कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सप्तकोसी उर्लिंदा १५ परिवार विस्थापित

१९ किलोमिटर तटबन्धसमेत जोखिममा, सय मिटरभन्दा बढी क्षेत्र कटान

उदयपुर, सप्तरी — सप्तकोसीको भेल पश्चिम तटीय क्षेत्रतर्फ सोझिएपछि आइतबार सुनसरीको बराह क्षेत्र नगरपालिका–६, ९ र उदयपुरको बेलका नगरपालिका–२ र ३ मा पर्ने श्रीलंका टापुको चिलिया बस्तीका १५ परिवार विस्थापित भएका छन् ।

सप्तकोसी उर्लिंदा १५ परिवार विस्थापित

बराह क्षेत्र–६ का वडा सदस्य श्याम लिम्बूका अनुसार ११ परिवार आफन्तकहाँ सरिसकेका छन् । बाँकीलाई सार्ने तयारी भइरहेको छ । कटान भइरहेकाले चिलिया टापुमा बाढी पस्ने खतरा बढेको उनले बताए ।

भारतले कोसीमा निर्माण गरेको पाइलट च्यानलले बहावको धार परिवर्तन गर्दा पश्चिमी तटीय क्षेत्रमा दबाब बढेको हो । पूर्वी तटीय क्षेत्रमा बाँध मर्मत हुँदा कोसीको भेल पश्चिम हानिएको छ । बाँधको मर्मतसम्भार भारतीय कोसी योजनाअन्तर्गत हुने गरेको छ । बाँधलाई पानीको वेगबाट जोगाउने संरचना ‘स्पर नम्बर १३ आरडी’ को सामुन्ने पश्चिमपट्टि श्रीलंका टापुमा कटान भइरहेको बराह क्षेत्र नगरप्रमुख नीलम खनालले बताए । ‘बहाव दुई दिनअघिको तुलनमा कम भएको देखिन्छ, तर पश्चिम मोडिएकाले श्रीलंका टापुमा भेल पस्ने खतरा बढेको छ,’ उनले भने ।

चार दिनमा कोसीले सय मिटरभन्दा बढी क्षेत्रमा कटान गरेको स्थानीय बासिन्दाको भनाइ छ । कोसी ब्यारेजमा आइतबार २ लाख ७४ हजार ३ सय ६५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रेकर्ड भएको छ भने ३९ ढोका खोलिएको छ ।

तटबन्ध भत्किने जोखिम

सात वर्षअघि भारतले कोसी ब्यारेजको २८ नम्बर ढोका सामुन्ने दक्षिणतर्फ पाइलट च्यानल खन्न सुरु गरेको थियो । च्यानलले सप्तरीको भूभाग डुबानमा पर्ने भन्दै स्थानीय विरोधमा उत्रिए पनि काम रोकिएन । कोसीको बहावलाई मध्य भागबाट बगाउन च्यानल खनिएको भारतीय पक्षको दाबी थियो । तर, कोसीको भेल गत वर्षदेखि पश्चिमी तटबन्धमा ठोक्किएर बग्न थालेको छ । त्यसले कोसीको पश्चिमी तटबन्धमाथि पानीको चाप बढेको छ । ‘भारतीय लापरबाहीले डलवानजिक कैयौं स्थानमा सिपेज भएर कोसीको पानी नदीबाट बाहिरिन थालेको छ,’ कोसीपीडित समाजका अध्यक्ष देवनारायण यादवले भने, ‘वर्षौर्ंदेखि पश्चिमी तटबन्ध मर्मत गरिएन । तटबन्ध होचो हुँदै गयो, नदीको सतहमा बालुवा जम्मा भएर अग्लो हुँदै गयो ।’

कोसीको धार पश्चिमी तटबन्धतर्फ मोडिएपछि कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपाली भूभागमा रहेको तटबन्ध जोखिममा छ । तीन दिनको निरन्तर वर्षापछि डलवानजिकको रिङ बाँध क्षतिग्रस्त बनेको छ । भर्खर बालुवा हालेर बनाएको उक्त बाँधका कैयांै स्थानमा रेनकट लागेर क्षति पुगेको छ । बाँधमुनिबाट पानी निस्किरहेको छ । ‘हामी तीन दिनदेखि राति निदाउन सकेका छैनौं,’ डलवाका चित्रनारायण साहले भने, ‘भारतीय ठेकेदार र प्राविधिकले हाम्रो घरमा कोसी ल्याएर राखिदियो ।’ रिङ बाँध भत्किए कोसीको धार सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका हँुदै तिलाठी–कोइलाडी गाउँपालिका र राजविराज नगरपालिकाका केही भागमा सोझिने खतरा रहेको समाजका अध्यक्ष यादवले बताए ।

सम्झौताअनुसार कोसी नियन्त्रण र मर्मतको कार्य भारतीय पक्षले गर्नुपर्ने हो । तर, उनीहरू नेपाली प्राविधिक वा प्रशासनलाई मर्मतबारे जानकारी दिँदैनन् । नेपाली पक्षको कमजोरीका कारण पनि भारतीयको लापरबाही बढेको यादवको आरोप छ । ‘आफ्ना नागरिकलाई कोसीको डुबानबाट कसरी जोगाउने ? त्यसको चिन्ता नेपाल सरकारले गर्नुपर्दैन ?’ उनले प्रश्न गरे । भारतको लापरबाहीकै कारण २०६५ भदौ २ गते सुनसरीको पश्चिम कुसहामा कोसीको पूर्वी तटबन्ध भत्किएको थियो । त्यस्तै लापरबाहीका कारण पश्चिमी तटबन्ध भत्किने जोखिम बढेको छ । ‘भारतीय कोसी योजनाका प्राविधिक नेपालमा भइरहेका कामको विस्तृत इस्टिमेट नै दिँदैनन्,’ कोसी बक्राहा नदी नियन्त्रण आयोजनाका प्रमुख भिलानन्द यादवले भने, ‘विस्तृत इस्टिमेट भए कामबारे अनुगमन गर्न सकिन्छ । इस्टिमेट नै नभए कसरी थाहा पाउनु ?’

सम्पर्क तथा भूआर्जन कार्यालय विराटनगरका प्रमुख सन्तोष लिम्बूले पनि भारतीय पक्षले कोसीमा भइरहेका कामबारे विस्तृत जानकारी दिन आनाकानी गर्ने गरेको बताए । ‘मौखिक रूपमा केही कुरा भन्छन् । तर औपचारिक रूपमा कामबारे जानकारी माग्दा दिँदैनन्,’ उनले भने । हनुमाननगर–कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले नेपालतर्फ भइरहेका काम र कोसीको स्थितिबारे जानकारी नहुँदा स्थानीयलाई सतर्क र सुरक्षित बनाउन असहज भइरहेको बताए ।

प्रकाशित : असार २९, २०७७ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?