‘जरा धेरै गहिरोसम्म फैलिएको छ र जराको घनत्व बढी छ भने यसले माटोलाई समाइराख्छ । त्यस्तो स्थानमा पहिरोको सम्भावना कम हुन्छ । तीव्र भिरालो क्षेत्रमा प्राय: रूखको जरा तलसम्म जान नसक्ने भएकाले पहिरो जान्छ । अहिले पहिरो गएका सबैजसो ठाउँको प्रकृति उस्तै देखिएको छ ।’

पोखरा–कोरला सडकको भौगर्भिक अवस्था र पहिरो प्रकोपबारे अध्ययन गरिरहेका भूगर्भविद् वसन्तराज अधिकारीले रूख रोप्दैमा पहिरो रोकिन्छ भन्ने बुझाइ गलत भएको बताए । ‘पहिरो रोक्न जमिनअनुसार उपयुक्त प्रजातिको रूख छनोट गर्नुपर्छ,’ उनले भने, ‘कतिपय अवस्थामा रूख र जंगलले पहिरोको जोखिम बढाउनसमेत मद्दत गरेको हुन्छ । गहिरो जरा नभएका रूखलाई उच्च गतिमा बग्ने हावाले ढालिदिँदा पनि पहिरोको जोखिम हुन्छ । अहिले नेपालका धेरै स्थानमा त्यस्तै प्रकृतिको पहिरो देखिन्छ ।’

तत्कालीन भू तथा जलाधार विभागको नेतृत्वसमेत गरेका वनविज्ञ विजयराज पौड्यालले भौगर्भिक बनावट कमजोर भएको क्षेत्रमा रूखबिरुवाले मात्र पहिरो थेग्न नसक्ने अध्ययनले देखाएको बताए । ‘घना जंगल भए पनि जमिनमुनि चट्टान छ र जरा तलसम्म पुगेको छैन भने पहिरो गएको देखिन्छ,’ उनी भन्छन्, ‘मातातीर्थ र लेलेलगायत स्थानमा त्यस्तै भएको हो । धेरै स्थानमा यस्तै देखिन्छ ।’

सरकारले विपद्का घटनापछि उद्धारलगायतमा प्राथमिकता दिने गरी प्राधिकरणलाई अधिकार दिएको छ । ‘तर पहिरोका हिसाबले जोखिमयुक्त क्षेत्रको पहिचान र नक्सांकन नगर्ने हो भने पहिरोले गर्ने क्षति दोहोरिरहन्छ,’ पौड्यालले सुझाए, ‘पहिला रेड जोन र ग्रिन जोन पहिचान गर्नुपर्छ र त्यसैअनुसार बस्ती विकास गर्नुपर्छ ।’

प्रकाशित : असार २९, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?