अनुगमनको सुन गायब प्रकरण : वाणिज्यका दुई पूर्वनिर्देशकसहित ३ जनालाई भ्रष्टाचार मुद्दा

राजु चौधरी

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका दुई पूर्वनिर्देशकसहित ३ जनामाथि विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ । 

अनुगमनको सुन गायब प्रकरण : वाणिज्यका दुई पूर्वनिर्देशकसहित ३ जनालाई भ्रष्टाचार मुद्दा

बजार अनुगमन र परीक्षण गर्न ल्याइएको सुनमा यथार्थ विवरण नराखी हिनामिनाको अभियोगमा आरोप पत्र दायर गरिएको हो । आयोगले तत्कालीन विभागका अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठ, हरिनारायण बेल्वासे र नायब सुब्बा रामबहादुर थापा मगरविरुद्ध मुद्दा दायर गरेको हो । हाल श्रेष्ठ कृषि विभागमा कार्यरत छन् । बेल्वासे राष्ट्रिय योजनामा छन् । मगर भने सेवानिवृत भइसकेका छन् ।

आयोगका अनुसार श्रेष्ठले २०७३ माघ ७ गते न्युरोडको नोज पिन हाउस, २०७३ चैत ३० गते पोखरामा रहेको दलबहादुर एण्ड सुनचाँदी पसल, दि युनाइटेड ज्वलेलर्स प्रालि, गोरखा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि, फेवा सन्तोष सुनचाँदी दोकान र अर्जुन पुम्दी भूम्दी सुनचाँदी पसलमा अनुगमन गरेको थियो । त्यसक्रममा संकलन गरिएको गहनाहरुका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट उल्लेखित पसलका गहना जफत हुने ठहर्छ भन्ने फैसला हुँदासमेत फिर्ता नगरेको आयोगले जनाएको छ । ‘फैसला हुँदासमेत उक्त सरकारी सम्पत्ति सम्बन्धित कार्यालयमा फिर्ता नगरी सरुवा भएपश्चात् पनि उक्त गहनाहरु नबुझाई आफ्नो साथमा राखी हिनामिना गरेको,’ अख्तियारका प्रवत्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभागका तत्कालीन निर्देशक बेल्वासेले पनि काठमाडौंमा रहेको सूर्यबहादुर एण्ड सन्स ज्वेलर्समा अनुगमन गरी संकलन गरिएको गहनाहरुका सम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट अभियोग दाबी नपुग्ने गरी फैसला हुँदा समेत उक्त सरकारी सम्पत्ति फिर्ता नगरेको जनाएको छ ।

सरुवापश्चात पनि उक्त पसलमा फिर्ता नगरी हिनामिना गरेको आयोगको विज्ञप्तिमा छ । यस्तै, तत्कालीन निदेशक श्रेष्ठकै नेतृत्वमा न्यूरोडको विभिन्न गहना पसलमा अनुगमन र सकलन गरिएको गहना नासु (हाल सेवानिवृत) रामबहादुर थापा मगरले हिनामिना गरेको उल्लेख छ ।

प्रकाशित : असार २८, २०७७ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?